• Friday 24th , March 2017 | शुक्रबार, चैत्र ११, २०७३

ऐतिहासिक धरोहर पाल्पा रानीमहल- विगत र वर्तमान

rani mahal1

durga paudel
         दुर्गा पौड्याल

नेपालको ताजमहल भनेर चिनिने पाल्पा बौघागुम्बा गाविस अवस्थित कालिगण्डकीको किनारमा रहेको  एक एतिहासिक महत्व बोकेको पूरातात्विक सम्पदा हो पाल्पा रानीमहल । पाल्पाको सदरमुकाम तानसेनको कैलाशनगरदेखि बराङ्गदी, नारायण डाँडा, अवल हुदै पैदल मार्गबाट करिब ३ घण्टाको ओरालो बाटो हिँडेपछि रानीमहल पुग्न सकिन्छ । तानसेनदेखि ताजमहलसम्म पुग्नका लागि कच्ची सडक पुगेको छ ।

कालीनदीको तिरमा रहेको नेपालको ताजमहल अर्थात प्रेमको प्रतीकको रुपमा रहेको ऐतिहासिक धार्मिक र पर्यटकीय रुपले अति महत्वपूर्ण पाल्पाको रानीमहल तानसेनदेखि झण्डै १४ किलोमिटर उत्तरतर्फ पर्छ । करीब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको यो ताजमलमा २४ वटा कोठा रहेका छन् । ताजमहलको परिसरमा मनमोहक बगैंचा, शिवालय, पानीपोखरी, शिबलिङमा नागनागिनीले जल शेचनको दृश्य, भान्सा घर, घोडा बाध्ने तबेला, ठुला घण्टहरु सहितको बिभिन्न आर्कषित कलाकृतिहरु देख्न सकिन्छ ।

ऐतिहासिक धरोहर रानीमहलको विगत

बि.स.१९४९ मा रानी तेजकुमारीको मृत्यु भएपछि पागल जस्तै भएका जनरल खड्ग शम्शेर राणाले एकसय १० वर्ष अगाडि प्रेमको प्रतीक स्वरुप उक्त दरवारको निर्माण गरेका थिए । खड्ग शमशेरले उनकै सम्झनामा बि स १९५० देखि रानीमहलको निर्माण सुरु गरि बि.सं १९५५ मा सम्पन्न गरेका थिए । रानीमहलको निर्माण कार्य पूरा हुन मात्रै झण्डै पाँच वर्ष लागेको इतिहासमा उल्लेख छ ।

बि.स. १९४९ मा रानी तेजकुमारीको मृत्यु पश्चात पागल जस्तै बनेका खड्क शमसेर धेरै लामो समय रानीमहलमा बितायका थिए । आँफू बस्ने वेलामा खड्क शमशेरले जेनेरेटरबाट बिजुली बाल्ने गर्थे । यहीं रानीमहलमा खड्क शमसेरले रानीको सम्झनामा कैयन रात काटे । तर दिबंगत रानीको शोकमा विरक्तिएका खड्क शमसेर पछि भारत पलायन भए । त्यसपछि जिर्ण बन्दै गयो, रानीमहल दरवार ।

प्रेमको प्रतीकको रुपमा रानीमहल 

धार्मिक, ऐतिहासिक, पर्यटकीय रुपले महत्वपूर्ण मानिएको रानीमहल दरबारलाई पछिल्लो समयमा युवायुवतीहरुले साँचो प्रेमको प्रतीक र विश्वासको रुपमा लिने गरेका छन् । आफ्नो प्रेम र जीवन दिगो रहोस भनेर सयौ प्रेमिल जोडीहरु रानी महलमा पुग्ने गर्दछन् ।

Ranimahal-4

प्रेम दिवसको अवसरमा आफ्नो प्रेमलाई दिगो र जिवन्त होस् भन्ने कामना सहित रानी महलमा पुग्ने युवा जोडिहरुको प्रमुख गन्तव्य सावित भएको छ । प्रेमलाई शिखरमा पुर्याउन सकियोस् भन्ने उद्देश्यले यहि दरबारलाई प्रतीक मानेर युवा युवतिहरुको बाक्लो भिड लाग्न थालेको छ । यता दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अजर अमर रहने जन विश्वास भएकोले भित्तामा आफ्नो नाम लेख्नेहरुको निकै होडबाजी पनि चल्ने गर्दछ । वर्षौसम्म मायालु जाडीहरु हिडेरै पुगे रानीमहलमा । अहिले रानीमहल सम्म पुग्न रानीमहल नजिकै हात्तिदुङ्गा सम्म मोटर बाटो खनिएको छ ।

रानी महलको पीडा

माथिबाट जंगलले खास्टो ओढाएको र तलबाट नदीले पाउ सेरचन गरीरहेको दृश्य देख्दा कसको मन नरमाउला र तर यस्तो ऐतिहासिक, धार्मिक र पर्यटकीय रुपले महत्वपूर्ण मानिएको रानीमहल भने दिन प्रतिदिन जीर्ण बन्दै गइरहेको छ । कालिगण्डकी नदी उर्लियपछी रानीमहल थप संकटमा परेको छ ।

rani

सडक विस्तारले जोखिममा रहेको ऐतिहासिक रानीमहल नजिकबाट बारम्बार पहिरो खस्दा उजाड बन्न थालेको छ । उचित रेखदेखको आभावमा बिस्तारै यसको रूप बदलिदै गएको छ ।

यसको महत्व र धार्मिक विश्वासको उचित प्रचार प्रसार गर्न सक्ने हो भने यो आन्तरिक र वाह्य पर्यटकीय गन्तब्यस्थलको रूपमा विश्वसामु चिनिन सक्ने थियो । ऐतिहासिक महत्वको यस सम्पदालाई मुलुकको पर्यटकीय गन्तव्य बनाउन सके मुलुकको समग्र विकासमा नै टेवा पुग्नेछ ।