• Saturday 21st , January 2017 | शनिबार, माघ ८, २०७३

झुटो समाचार र गलत पोस्ट रोक्न फेसबुकले ल्यायो नयाँ फिचर

नक्कली तथा गलत समाचारहरु भाइरल बनेर त्यसले विश्वको समाज तथा राजनीतिमा समेत असर पार्न थालेको भन्दै आलोचना भएसँगै फेसबुकले त्यस्ता समाचार रोक्नका लागि नयाँ फिचर्स सार्वजनिक गरेको छ ।

फेसबुकले फेक समाचारको बारेमा रिपोर्ट गर्ने अथवा उजुरी गर्न सकिने रिपोर्टिंग फिचरका साथै गलत सूचना प्रवाह हुने क्रमसँग जुध्नका लागि सोसल साइटमा केही परिवर्तनहरु ल्याएको छ ।

फेसबुकमा भाइरल बन्ने गलत समाचारले अमेरिकी राष्ट्रपति चुनावको परिणाम सोँचेभन्दा फरक पारेको भन्दै कतिपयले गुनासो गरेसँगै फेसबुकको व्यापक आलोचना सुरु भएको थियो ।

नयाँ फिचरहरुमा नक्कली तथा गलत समाचारको बारेमा सूचना दिने फिचरहरु रहेका छन् । एक वक्तव्यमा फेसबुकले भनेको छ ‘हामीले जनतालाई आवाज दिनुपर्छ भन्ने कुरामा विश्वास गर्दछौं र हामी आफै मात्र सत्यको निर्णयकर्ता बन्न सक्दैनौं। त्यसैले हामी यो समस्याको समाधानतर्फ सजगरुपमा अघि बढिरहेका छौं ।’

साथै फेसबुकले विवादास्पद समाचारहरुका बारेमा रिपोर्ट गर्न नयाँ लेबल पनि थप गर्दैछ । त्यस्ता विवादास्पद समाचारको बारेमा उजुरी परेसँगै फेसबुकले त्यसको सत्यता जाँच गर्न तेश्रो पक्षसमक्ष पेश गर्नेछ ।

विवादास्पद तथा झुटो र नक्कली ठहरिएका समाचारहरुलाई फेसबुकले नक्कली करार गरी त्यसको सूचनाको लिंक पनि समावेश गर्नेछ र त्यस्ता समाचार सोसल फिडमा न्यून रुपमा देखा पर्नेछन् । साथै विवादास्पद समाचारहरुमा फेसबुकले प्रयोगकर्तालाई चेतावनी स्वरुप उक्त समाचार गलत पनि हुनसक्ने जनाउ दिनेछ ।

साथै फेसबुकले गलत समाचार रोक्नका लागि भविष्यमा अन्य फिचरहरु समेत थप गर्न सकिने जनाएको छ ।साथै फेसबुकले चर्चित प्रकाशकहरुको नामसँग नक्कल गरी पाठकहरुमा भ्रम फैलाउने खालका वेबसाइटहरुलाई समेत दण्डित गर्ने योजना बनाएको छ ।अनलाइन खबरबाट

Loading...