• Friday 24th , February 2017 | शुक्रबार, फाल्गुन १३, २०७३

कबिता: तरकारीवाली

tarkariwali

कुशुम श्रेष्ठ
रगतको नाता नभएकी बहिनी
११ कक्षाबाट एकाएक
भाइरल भएर तरकारी `वाली´ भएछ्यौ ।

बुझ्छ्यौ नि तरकारीको अर्थ ?
थाहा पायौ नि वालीको मतलव ?
घरवाली, बाहरवाली वा त्यस्तै त्यस्तै ।

भारतीयले दिने उपमा
कि बहादुर हो
कि ए वाली कि वह वाली ।

उनीहरूको चासो फगत
तिम्रो ओठको – पराग सिञ्चन
तिम्रो बक्षको – भक्षण
तिम्रो नितम्बको – लोकार्पण
तिम्रो यौवनको – समुद्घाटन

सम्पादकले
आजको सम्पादकीयमा लेखेका छन्
सरकारले
सयदिनमा सिन्का पनि भाँचेन ।

संस्कृति मन्त्री
तिम्रो अन्तरवार्ता पढिरहेका छन् ।

तिमीलाई बजारमा भेट्न चाहने पिपासुहरू
आज छापिएको
तिम्रै फोटोको दुरुपयोग
गरी फेसबूक आइडी बनाइरहेका छन् ।

प्रधानमन्त्रीजीले भर्खर
काठमाडौँमा भारतीय राष्ट्राध्यक्षलाई
नागरिक अभिनन्दन
होइन होइन
काठमाडौँ नागरिक अभिनन्दन गरिसकेका छन्

तिमीलाई थाहा होला नहोला
नेपाल भनेको काठमाडौँ रहेछ ।

विपक्षीहरू
विनाआधार आरोप लगाउँछन्
केही गर्न सकेन रे !

काठामाडौँको साँचो बुझाउनु
केही गर्नुहोइन र !

कुशुम थाहा छ तिमीलाई
काठमाडौँ तिम्रै खाल्डो हो ।
त्यो खाल्डोको साँचो
भारतीय प्रणव मुखर्जीले लिएर गए ।

र, तिम्रो पुर्खाहरू ?
तिमी आफ्नो फोटो
भाइरल भएकोमा मक्ख छ्यौ ।

अब देख्नेछ्यौ
चरित्रको विचित्र चरित्र ।

भर्खरै त तिम्रो कुर्ता उतारेर
फूटो शूट भएको छ ।
तिमीलाई कास्टिङ काउचको बारेमा
केही थाहा छ कुशुम ?

ram-ashutosh-272x300-रामगोपाल’आशुतोष