• Friday 24th , February 2017 | शुक्रबार, फाल्गुन १३, २०७३

कविता – स्वप्निल संसार

neki-dhanendra

नेकी धनेन्द्र,

भञ्ज्याङ्को चौतारीमा
यतिखेर बिसाएर भारी
गरिरहेछु आराम-
आइ रहेको छ आनन्द
हावाको मुस्लोमा उडिरहेछ
पसिनाको गन्ध !!

एकातिर गुराँसले
नवजवान भमरालाई
निम्ता गरिरहेको छ दृश्य
अर्कोतिर- मलाई नै
निगालाको झ्याङबाट
निहाल्दै छ न्याउरी मुसो
म भने च्यातिएको
कोटको खल्तिबाट
झिकेर सुल्पा
झोसिरहेछु तमाखुमा आगो !!

कटकटिएको मनको थाङ्नोमा
तुषारोले चट्चटिएर
दरा परेको मेरो दिमागलाई
लुछिरहेछ गिद्दको चुच्चोले
र पनि तिम्रो सम्झनामा
कोर्दैछु दुईशब्द !!

यस्तो लाग्छ-

अघिल्लो जुनि सायद
तिमिसितै बिहे भएको हुनुपर्छ
त्यसैले त होला-
यो जुनि-हर रात, हरपल
आउँछ्यौ निदाउन सात
र,
मेरो कुरुप चरित्र
मेरो कुरुप विशेषता
मेरो फोहोरी अंगमाथि
मस्तले चुमिराख्छ्याै
अंगालोमा बेरी राख्छौ
त्यसपछि-
खुसिको दुई त्यान्द्रा आँसु
यो छातिमा रोपेर
भन्छ्यौ-
“तिमी छौ र ! पो बाँचेकी छु”
र,
यसरी स्नेहको
चरमाेत्कर्षमा पुग्दा
त्यति नै खेर-
कसैले बोलाए जस्तो लाग्छ
अनि,
झस्केर ब्यूझदा-
तिमी कहिल्यै मेरो साथ हुन्नौ ।