• Tuesday 23rd , May 2017 | मङ्लबार, जेष्ठ ९, २०७४

कविता : यात्रा

-रमेश अनुराग,

%e0%a4%b0%e0%a4%ae%e0%a5%87%e0%a4%b6

भावीले कोरिदिएका
हत्केलाका रेखाहरू
तिनै रेखाहरूको बाटो भएर
मनभरि अनेक तिर्सना
आँखामा छल्किरहेको देश बोकेर
हिंड्नुछ
कतै टाढा टाढा
घरको त्यो मझेरी भन्दा पनि टाढा
आमाको पानी पँधेरो भन्दा पनि टाढा
बाबाले हटारू बनेर सुस्ताएका
बगर ,फाँट अनि
देउरालीको लेकबाट ओझेल पर्दै
परेलाहरुमा अनिंदा रातहरू बोकेर
पुग्नुछ
कतै टाढा टाढा ।
००
म जन्मिएको गाउँ
हुर्किएको आँगन
लुकामारी खेलेका त्यो चोटा चौकालाई
बिरानो बनाएर
बाबा आमाका सपना बोकेर
आफ्ना केही सीमित चहाना बोकेर
हिंउद छल्न उडेका पंक्षीझै उड्दै उड्दै
पुग्नुछ कतै टाढा टाढा ।
००
जब म संधार नाघ्दै हुनेछु
आमाका आँसुले मुछिएको टिकाले निधार भारी बनाएर
बाबाको शिर हलुको बनाउन
मानेका देवि देउता ढोग्दै
पुग्नुछ कतै टाढा टाढा ।

००
म सोच्दछु कहिलेकाही
बाबा आमाको असल छोरो बनिनँ कि
जब देख्छु
बुढ्यौली संगै कोरिएका
असन्तोषका बक्ररेखा
उहाँहरुको निधारमा
अनि तिलाञ्जली दिन मन लाग्छ यि अधुरा यात्राहरुको
अनि पहिल्याउन मन लाग्छ
नयाँ यात्राका अध्यायहरू
अनि पुग्नुछ कतै टाढा टाढा ।
००
दुनियाँको कुरा सुन्न फुर्सद नभए जस्तै
आफैंलाई चिन्न ताकत नभए जस्तै
अजिब प्राणी बनेर
हो हिंड्नु छ
हिंडिरहनु छ
अनि पुग्नुछ कतै टाढा टाढा
एक आम यात्री बनेर
जीन्दगीको यात्रा ।।

००