• Saturday 21st , January 2017 | शनिबार, माघ ८, २०७३

काश्मीरलाई अलग देश बनाउने प्रस्ताव भारतलाई स्वीकार्य हुन्छ ?

anuradha

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापाले भारतीय गुप्तचर संस्था ‘रअ’को इशारामा नेपालको पाँच नम्बर प्रदेश टुक्राउने खेल शुरु भएको बताएकी छन् । नेपालको तराईलाई टुक्र्याएर भारतमा गाभ्ने योजना अनुरुप नै संशोधन प्रस्ताव आएको उनको दाबी छ ।

व्यवस्थापिका संसदको आइतबार बसेको बैठकमा सभामुखसँग समय लिएर सांसद थापाले पाँच नम्बर प्रदेश ट्क्र्याउने संशोधन पारित गर्न नेपालका लागि भारतीय राजदूत रञ्जित रायले दवाव दिइसकेको समेत बताइन ।

‘नेपालको तराईमा प्रदेश छुट्याउन दवाव दिने ? भारतको कश्मीरमा अलग देश बनाऊ भनेर हामीले दवाव दिएमा भारतलाई स्वीकार्य हुन्छ ?’ उनले प्रश्न गरिन् ।

उनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको भन्दै नेपालका लागि भारतीय राजदूत रञ्जित रायलाई फिर्ता पठाउन माग गरिन् । भारतीय गुप्तचर संस्था ‘रअ’का पूर्वप्रमुखले काठमाडौंमा बसेर राजनीतिक दलहरुलाई निर्देशन गरेको बताइन

। ‘रअ’का पूर्वप्रमुखको योजनामा राप्रपाको एकीकरण भएको र नेकपा एमालेलाई विभाजनको षडयन्त्र भइरहेको भन्ने समाचार प्रकाशमा आएका छन्’ उनले भनिन ।

राप्रपा एकीकरणमा विदेशीको संलग्नता रहेको भन्ने नेमकिपा सांसदको अभिव्यक्तीप्रति नियमापत्ति गर्दै राप्रपाका सुशील श्रेष्ठले पार्टी एकीकरणमा कसैको संलग्नता नरहेको स्पष्ट गरेका थिए ।

सांसद थापाले नेपालको आन्तरिक मामिलामा विदेशी गुहार्ने नेतालाई कारवाही गर्न पनि विधेयक ल्याउनुपर्ने माग गरिन । उनले सरकारले संसदमा दर्ता गराएको ‘राष्ट्रघाती’ विधेयक फिर्ता नगरेसम्म विपक्षी दलले संसदको बैठक चल्न नदिने बताइन् ।

नेकपा एमाले, माले, नेमकिपा, राजमो लगायतका दलका सांसदहरुले उभिएर संसद अवरोध गरेपछि सभामुख ओनसरी घर्तीले संसदको बैठक मंसिर २२ गते १ बजे सम्मका लागि स्थगित गरेकी छिन् । संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै विपक्षी दलले बिहीबार देखि संसदको बैठक अवरुद्ध गर्दै आएका छन् ।

भिडियो हेर्नुहोस

Loading...