• Tuesday 17th , January 2017 | मङ्लबार, माघ ४, २०७३

असफल राज्य कहिलेसम्म बोक्ने ?

पुष्प न्यौपाने,      राज्य पूर्ण रुपमा असफल छ । संविधान कार्यान्वयन हुन नसकेको राज्यलाई सफल भन्ने कानुनी आधार छैन भन्ने चिन्ता सर्वत्र छ । फेरि पनि सत्तासिनहरु आफैले राज्यलाई असफल घोषणा गर्ने कुरा भएन ।

प्रतिपक्षिहरुले आलोचना गरे पनि भोली सरकारमा जाँदा राज्य सञ्चालनको विधि र कानुनको पालना गराउने तरिका त्यहि हो । सत्ताको रिङ बाहिर रहेको शक्तिले नेतृत्व क्षमता विकास र राज्यमाथि निर्णायक प्रहारको आकार अझै ग्रहण गरिसकेको छैन ।

नागरिकहरुको युवा पंक्ति परिवार पाल्न र आफु पालिन विदेशी भूमिमा रात दिन पसिना चुहाउनमै ब्यस्त छ । नेपालमा रहेका नागरिकहरु मध्य एउटा पंक्ति सत्ताले गर्ने लुट खसोटबाट भएको चुहावटमा चित्त वुझाउदै रातदिन चाकडी चाप्लुसीमा दौडिएको छ अर्को पंक्ति पुरै रोर्वट जस्तो छ ।

गएका ७० बर्षमा नेपालले झण्डै ७ ओटा संविधान निर्माण गर्ने र फ्याँक्ने प्रयोग गरिसक्यो । कानुनहरु शासकले कुल्चने, धोति लगाउने र मुठ्ठी भित्र राख्ने जनताका लागि वाइबल कुरान र वेद जस्तै पवित्र देखाउने तरिका पनि अब असफल भयो ।

शासकले जसरी कानुन कुल्चन्छ, जनताले त्यसैगरि कानुन च्यात्छ र त्यसपछि राज्यमा चेन अफ कमाण्डको रिक्तता सृजना हुन्छ, आज हामी यहि चक्रमा घुमेका छौं । जब स्टेटम्यानशिप हुँदैन स्टेट असफलताको भारी वोक्न वाध्य हुन्छ ।

राजनेताले वाँड्ने सपना वेलुन जति हलुको हुनु हुँदैन । बनाउने नीति,नियम र विधि विधानहरु कार्यान्वयन हुन सक्ने, नसक्ने हिसाब हुनुपर्छ । कानुन कागजमा आत्मरति लिने कुनै गाउँखाने कथा होइन त्यसलाई कार्यान्वयनको तहमा ल्याउन सक्नुपर्छ ।

कानुन आकर्षक बन्छ , ब्यवहारिक जटिलता पहिलेको भन्दा चार गुणा वढेर आउछ । अब कानुनमा चित्त वुझाउने वा ब्यवहारलाई हेरेर राज्यको मुल्यांकन गर्ने ? यो अलमल कति समय रहनसक्छ ? वैदेशिक रोजगारमा जाने कुनै युवाले सुनेको हुन्छ उसले अब फ्रि भिसा, फ्रि टिकटमा विदेश उड्न पाउँछ ।

तर पैसा तिर्नु पर्दा खाडी मुलुकका लागि उसले एक लाख नगद म्यानपावर कम्पनीका मालिक र दलाललाई वुझाएकै हुन्छ । पहिले बरु पैसा तिरे वापत ८० हजार सम्मको भरपाई पाउँथ्यो अहिले एक लाख तिरेर १० हजारको भरपाई पाउँछ ।

अब यस कानुनले निराशा वाहेक अरु के नै उपहार दिन सक्छ ? नाम र ठेगाना अपराधिसंग मिल्दो जुल्दो भएकै कारण एक निर्दोष मानिसले वर्षौ जेलको सजाय काट्छ ? राजनीतिक दलका नेताहरुले निर्णय गरेपछि त्यो कानुन बन्छ । त्यो संविधान सरह हुन्छ । त्यसले सदनको फेस गर्न पर्दैन ।

दलभित्र बहुमत वा अल्पमतको निर्णय चाहिदैन । दल भनेको पार्टीको पहिलो नेताको वाउको विर्ता जस्तै हुन्छ । इन्स्टिच्युट अर्थात सँस्थाले होइन व्यक्तिले सँस्थामाथि शासन चलाउँछ । शक्तिशालीहरुको वचन र भनसुनमा अपराध मिनाह हुन्छ र सत्य काम पनि अपराध वन्छ ।

कर्म, योग्यता र ज्ञान भन्दा भक्तिभाव, चाप्लुसी, चाकडी, एस म्यान लाई शासनको लागि योग्य ठानिन्छ । यी सबै लक्षण र अवस्था असफल राज्यकै सुचक हुन् । जहाँ सँस्था, विधि र विधानलाई शासकको छाँया मुनि राखिन्छ त्यहाँ स्वभाविक असफलताले स्थान लिन्छ ।

शासनका हिसाबले गणतन्त्रका १० बर्ष पनि पूर्ण असफल रहे । पहिलो र दोस्रो संविधानसभाको लिगेसी देखाउदै शासन गर्न आएका दलहरु पनि पूर्ण रुपमा असफल रहे । कर्मचारीतन्त्र त्यस असफलताको मुख्य हिस्सेदार बन्यो ।

सुरक्षा निकाय स्वभाविक मौन बस्यो । राजनीतिक प्रणालीको डालोमा राखिएका धर्म निरपेक्षता, गणतन्त्र र संघियताले जनतालाई आकर्षित गर्न सकेनन् । इतिहासको रथ पछाडि फर्कन संभव छैन तर यहि शासन व्यवस्था र यीनै शासकबाट अगाडी बढाउने आशाका लागि पनि स्थान छैन ।

एक नयाँ विकल्प हरेक मानिसले चाहेको छ । लाखौं करोडौंको प्राथना कुनै विकल्प तयार होस भन्ने छ तर उनीहरुको प्राथनाले जन्म हुने शासक र शासन ब्यवस्थाको निर्धारण भइसकेको छैन ।

Loading...