• Thursday 23rd , March 2017 | बिहिबार, चैत्र १०, २०७३

विद्यार्थीले घेरे भारतीय दूतावास, रणजित रायविरुद्ध प्रदर्शन

embassy

काठमाडौं- सरकारले ल्याएको संविधान संशोधन विधेयकले मुलुक विखण्डन गर्ने भन्दै संयुक्त रुपमा युवा–विद्यार्थीहरुले आन्दोलन जारी राखेका छन् । यसैक्रममा नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै उनीहरुले सोमबार काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावास घेरेका छन् ।

विद्यार्थीहरुले संविधान संशोधन प्रस्ताव पारित गराउन भारतीय राजदूत रणजित रायले चलखेल गरेको बताउदै उनलाई फिर्ता पठाउन माग गरेका छन् ।

उनीहरुले सरकार भारतको इशारामा चलेको भन्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा पनि माग गरेका छन् । ‘तातो गोली खाइन्छ, सिङ्गो नेपाल चाहिन्छ’, ‘प्रचण्डको पाराले दुःख पाए साराले’ भन्दै उनीहरुले नेपाल सरकार र भारत विरुद्ध चर्काे नारा लगाए।

दुतावास घेराउ गर्न पुगेका युवा संघका कार्यकर्ता र प्रहरीबीच केही बेर घम्साघम्सी समेत भएको थियो । उनीहरुले बोकेको कालो ब्यानरमा ‘भारतीय विस्तारवाद’ र ‘भारतीय राजदूत रञ्जीत रे फिर्ता जा’ लेखेका थिए।

indian-embassy2

नेपाल सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव एक महत्वपूर्ण कदम भएको भन्दै भारतीय राजदूतावासले विज्ञप्ती जारी गरेको भोलिपल्टै एमाले कार्यकर्ताहरु लैनचौरस्थित दूतावास अगाडि प्रदर्शनमा उत्रिएका हुन् ।

in-em

राष्ट्रिय झण्डासहित विरोध प्रदर्शन गर्न दूतावास अगाडि बढेको जुलुशलाई प्रहरीले लैनचौर चोकमै रोकेको थियो । दूतावास वरपर निषेधित क्षेत्र घोषणा गरेको सरकारले सुरक्षाका लागि उल्लेख्य संख्यामा प्रहरीहरुलाई परिचालन गरेको छ ।

भिडियो हेर्नुहोस