• Thursday 30th , March 2017 | बिहिबार, चैत्र १७, २०७३

जीवनको उत्तरार्ध यस्तो सक्रिय होस ! ९० सालको भुइचालो आउँदा रमाइलो मानेर नाचेकि यी अामै

birdha

काठमाडौं ,
राजधानी काठमाडौको धुँवा, धुलो,फोहोर मैला, व्यस्त र उकुस मुकुसलाई छिचोल्दै अन्दाजी ३० किलोमिटर पर साँखु पुगेपछि भेटिएकी नक्कली आमैको सक्कली जीवन लोभलाग्दो देखियो । यदि जीवनका आखिरि दिनहरुका लागि कुनै सपना साँच्नु परे ती नक्कली आमैको जस्तै सक्रिय जीवनलाई सपनाका रुपमा सजाउने अवसर पाइयोस ।

हालको कागेश्वरी नगरपालिका गागलमा जन्मिएकी नक्कली ग्लान उमेरले ९७ वर्ष पुरा गरेर ९८ मा प्रवेश गर्दैछिन् ।
आज भन्दा करिव एक दशक पहिले भीरबाट लडेर निधारमा गंभिर चोट लाग्दा मृत्युको नजिक पुगेकि नक्कली ग्लान छोराले उपचार गरेपछि फेरि पुरानै लयमा फर्किइन । उनको उपचारमा १ लाख ५८ हजार खर्च भएको नक्कलीका माइला छोराले वताए ।

नक्कलीलाई गाइले हानेपछि उनको ढाड भाँचिएको रहेछ । भाँचिएको ढाड होस वा टाढै बाट देख्न सकिने निधारको खत यसले नक्कली ग्लानको जीवनको उत्तरार्धलाई कुनै फरक पारेको छैन । विहानै उठेर मेलापात चाहार्ने नक्कलीको दैनिकीलाई अहिले पनि कसैले रोक्न सकेको छैन । ३ छोरा र २ छोरीकी आमा नक्कलीका थुप्रै नाती नातिनीहरु छन् ।

नक्कलीका माइला छोराले भने विहान सुर्योदयदेखि साँझ सुर्यास्तसम्म आमैको हातमा कुटो,कोदालो र हँसिया मध्य एउटा कहिल्यै खाली हुँदैन । उनले हाँस्दै थपे वुढीले त टेन्सन पो दिन्छ । विहान उठेर कतिखेर भीरतीर घाँस काट्न हिड्छ पत्तै हुँदैन । किशोर–किशोरीको भन्दा चाँडो कान सुन्ने क्षमता छ नक्कलीसंग अहिले पनि । सियोमा धागो उनेर उध्रेका लुगा फाटा आफैं सिउछिन उनी । बाटोमा कसैको टाँक हरायो भने पनि वुढीले नै भेटाउँछिन् ।

अहिलेसम्म नक्कलीका लुगा कपडा धुनु परेको छैन छोरा वुहारीलाई । बरु उस्तै परे नाती नातिनीका लुगाफाटा उनी नै धोइदिन्छिन् । उनका माइला छोराले भने विहान आमालाई जाउलो पकाइदिन्छु , अनि दिउसो पनि दुई चोटी खान दिन्छु । थोरै पनि होइन धेरै पनि होइन एकदम ठिक्क खाना दिनुपर्छ आमालाई । उनको जाँगर र सक्रियताको सीमा नै छैन केहि काम नपाए घर अगाडीको वज्र योगिनी मन्दिर जाने सडक सफा गर्छिन ।

भुइचालोको सम्झना

नक्कली १९९० को भुइचालो आउँदा रमाइलो लागेर नाचेकि थिइन रे । भर्खर १४, १५ की तरुनी त्यति वेला त के हो भुइचालो थाहै थिएन म त रमाइलो मानेर नाचें वावु हाँस्दै भनिन् नक्कलीले । त्यतिवेला कि अहिले रमाइलो त आमै भन्ने जिज्ञासामा नक्कलीले वैंशका दिनहरुको स्मरण गरिन् । तरुनी वेला खुव नाचिन्थ्यो वावु । साथी संगी माइतीघरमा विन्दास जीन्दगी त्यहि रमाइलो नि ।

यो त काल पर्खेको वेला के रमाइलो हुन्थ्यो । त्यहि पनि जुग जमाना, घोडा, गाडी, नौला नौला कुरा देख्न त पाइयो । अव धेरै नवाँचे हुन्थ्यो । अनि पोहोरको भुइचालो नि ? पोहोरको भुइचालोमा त नातिको ज्यान वचाएँ । त्यो सुतेको थियो त्यसको सधैं सुत्ने समय दिउसो । घरमा मासु पकाएको भात मासु खाएपछि सुत्छस यता तल झर एक छिन काम छ भनेर जवर्जस्ती वोलाएँ । ओर्लियो पनि हामी त वज्यै नाती यहि वाटोमै थियौं घरमा कोहि थिएन माथि त पहिले भर्याङ पल्टिएको देख्यौं ।

एकै छिनमा घर गल्र्याम्मै ढल्यो । रातीको समय भए कोहि रहने थिएन दिउसो घरमा कोही नभएकाले खासै ज्यु ज्यान क्षति भएन हाम्रो । यो भुइचालो त संसारकै काल भएर आयो वावु । अनि चुरोट विडी केहि खानुुहुन्छ आमा ? वुढीले हाँस्दै भनिन सवै किन सोध्छस तँ ?

लेख्दै पनि छस के गर्ने मेरो कुराले ? केहि होइन आमा, वुढा वुढीको कुरा यसो लेखेर राख्नु पर्यो भनेर जवाफ दिएपछि नक्कलीले भनिन म त केहि खान्न । चुरोट, विडी, यस्तो कहिल्यै खाइन । कोदोको छ्याङ् त अहिले पनि खान्छ ।