• Tuesday 23rd , May 2017 | मङ्लबार, जेष्ठ ९, २०७४

बधाई ? त्यो त गरिबीको छालले खाडीतर्फ धकेलिएकालाई सोध ! 

pradesi nepalibidesine nepali 2
‏काठमाडौं ।
टिप्पणी,
इतिहास निर्मम हो वा मान्छेहरु, युग नै पापी हो वा आफैँ अभागी १० बर्ष लामो लडाँइका बिभिन्न कालखण्ड गुजारेका योद्धाहरु अहिले पसिनाले निथुरुक्कै भिजेका छन् खाडीमा । शान्ति प्रकृयासंगै घर फर्किन सक्ने अवस्थामा थिएनन् धेरै । न त उनिहरुसंग कुनै बिकल्प थियो ।

मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ भन्ने नारायणगोपालको गीत सम्झदै नचाहँदा नचाहँदै बिरानो तर पुरानो घर तिर फर्के धेरै योद्धाहरु । अन्तरजातीय बिबाह गरेका कैयन जोडिहरु गाँउ फर्के, उनिहरुका घरहरु उजाड थिए । पुख्र्यौली सम्पत्तिको नामका स साना खेत बारी वा खोरियाहरु बन्जड धर्तिमा परिणत थिए ।

बिस्तारै माओबादी नेताहरु शहरिया भए, सरकारी भए, सुकिला मुकिला भए, उनका सम्पर्क र सम्बन्धहरु सम्भ्रान्तबर्गसंग बढे, टाठाबाठा र हुनेखानेहरुसंगको हिमचिम अपत्यारिलो गरि बढ्यो । समाजको पुरानो बर्ग जो संस्कार र परम्परालाई मानवजातिको निर्बिकल्प अस्त्र ठान्थे उनिहरु हावी भए । 

समाजको हेलाहोचो र सामाजिक परिबन्धले धेरै अन्तरजातीय बिहे गरेका जोडिहरुको सम्बन्ध बिच्छेद भयो । समाजमा हुने खाने र हिजोको टाठोबाठो बर्ग नै फेरि रजाँइ गर्न थाल्यो । जसले परिबर्तनका लागि युद्धको तातो तावामा हाम फाले, अव उनिहरु जीवन जिउनका लागि संघर्षरत छन् ।

अहो परिस्थिति कति अनपेक्षित ढंगले यति चाँडै बदलियो । सबै दृष्यहरु आँखै अगाडि देखेपछि लामो श्वास फेर्दै अधिकाँश योद्धाहरु खाडीको बाटो लागे । ५५ डिग्रिको तापक्रममा पसिना चुहाउँदै बुढा बाबा आमा, पत्नि र केटाकेटीलाई एक गास खान र एकसरो कपडाले जिउ ढाक्न उनिहरु रातोदिन श्रममा जोतिएका छन् ।

नेपालको बिमानस्थलमा दैनिक तीनदेखि चार ओटा लासहरु खाडीबाट आएकै छन् त्यसभित्र कति पूर्व लडाकुहरु परे त्यसको रेकर्ड राख्ने फुर्सद त्यो पार्टीलाई कहाँ छ, जुन पार्टी उनिहरुकै रगत र पसिनाले आज सिंहदरबारको सिंहासनमा छ । भोका नाङ्गाहरुको पिडा सुनेर पनि त्यस पार्टीलाई कहाँ साध्य छ र जुन पार्टीलाई शक्तिकेन्द्रको आर्शिबाद चाहिएको छ । 

सत्तामा पुग्न र सत्ता टिकाउन भोका नाङ्गाहरुको के नै भूमिका छ र उनिहरुलाई सम्झिनुपर्ने ? तिनले चाकडि गर्न जान्दैनन्, ज्यू हजुरी गर्न जान्दैनन् । तिनीहरुसंग काठमाडांैसम्म आउने भाडा छैन, सिंहदरबारमा प्रबेश उनिहरुका लागि निकै कठिन कुरा हो, तिनीहरु अयोग्य यसकारणले पनि छन् राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीचको मोलमोलाई गर्ने कुशल माफियागिरीको हैसियत राख्दैनन् । त्यसकारण तिनीहरुलाई त्यो पनि कुनै हर्ष र बिस्मातको बिषय होइन ।

सिंहदरबारको सिंहासनमा को बस्यो र को निस्क्यो ? जीवन गुजाराका लागि श्रम र श्रमका लागि जिन्दगी तिनले जानेको मूलमन्त्र त्यत्ति हो । उनिहरु शिरमा बाँधिएका राता फेटाहरु सहित प्रचण्डपथ जिन्दाबाद भन्दै परेड खेलेका ति दिनहरुको सायद सम्झनासम्म गर्न चाँहदैनन् । क्रान्तिप्रति माया मोह हराएको होइन क्रान्तिनायकले दिएको धोका उनिहरुले भोगेका जीवन भोगाई हो ।

त्यसकारण आदर्शले मात्रै जीवन चल्दैन जीवनका यथार्थ भोगाईहरु साँचो अर्थमा परिवर्तनका मूल्य हुन् । मूल्य कुल्चेको नेतृत्वलाई हृदयदेखि बधाई भन्ने भावना कसरी जुट्छ उनिहरुको यो अनुत्तरित प्रश्नको जवाफ प्रचण्ड दिन आवश्यक ठान्दैनन र हामीले भन्छौ इतिहासले भए पनि यस अनुत्तरित प्रश्नको जवाफ दिने छ ।

सत्ताका खेलहरु यति निर्मम र यति क्रुर हुन्छन् भन्ने सायद कुनै इमान्दार माओबादी कार्यकर्तालाई थिएन । जसका बिरुद्ध सुरुङ खन्न लगाइएको थियो, उनकै भुरुङ बनेर फनफनी नाच्नुपर्ने दिनहरु पनि आउँदारहेछन् ।
प्रचण्डपथको आदेश भन्दै सुरुङ खन्नेहरु आज अरबको खाडीमा बेहालको जिन्दगी बाँचिरहेका छन् ।

सुरुङ खन्न लगाउने र सुरुङ खन्नुपर्ने पक्षबीचको ककटेल पार्टी, मधुरा लाईटहरुसंगै फाइभस्टारका डिनर र सिंहासनमा पुग्दा निजि निबासमै गएर पहिलो बधाइ दिने खेलहरु कति उथलपुथलपूर्ण छन्, गाँउको कार्यकर्ताले अहिले पनि यतिसम्म कल्पना गर्न सक्दैन होला । खाडीका कार्यकर्ताको त के कुरा ? न त प्रचण्डले नै उनिहरुको बेहाल जिन्दगीबारे कल्पना गर्न सक्छन् ।

एकचोटी फ्रान्सकी महारानीको अगाडि मानिसहरुको एक हुलले “भोका जनतालाई रोटी देउ” भन्ने नारा लगाँउदा उनले भनेकी थिइन रे “रोटी नभए के भो ? केक खाऊ ।” त्यस्तै प्रचण्डले बुधबार सदनसामु आफ्नो उम्मेद्वारी प्रस्तुत गर्दै गर्दा बिदेसिएका युवाहरुमाथि घुमाउरो कटाक्ष गरे ।

बिदेशमा भाँडा माझ्न तयार हुने आफ्नो देशमा काम नगर्ने प्रबृति अन्त्य गरिनुपर्छ । उनले यसो भनिरहँदा रेमिटेन्समार्फत मुलुक धानिदिएका लाखौं युवाहरुलाई कति चोट पुग्यो होला ? बिदेशमा मासिक ३० हजार तलबका लागि ८ घण्टा काम गर्ने नेपाली युवाहरु स्वदेशमा १० हजार तलब पाए १२ घण्टा काम गर्न तयार छन् प्रचण्डले उनिहरुलाई त्यो अवसर दिएर कहिले परिक्षण गरे ? जहाँसम्म पाखोबारीमा अन्न उब्जाउनुपर्छ भन्ने उनको आशय हो भने तराइको उब्जाउयोग्य जमिन १० देखि १ हजार बिघासम्मका मालिक सामन्तहरुको हातमा भएको तथ्यांक उनिसंग हुनुपर्ने हो ।

केहि सामन्तहरुको कब्जा जमिन उनका कार्यकर्ताले मिलीजुली बेचबिखन गरेपनि अझै धेरै जमिन जमिन्दारकै हातमा छ । पहाडमा अनाबृष्टी र अतिबृष्टीले बालीनाली कति जोखिम छ भन्ने बारे प्रचण्डले सायदै बुझे होलान ? गोर्खाको आरुबारीमा शिक्षणपेशा गराँउदा उनि नदि किनारमै थिए । काँस्की र चितवन दुबै नेपालका बिकट पहाडि जिल्लाहरु होइनन् ।

पहिलो चुनाबी आमसभामा रोल्पा पुगेका उनलाई किसानसंग भलाकुसारी गर्ने फुर्सद नै थिएन । जनयुद्धको अवधिभरि दिल्ली रहँदा नेपालको पहाडी भु–वनावट थाह हुने कुरा भएन । सिंहदरबार र लाजिम्पाटबाट झन् पाँचथरदेखि दार्चुलासम्मका पिडाहरु देख्न सक्ने कुरै भएन । भेटघाट र जमघटका हिसाबले पनि उनि उच्चबर्गबाट तल नझरेको कम्तीमा एक दशक नाघेको छ । 

जे होस् टाउकाको मुल्य तोक्ने र टाउको जोगाउनेहरुबीचको प्रीतिको लुकामारी संसारकै रोमाञ्चक गेम जस्तो लाग्दैछ । उनिहरुबीचको घर्षणबाट उत्पन्न गन्ध वा सुगन्धबारे पनि बजारमा धेरै चर्चा छ । हतियार बिसाएर लाखौं कार्यकर्तालाई खाडी पठाइसकेपछि प्रचण्डले यासिर आराफातको झैं जैंतुनको फुलको थुंगा पाउने आसा गरेका छन् ।
मलाई लाग्छ जैतुन त त्यस्तै हो सायद बर्तमान समिकरणबाट निस्कने गन्ध वा सुगन्धबारे धेरै टिप्पणी गर्नुभन्दा पनि त्यो पलाँसको फुल जस्तै हुने छ । खाडीका तर्फबाट लाखौंलाख बधाइ तथा शुभकामना पलाँसका फुलहरुलाई ।