• Tuesday 23rd , May 2017 | मङ्लबार, जेष्ठ ९, २०७४

डियर ! जुनदिन सपनाहरुको हत्या गरियो

bhautik-dai

भौतिक मल्ल ‘जंगली’, मान्छे सपनामै बाँच्छ ,वास्तवमा सपना विनाको जिन्दगी वास्तविक जिन्दगी रहन सक्दैन । जिन्दगीमा केही पीडादायी कुरा छ भने त्यो सपनाकै हत्या हुनु हो । सपनाहरुको मृत्यु सबैभन्दा बढी पीडादायी हुने गर्छ । यो भन्दा बढी पीडा अरु के नै हुनसक्छ र जीवनमा । जब दिनदहाडै सपनाहरुको क्रुर हत्या हुन्छ, आफ्नोपन सबै हराएर जान्छ । स्वाभीमान बिलाएर जान्छ ।

रातीको १२ बजेको हुँदो हो । नेपाली सेनाले पूरै ब्यारेक घेरिसकेको रहेछ । ब्यूझँदा दृश्य फरक ढंगले घुमिरहेको थियो । सबै साथीहरुको मुहारमा बेग्लै खालको नैराश्यता छाएको थियो । अब के हुँदैछ हँ ? एउटा अनुत्तरित प्रश्नले फन्को मारिरहेको थियो । नेपाली सेनाले पूरै ड्यूटी पोष्टहरु कब्जा गरिसकेको थियो । सबै कुरा कब्जा गरिसकेको थियो । परस्थिति कल्पनाभन्दा बाहिर गइसकेको थियो । अनमिनले अयोग्य ठहर्याएका साथीहरुलाई विदा गरेको धेरै दिन बित्न नपाउँदै ।

एउटा फरकखाले परस्थितिको सामना गर्नुपर्ने बाध्यता आइपरेको थियो । हुनत जनयुद्धको संस्कृति बलिदानको संंस्कृति हो । हरेक कुरामा बलिदान त्याग गर्नु नै हाम्रो उच्च आर्दश थियो । त्याग, बलिदान र समर्पण जनमुक्ति सेनाको फलामे अनुशासन हो । सबैका आँखाहरु विकेन्द्रित छन् । कतै हराएका कतै टोलाएका जस्तो निरिह -निरिह, निरश- निरश वेचैन – बेचैन कस्तो उदेक र उकुश – मुकुशलाग्दो वातावरण छ । लाग्छ, यो क्यान्टोनमेन्ट होइन कारागार हो । दस वर्षको जनयुद्धको सजाय दिन यहाँ राखिएको छ जनमुक्ति सेनालाई फरक खाले अनुभूतिले तड्पाइरहेको छ ।

गाडीहरु सेता, हरिया र काला फरक फरक रंगका । गाडी जस्तै गोरे खैरे, काला, निला र सेता भूतहरुको उपस्थिति पनि बाक्लिदै थियो । मौसम सफा थियो तर मनले सफा पटक्कै ठम्याउन सकेको थिएन । कालो बादल मडारिरहेको भान भइरहेको थियो । एउटा अनौठो नाटक मन्चन हुँदैछ । जनयुद्धको अस्तित्व नामेट पार्न कथित समायोजनका नाममा अस्तित्वहरण गरिदै छ । आत्मसर्मपण गराइदैछ । सत्ता र कुर्सीको लोभ लालचमा एउटा पशुको मुल्यमा बेचिदैछ आत्म स्वाभीमान । अहँ ! कहिल्यै सोचिएन यस्तो होला भन्ने ।

bhautik_malla

डियर ! इतिहास साक्षी छ । जनता साक्षी छन् । हामी युद्ध जितेर आएका हौं । हारेर पटक्कै आएका होइनौं । हाम्रो इतिहास विजयको इतिहास हो । पराजयको इतिहास होइन । भन्नेहरुले जेसुकै भनून नेपाली सामाजको अर्को विकासको आयाम हो जनयुद्ध । वीरताको सुन्दर महागाथा हो । जनयुद्ध एक जाजल्यमान इतिहास हो । यो ज्वाजल्यमान इतिहासका पहरेदार हुन मुक्तिसेना । हामी यो स्वीकार्न कदापी सक्दैनौं । समायोजन या अवकाश रोज्ने विकल्प दिइएको थियो । माहोल पूरै अवकाश लिनेमै थियो । कुरुप बयरघारीको वास र गोलचक्रमा फसाइएको आन्दोलनको जीवन धरापमा थियो । अक्सर आरमसँग जलिरहेको छ मन चुपचाप ।

कसैसँग गुनासो सुन्ने पक्षमा छैन । सुकुटी परी खुम्चिसकेका छन् । सोचहरु शुन्य मनस्थितिमा छन् । जहाँ छुत र अछुतको विभेदपर्ण बाग्मतीमा बग्छ । बाँच्नु नै अपराधी भईन्छ यहाँ । सासहरु मुर्दामा परिणत हुन्छन । त्यहाँ मान्छे बन्नुको कुनै अर्थ रहने छैन । धपधपी बलिरहेको छ आत्म र जलिरहेको छ मन किन हुरी चलिरहेको छ । जनमुक्ति आन्दोलनको जिउदो जीवनमा सबै ध्यानमग्न देखिन्छन् ।

नेपथ्यबाट फरकखाले इतिहासको पुनरावृति हुँदैछ । नेता र कमाण्डरहरुलाई कुनै मतलब छैन । किनकि ब्यारेक व्यवस्थापनको नाममा सदस्यहरुको आउने तलबबाट ठूलै रकम कुम्ल्याएका छन् । गाडी घोडा र प्राडोहरु छन् निजी सम्पती जस्तै बनाएका छन । ठूलठूला सहरहरुमा महङ्गा महङ्गा घडेरीहरु जोडेका छन् । न उनीहरुलाई इतिहासको चिन्ता छ न वर्गीय मुक्तिको चिन्ता छ । न जनताको न कार्यकर्ताको चिन्ता छ । न व्यवस्थित समायोजनको चिन्ता छ । सिर्फ चिन्ता छ रकम कुम्ल्याउने । त्यतिले पुगेन भनेर अवकाश लिएका सदस्यहरुको रकम पनि काटिरहेका थिए । अन्याय गर्नुको पनि सीमा हुन्छ । सिध्धिनुको पनि हद हुन्छ । त्यो दृश्य देख्दा नेताहरु सबैथोकले सिध्धिसकेको देखिन्छ ।

हामी स्वतन्त्रता र समानताका लागि लडेका थियौं । नयाँ संसार निर्माण गर्ने महान अठोटका साथ लामबद्ध भएका थियौं । यसरी क्यान्टोनमेन्टलाई बधशालामा परिणत गरिएला भन्ने सोचेकै थिएनौ । हामीले लहलहैमा र रहरै रहरमा बन्दुक कदापी उठाएका थिएनौं । नेता र कमाण्डरहरु यतिसम्म स्खलित होलान भन्ने कहिल्यै सोचिएन । आखिर जुन लक्ष्य उद्देश्य प्राप्तिका लागि बन्दुक उठाएका थियौं त्यो पूरा भएकै छैन । हजारौ हजार महान् सहिदहरुका सपनाहरु पूरा भएकै छैनन ।

डियर ! कैयौ घाइते अपाङ्ग साथीहरु ह्वील चियर र सहयोगी विना बाँच्न नसक्ने स्थिति छन् । उनीहरुलाई पनि अनमिनबाट अप्रमाणित बनाइएको छ । कैयौं अयोग्य ठहर्याइएका साथीहरु घर न घाटको स्थितिमा छन् । कैयौ कार्यकर्ता घरवासविहीन छन । फेरि सामाजिक जीवनमा फर्किन भयङ्कर समस्या छ ।

एउटा जर्जर लाग्दो अत्यास लाग्दो परिवेश उभिएको थियो । साथीहरुले कोही अवकाशको लाइनमा लागिसकेका थिए । कोही ढुलमुल अवस्थामा भौतारिरहेका थिए । कसलै समायोजन रोज्ने कुराको निधो गर्दै थिए । तर, समायोजन रोज्नेहरु अपवाद देखिन्थे । सबैको मनमा तरलता देखिन्थ्यो । स्थायित्य कमैमा थियो । धेरै सोचाईको बगानमा रम्दै थिए ।

यो दशरथपुर अस्थायी ब्यारेक हो । तल भेरी बगिरहेको छ । भेरी जस्तै यी राता मान्छेहरुका मनमा पनि बगिरहेको छ निरन्तर । भेरी नदी जस्तै अंध्यारा अत्यासलाग्दा खोचहरु पनि छन् जीवनका । खहरेहरु पनि छन । भेलहरु पनि छन् । खोल्सा खाल्सीहरु पनि छन । यहाँ अनेक लाग्दा प्रश्न र उत्तरहरु छन् ।

घरी भित्र घरी बाहिर गरिरहेको छु । सँगै सहकार्यका पलहरु ओल्टाईपल्टाई गरिरहेको छु । थाहा छैन भोलि कस्तो हुने हो । सताइरहेको छ भोलिले । कैयौं साथीहरुले झोला झ्याम्टी बोकेर गेट पार गरिसकेका छन् । कयौँ पर परसम्म लाइनमा छन् । कयौं कुहिरोमा हराएको काग जस्तै भएका छन् । हामी जनयुद्धमा न जागिर खानको लागि लागेका हौं । न महल ठड्याउन । न मन्त्री हुन न सभासद हुन । न ठेकेदार हुन । केवल हामी निस्वार्थ रुपमा सचेत ढंगले वर्गीय मुक्तिका लागि लागेका हौं ।

डियर ! जुन दिन शान्ति सम्झौताको नाममा जनयुद्ध सिध्धिएको सम्झौता गरियो । सेनालाई हस्तान्तरन गरियो, नेताहरु कुर्सी र सत्ताको लोभमा डुबे, पुँजीको गहिरो आहालमा पौडी खेल्न सुरु गरियो । सहिदहरुका सपना माथि बज्रप्रहार गरियो । नेपाली जनता र कार्यकर्ताको भावना माथि ढुंगा हानियो र सर्वहारा वर्गको इच्छामा कुठाराघात गरियो । शान्ति प्रक्रियाको नाममा आदर्श र सिद्धान्तबाट तुहिन थालियो । जनयुद्ध र जनमुक्ति सेना घाँडो हुन थाल्यो । युद्धमा लडेका इमानदार कर्तव्यनिष्ठ कार्यकर्ताहरु पराई हुन थाले । पार्टी एकताको नाममा भुसतिघ्रेहरु भित्रीन थाले । झार पात पतिङ्गरहरुको पार्टी हुन थाल्यो । क्रान्तिकारीहरुलाई पाखा लगाउन थालियो । यो सबैथोक सम्भवमा परिणत भयो ।

डियर ! त्यो दिन पालो आएन । लाईनमा कुर्दाकुर्दै रात प¥यो । कोठामा आए । खाना खाने मन थिएन । औपचारिकता निभाउन हातमुख जुठो बनाए । मनभरी बितेको समयले ऐठान पारिरहेको छ । वर्तमानले गिज्याइरहेको छ । भविष्य ठिङरिङ्ग खाली हात उभिएको छ । अब के गर्ने होला ? मनभरी यही प्रश्नले छाल हानिरहेको छ ।

फेरि पनि कोठामा संधैजसो साथीहरु जम्मा भए । आज क्यान्टोनमेन्टको अन्तिम गजल साँझ गरौँ भन्ने भयो । गजल लेख्ने वानीले पनि साथीहरुसँग भिज्न सहज बनाएको थियो । अस्थायी ब्यारेक भित्र रहेर पनि एउटा पत्रिका भेरी जनसुस्केरा प्रकाशन गरिरहेको थिँए । यसले पनि सबैसँग चिन्न र भिज्न सजिलो गराएको थियो । सबैको सल्लाह वमोजिम कार्यालयको प्रतिक्षालयमा अन्तिम गजल साँझ गरियो । गजल साँझमा नेपाली सेनाका साथीहरु पनि उपस्थित भएका थिए खुसी लाग्यो हाम्रो सदभावमा उनीहरुले पनि आभारी जनाए । गजल लेख्ने साथीहरुलाई पालै पालो गजल वाचन गर्न लगाए । सबै साथीहरुले विगतलाई स्मरण गर्दै वातावरण भावुक बनाए । सायद आँसु नझार्ने कमै थिए होलान । कमाण्डरदेखि सदस्यसम्मको उपस्थिति थियो । कार्यक्रम सकेर कोठामा आए र पल्टिए । ओल्टाई पल्टाई गर्दागर्दै एक बजिसकेको रहेछ । अहँ ! निन्द्रा आउने सुर देखिन । दराजतिर हेरे एल्बम आँखामा प¥यो । हातमा लिए र विगतलाई एकतमासले टोलाउँदै बिहानको पाँच बजाए ।

अझै कति दिन यस्तै अनिदै बसिने हो एकिन हिसाब छैन । यो सुरुवात मात्र हो । थुप्रै मोर्चामा सँगसँगै लडेका सँगै खाएका हासखेल गरेका र सँगै सहकार्य गरेका साथीहरुसँग भोलि बिहान छुट्टिएर जानु छ । झ्याल खोलेर बाहिर चियाएँ । फेरि पनि डम्मा हुस्सुले पुरिरहेको थियो दशरथपुरलाई । शितका थोपाहरुको तपतप चुहिरहेको थियो । कल्पनामै एकोहोरो रात बिताएँ ।

डिएर ! यसरी निदाउनै नदिएर रातारात निश्चल सपनाहरुको हत्या गरियो ।

लेखकः क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य तथा कर्णाली अन्चल संयाेजक हुन् ।