• Saturday 29th , April 2017 | शनिबार, बैशाख १६, २०७४

यस्ता छन् मोबाइल बिग्रने आठ कारण

काठमाडौँ, मोबाइल खरिद गर्दा आजभोलि धेरैभन्दा धेरै फिचर प्रयोग गर्न सकिने होस् भन्ने सबैको चाहना हुन्छ । मूल्य केही महँगो भए पनि आफूलाई आवश्यक सम्पूर्ण फिचर मोबाइलमा नै होस् भन्ने ग्राहकको चाहना हुन्छ ।

महँगो मूल्यमा खरिद गरिएको मोबाइल लामै समयसम्म बोक्ने इच्छा राख्नु पनि स्वाभाविक नै हो । तर, कतिपय अवस्थामा केयर गर्दागर्दै पनि मोबाइल खस्ने तथा टुट्नेफुट्नेजस्ता समस्या भइरहेको हुन्छ ।

यस्तै कारणले मोबाइल चलाउने इच्छा पूरा नहुँदै प्रयोग नै गर्न नमिल्ने गरी मोबाइलसेट बिग्रन सक्छ । सामान्य लापरबाहीका कारण महँगो मूल्य हालेर खरिद गरिएको मोबाइल माया मार्नुपर्ने हुन सक्छ ।

१. मोबाइलको सुरक्षाका लागि घरमा बस्दा मोबाइल तपाईंले कहाँ राख्नुभएको छ, त्यसमा विशेष विचार पुर्‍याउनुपर्छ । कतै तपाईंले प्रयोग गर्ने मोबाइल बच्चाले भेट्ने स्थान, टेबुलको छेउ वा तुरुन्तै झर्न सक्ने स्थानमा राखिएको त छैन ?

२. कतिपयको बानी हुन्छ रेस्टरुममा पनि मोबाइल चलाउने । यस्तो अवस्थामा मोबाइलमा पानी पस्ने वा झर्ने सम्भावना बढी हुन्छ ।

३. महँगो मूल्य तिरेर खरिद गरिएको मोबाइल फोनलाई पनि अन्य इलेक्ट्रिोनिक्स उपकरणजस्तै सुरक्षामा ध्यान दिनुपर्छ । मोबाइल खरिद गर्दा महँगो मूल्य तिरे पनि सुरक्षित राख्ने कभर निकै सस्तो मूल्यमा पाइन्छ ।

निकै सस्तो रकमले सुरक्षित गर्न सकिने भए पनि धेरैले मोबाइलमा कभर राख्न बेवास्ता गर्छन् । मोबाइलसेटअनुसार मिल्दो, सुहाउँदो र बलियो कभर प्रयोग गर्नाले कतै खसिहालेमा पनि मोबाइल फुट्नबाट धेरै हदसम्म जोगाउन सकिन्छ ।

४. मोबाइलको स्क्रिनमा स्टिकर हाल्नुको सट्टा टेम्पर्ड ग्लास हाल्नु राम्रो हुन्छ । यसले मोबाइलको स्क्रिनलाई स्क्र्याच हुनबाट जोगाउँछ । त्यस्तै, कतै मोबाइल खसिहालेमा पनि स्क्रिन फुट्नबाट जोगाउँछ । स्क्रिन नै परिवर्तन गर्दा ठूलो रकम लाग्छ भने टेम्पर्ड ग्लास तुलनात्मक रूपमा धेरै सस्तो पर्छ ।

५. मोबाइल सबैभन्दा बढी बिग्रने कारण भनेको नै खसेर हो । त्यसैले मोबाइल खस्नबाट जोगाउन सकेसम्म बलियो गरी समात्नुपर्छ । हातमा सजिलै अड्कने खालको र नचिप्लने कभर प्रयोग गर्नुपर्छ । खस्ने समस्याबाट बँच्नका लागि डोरी अड्काउन मिल्ने चेनडोरी वा औँला अड्काउन मिल्नेसहितका कभर पनि बजारमा पाइन्छन् ।

६. मोबाइल बिग्रने अर्को मुख्य कारण भनेको पानी र चिसो हो । त्यसैले पसिना, पानी वा अन्य तरल पदार्थले भिजेको हातले पनि मोबाइल समाउनु हुँदैन । खाना खाँदा, पानी पिउँदा, स्विमिङ गर्दा मोबाइल सकेसम्म नचलानु राम्रो हुन्छ ।

७. मोबाइललाई धेरै तातो हुने स्थानबाट पनि जोगाउनुपर्छ । त्यसैले स्टोभ, चिम्नी, चुलो तथा हिटरजस्ता उपकरणबाट टाढै राख्नुपर्छ ।

८. मोबाइल सफा गर्दा पनि स्प्रे, पानीको प्रयोग गर्नु हुँदैन । सकेसम्म सफा कटनको कपडामा अल्कोहल थोरै प्रयोग गरेर पुछ्ने गर्दा राम्रो हुन्छ । यसले पनि मोबाइलको बाहिरी भाग मात्र सफा गर्न सकिन्छ । भित्री भागमा भिजेको कपडाले सफा गर्नु हुँदैन ।नयाँ पत्रिकाबाट