• Saturday 25th , February 2017 | शनिबार, फाल्गुन १४, २०७३

मंगल ग्रहमा तीनवटा धरहरा देखियो

वासिङटन- पृथ्वीको सबभन्दा निकट रहेको र रातो ग्रहको नामबाट पनि परिचित मंगल ग्रहमा एक विशाल र अनौठो बनावट देखिएको छ ।
इन्टरनेट सञ्जालको ‘मुन्डो डेस्कोनोसिडो’नाम शीर्षकको यु ट्युब प्रसारणमा हालै मात्र पोस्ट गरिएको मंगल ग्रहको पछिल्लो तस्बिरमा तीनवटा निकै अग्ला धरहरा (टावर) देखिएका छन् ।

झट्ट हेर्दा ती तीनवटै टावर विशाल भौतिक संरचनाभन्दा कम छैनन् र एउटा टावरको उचाइ चार हजार आठ सय मिटर (४.८ किलोमिटर) भन्दा कम नरहेको अड्कल गरिएको छ । ती तीनवटै टावर ठ्याक्कै सीधा रेखामा निर्माण गरिएको देखिनाले कुनै सीपालु कारिगरले धेरै वर्ष लगाएर बनेका भौतिक संरचना हुन् जस्तो प्रतीत भएको छ ।

एकजना अज्ञात व्यक्तिले मंगल ग्रहको केही पछिल्ला तस्बिरहरू पोस्ट गरेका हुन् । ‘थ्री डी’ भिजन र विभिन्न कोणबाट खिचिएका तस्बिरहरू पोस्ट गर्ने ती व्यक्तिको परिचय भने खुल्न सकेको छैन ।

यसअघि मंगल ग्रहको तस्बिर खिच्दै प्रसारण गर्ने संस्थाहरूः मार्स ग्लोबल सर्भेयर र मार्स ओडिस्सी मिसनले सम्प्रेषण गर्ने गरेका तस्बिरभन्दा अहिले पोस्ट गरिएका तस्बिरहरू उच्च गुणस्तरका र बढी प्रष्ट छन् ।

पृथ्वी बाहेकको अन्य ग्रहमा पनि अन आइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट (युएफओ) को अस्तित्व छ भनी विश्वास राख्ने अनुसन्धानकर्ताहरूलई भने ती तस्बिरले निकै खुल्दुली मच्चाएको छ ।

अन्य ग्रह (विशेषतः मंगल ग्रह) मा पनि मानवभन्दा पनि उच्च बौद्धिक क्षमतावान् अपरिचित प्राणीको अस्तित्व छ भनी विश्वास राख्ने अर्काथरी अभियन्ताहरूले पनि यस तस्बिरलाई देखेर आफ्नो विश्वासलाई झन् प्रमाण सहितको पुष्टि मिलेको दाबी गरेका छन् ।

तस्बिर पोस्ट गर्ने ती अज्ञात व्यक्तिले भने ‘टावरको संरचना तथा सीधा रेखामा निर्मित बनावट हेर्दा यो एक संयोग मात्र नभएर मंगल ग्रहमा साँच्चिकै अत्याधुनिक प्रविधि छ भन्न कर लाग्ने’ भनी टिप्पणी समेत गरेका छन् ।

मंगल ग्रहमा उपलब्ध रहने हावा तथा पानीको बलले मात्र तीन तीनवटा त्यत्रा टावर बन्न असम्भव रहेको भनी अनुसन्धानकर्ताहरू भन्छन् । यता, अमेरिकी राष्ट्रिय अन्तरिक्ष अध्ययन संस्था (नासा)का वैज्ञानिकहरू भने सो तस्वीर देखेर त्यति प्रभावित छैनन् र उनीहरू यसलाई कुनै नौलो कुरो पत्ता लागेको मान्न तयार देखिँदैनन् । टावरहरू तस्बिरमा अग्ला र ठूला देखिए पनि नजिकै गएर प्रत्यक्ष हेर्ने हो भने तस्बिरमा देखिए जत्तिकै अग्ला र ठूला नहुने उनीहरूको भनाइ छ ।

टावर भन्ना साथ आँखाले नदेखेमा पनि हामी पृथ्वीवासीले पहिला देखिरहेका अग्ला र ठूला टावरपट्टि झट्ट हाम्रो दिमाग र कल्पना कुदेर जान्छ । यस्तो परिकल्पनाको स्थिति आउनुलाई ‘प्यारेडोलिया’ भनिन्छ ।

मंगल ग्रहमा देखिएको भनिएको टावर पनि एक किसिमको ‘प्यारेडोलिया’ नै भएको नासाका वैज्ञानिकहरूको टिप्पणी छ ।