• Tuesday 25th , April 2017 | मङ्लबार, बैशाख १२, २०७४

को दलित ? को जनजाती ? को आदिवासी ?

लक्ष्मण सिटाैला, चाणक्य नीतिशास्त्रमा एउटा भनाइ छ कि – कोही ब्यक्ति जन्मको हिसाबले होइन कर्मको हिसाबले महान हुने हो। अर्का महान् चिन्तक सुकरात यसाे भन्छन् -“केवल जिन्दगी मात्र होइन एक महान् र सार्वभौम जिन्दगी बाच्नु राम्रो हो”। मानव जुनि लिएर भगवान बनेका द्वापर युगका कृष्ण कुनै पण्डित पुत्र थिएनन् , कुनै आदिवासीका सन्तान थिएनन् । यो पृथ्वीमा को आदिम हो ? को हो नवीन ? कस्लार्इ आदिम भन्ने कस्लार्इ नुतन भन्ने? आदिमाताको आड लिएर राज्यबाट सहुलियत लिइ उपभोग गर्न खोजिएको हो भने आफ्नो ठाँउमा छ।

सबैको काम गरि खाने हात छन । सबैको सोंच्न सक्ने दिमाग छ। सबको बाच्ने कला छ। प्रकृतिले सबैलाई समानरुपमा घाम पानी र अक्सिजन दिएकी छिन् । आदिवासी र दलितलाई के सुर्यले उज्यालो छेक्छन् र ? के जनजातीलाई हावा र प्रकृतिले आफ्नो काखको सिरानीबाट बन्चित गरेकी छिन र ?यो देशमा सबै राजनीतिक दलहरूले जनजातीको नारा लिएर राजनीतिक लाभ लिन खोजेका छन् ।अहिलेको यो २१ औ शदाब्दिमा धर्मको नाउमा, राजनीति ,जात भात लिङका रुपमा , बर्ग समुदाय ,सम्प्रदाय र भुगलको नाउँमा राजनीति गर्न खोज्नु भनेको नेपालीलाई आदिम सभ्यताको युगमा फर्काउन खोजेको हो भनेर बुझ्नु जरुरी छ। एक सचेत र सचा कर्मनिष्टकाे देश हुँदैन ,धर्म हुदैन ,जात हुदैन बर्ग लिंग हुदैन । कार्लमाक्सको सीमाहीन संसारकाे परिकल्पनाले एकदिन साक्षात रुप लिनुपर्छ। एउटा पृथ्वी एउटा राज्य । एक जात एक मानवको जात ,एकै धर्म मानव धर्म र प्रेमको धर्मले अभिप्रेरित रहनुपर्छ यो युगको नेपाली ।

महात्मा गान्धीले भनेका छन् – ” मेरो जीवन नै मेरो शन्देश हो” जीवनको सर्वोच्चता कुनै आदिवासी जनजाती हुनुमा होइन बल्की यो सुवास झै अत्तर झै झिल्काझै फैलिनु र महकिनुमा छ। म रार्इको छोरा म मगरकी छोरी हामी यो देशका आदिवासी भन्नुमा के गर्व होला र? तर म मगरकी छोरी म यो देशको खातिर अनन्ततक कर्म गरिरहन्छु भन्नुमा पो गर्भान्नुतित होला। के मगर कै छोरी भएर सभामुख बनेकी होलिन् र, ओन्सारी घर्तिमगर? के महिला नै भएर बिद्ध्यादेवी राष्टपति बनेकी  होलिन र ? यदि यसो हो भने हामी विचारमा भिखारी नै रहेछौं । हाम्रो पंडित्याँर्इ धोकामा रहेछ। सक्षमताको मुल्यांकन हुदैन र केवल जात लिंग भूगोलमा आधारित न्याय गर्ने हो भने हाम्रो बिकास कहिले होला र? कसैले बनाएर बनिंदैन महान मान्छे ।

महान दार्शनिक प्लेटोले भनेका छन् – “ब्यक्ति प्राकृतिक रूपमा समान छन्”। एउटै माटोमा एउटै कुमालेले बनाएको हौ हामी मानव जाती । उस्को अगाडि उस्का सबै सिर्जना समान छन्  । सबल कर्म गर्ने अगाडि छन्, दुर्जन बिचार लिने पछाडि छन्। जनजातीको नाउँमा आउने भत्ता कुलीन बर्गले खान्छन् ,यो देशमा अनि तिनै आदिवासी जनजाति र दलितलाई लडाइँ लाडाएर राजनीति गरिरहन्छन् । एउटै गाउँमा एकै ठाउमा एकै मितिमा जन्मिएका दुर्इ बालक हर्कजित राई र राम कुमार दाहाल दुईमा कसरी हर्कजित राई आदिवासी जनजाती भयो अनि राम कुमार दाहाल चाँहीं आधुनिक भयो ? हर्कले आदिवासीका नाउँमा कोटा पाउने बाहुन भएर जन्मिएको त्यो बिचरो रामले लोटा पनि नपाउने र आफ्नै मिहिनेत र पौरखले महान बन्नु पर्ने ? हो बाध्यताले यहि बिभेदले नै बाहुन बर्गले नेपालमा एकछत्र उन्नति गर्न सिकेको । स्वामी प्रपन्नाचार्य ( काले राई ) ले जनजातीको मुद्दाले मुलुकलार्इ पछाडि धकेल्छ भन्नुहुन्थ्यो । विद्वता छ भने जातभातको विभेद अन्त हुन्छ। ब्यक्ती कर्मले पुजिने हो नकि जात र धर्मले। आदिवासीको रुवावासी अन्त हुनुपर्छ अब ।

यो देशमा कोही पनि मंगल ग्रहबाट आएका छैनन् । माथिल्लो जाति भनिने बाहुन भारतबाट आएका हुन्  भनेर अभिजात्य बर्गमा गनिनु गलत हो । मगोलियनहरु मात्र यो नेपालका आदिवासी जनजाती होइनन् । उनीहरू पनि मङोलीयाबाट आएका हुन भनेर मुद्दा निकाले भैगोनी त्यसो त। कुरो यो होइन।हामी नेपाली हामी सबै आदिवासी हामी सबै जनजाती किनभने हामी सबै यही भुमिका चेतनशील मानव चैतन्य हौ।

बुद्धले एक ठाँउमा यस्तो भनेका छन- हामी जस्तो सोंचाँइ राख्छैं, त्यस्तै बन्छौ । जनजाति दलित र आदिवासीले अब आफ्नो धारणामा परिवर्तन ल्याउनु जरुरी छ । शारीरिक मानसिक अपाङ्गता भएका ब्यक्ति बाहेक अरु कसैलाई पनि यो राज्यले पाल्नुपर्ने जरुरत छैन। दलित जनजाती र आदिवासीले यो सोच्नुपर्ने भएको छ कि हामी आफै सक्षम छौ कसैको हुन्डी खाएर बाच्नु जरुरी छैन । सरकारले नै जनजाति दलित र आदिवासीको मुद्दा उठाएर ती ब्यक्तिहरुको उन्नतिशील सोंचलाई अपांग बनाइरहेको छ । बिर्सिदिनुस् यहाँ कोही दलित जनजाती आदिवासी छैन । यो देश सबको साझा घर हो हामी सब नेपाली आधुनिकवासी हौं । हाम्रो सभ्यता आदिम होला तर हामी आधुनिक हौ। आदिम सभ्यताको नुतनधारा मेची कोशी महाकाली सुनकोसी बगिरहेछ हाम्रो शीरबाट ।

शब्दबद्ध परिचय शरीरको हुन्छ, पदार्थको हुन्छ, भौतिकताको हुन्छ । तर, हामी चेतनाको त्यो आलोक हौ जो हिजै बुद्धले बालिसके, सीताले जगाइसकिन् र यलम्बरले पुजित यो भूमिमा अब पनि कोही दलित र आदिवासी होलान् र ?। हामी कसरी आदिवासी ? हामी कसरी दलित र जनजाती ? सभ्यताको चरण चर्चा आदिम होला व्यक्ति र उस्को सम्पुजन आदिम हुँदैन । यदि आदिम हुन्छ भने उ जंगली युगको वा ढुङे युगको बनमान्छे हो न कि अहिले चरम सभ्यताको विवेकशील मान्छे ।

दलितमाथिको विभेद र बिभाजन अन्त्यका लागि बरु राज्यको दायित्व प्रखर हुनु जरुरी छ। कडा कानुनको निर्माण दण्ड नीति र पुरस्कारको ब्यवस्थापन हुनुपर्छ ।
तर दलित आदिवासी र जनजाती भनेर निको हुन लागेको घाउ फेरि-फेरि किन कोट्याउनु सरकारले र राजनैतिक दलहरूले। नेपालका जुन जातीले आफूलार्इ दलित सम्झिन्छन् जुन जातीले आफुलार्इ यो देशको आदिवासी सम्झिन्छन् तिनले यो बुझ्नु जरुरी छ कि अब कति युगसम्म यो बिल्ला भिरेर बसिरहने ? के उहाँहरुले आफुलार्इ अरुबाट आदिवासी र जनजाती भनिरहुन् भन्ने चाहनु हुन्छ ? म नेपाली । म नेपालवासी भनाैं सबले।अपाङ्ग बाहेक कसैलाई आरक्षण दिनु पनि जरुरत छैन। जस्ले गर्छ गर्न सक्छ गर्ने हिम्मत राख्छ उ अगाडि बढ्छ।प्रकृतिको नियम पनि यहि हो।
जय धरती !