• Thursday 30th , March 2017 | बिहिबार, चैत्र १७, २०७३

‘समाजसेवी र व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्छ’- चाैलागार्इ

नविन चौलागाई सामाजिक सेवाको क्षेत्रमा विश्वभरि क्रियाशिल लायन्स क्लवमार्फत निरन्तर समाजसेवामा आवद्ध एक सफल व्यवसायी हुन् । हाल करिव १ दर्जनभन्दा बढि सामाजिक संस्थाहरुमा आवद्ध चौंलागाई आन्तरिक पर्यटन व्यवसायलाई समेत विकाश र विस्तारमा चासो राख्ने गर्दछन् ।

छोटो समयमा गुणस्तरीय सेवा प्रदान गरेवापत सरकारी निकायबाट समेत सम्मानित चौलागाईसंग एशियन समाचारका लागि नरेश न्यौपानेले गरेको संक्षिप्त कुराकानीः

 हाल तपार्इहरुले संचालन गरिरहेका समाजसेवाका गतिविधिहरु के के हुन् ?

हामीले लाइन्स क्लवमार्फत गत भदौमा सिन्धुपाल्चोकको श्री महाकाली मा.विमा खानेपानीका ट्यांकी वितरण र शैक्षिक सामग्रीहरु वितरण गर्यौं । धुर्मुस सुन्तली फाउण्डेशनमा आवद्ध भई दुईदिन लाइन्स क्लव मार्फत नै श्रम सेवा गर्यौं । त्यस्तै वाणगंगा समाज सुधार समिति मार्फत मध्य वानेश्वर क्षेत्रमा करिव १०० घरका उपभोक्ताहरुमा फोहोरमैला सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरिसकेका छौं ।

यो संगै पदम कुमारी श्रद्धा प्रतिष्ठानलाई मैले व्यक्तिगत रुपमा १ सेट ३ सिटे स्टिल कुर्ची बुवाको नाममा सहयोग प्रदान गरेको थिएँ । यो वाहेक लाइन्स क्लव मार्फत नै पत्रकार कर्ण बोहराकी मृगौला पिडीत श्रीमतीलाई रु ३० हजार सहयोग गरेका छौं । त्यस्तै जन्मदेखि अपाङ्ग एकजना व्यक्तिलाई रु १५००० सहयोग गरेका छौं । असोजमा गोकर्णेस्वरमा कुशे औंशिका दिन श्रद्धालु भक्तजनहरुलाई पानी र जुस वितरण गरेका थियौं । हामीले गर्ने समाजसेवाका गतिविधिहरु प्रायः यस्तै प्रकारका हुन्छन् ।

यि त तपाईहरुले गरिसकेका काम भए, आगामी दिनमा कस्ता काम गर्ने योजना बनाउनु भएको छ ?

हामीले अव ३ महिनाभित्र सिन्धुपाल्चोकमा हेल्थ क्याम्प गर्ने योजना बनाएका छौं । त्यहाँ शैक्षिक सामाग्री वितरण पनि गरिनेछ । तरार्इमा यहि महिनाको १५ गतेभित्र (चन्द्रनिगाहपुर) जाडोका लुगा, ब्लांकेट, लुगा लत्ता वितरण गर्छाैं । त्यस्तै HIV AIDS पिडितहरु, वृद्धावृद्धाहरु, पिडित वालवालिकाहरु, अपांगहरु, असहायहरुको अवस्था हेरी सक्दो सहयोग गर्ने योजना छ । त्यस्तै, सार्वजनिक सवारी साधनबाट निस्कने फोहोरहरुलाई व्यवस्थापन गर्नका लागि सरकारी मापदण्ड अनुसार जनचेतना जगाउने काममा लागिरहेका छौं ।

तपाइहरुले लप्सीफेदीमा शुरु गर्न लाग्नुभएकाे पर्यटकीय रिसोर्टको बारेमा बताइदिनोस् न ।

काठमाण्डौंबाट करिव ३० कि.मि टाढा र सिन्धुपाल्चोकको सिमानामा पर्ने लप्सीफेंदीमा पर्यटन व्यवसायलाई थप टेवा पुर्याउने उद्देश्यले एउटा पर्यटकीय रिसोर्ट स्थापना गरिसकेका छौं । यसको नाम  ‘नेशनल माउन्ट भ्यु होटल एण्ड ग्रिन पिस रिसोर्ट’ राखिएको छ । यसको स्थापना हामी सबै सामाजिक सेवामा आवद्ध भएका १५ जना युवा व्यवसायी मिलेर गरेका छौं । यस रिसोर्टको उद्देश्य आन्तरिक पर्यटन व्यवसायलाई प्रवर्धन गर्ने नै हो ।

तपाई शूरुमा यो लाइन्स क्लवमा कसरी जोडिनु भयो ?
शुरुमा मलाई यो लाइन्स क्लव त्यस्तै हर्वाे र युनिटी जस्तो नेटवर्किङ्ग व्यवसाय गर्ने कम्पनी जस्तो लागेको थियो । तर खास के रहेछ भनेर साथिहरुसंग बुझ्दा यो त नितान्त सामाजिक सेवा प्रदान गर्ने अन्तराष्ट्रिय संस्था रहेछ । आफु पनि सानैदेखि समाजसेवामा रुची भएकोले मेरो उद्देश्यसंग मेल खान पुगेपछि यसमा आवद्ध भएको हुँ । यसमा आवद्ध भइसकेपछि म रातदिन नभनी समाजसेवामै तल्लीन छु । आज फर्केर हेर्दा करिव १४ महिना म यस क्लवमा आवद्ध भएको पुगिसकेको छ । समाजसेवामा लाग्न पाउँदा मन प्रफुल्लित हुने रहेछ ।

आफ्नो व्यवसायका अतिरिक्त समाजसेवालाई कसरी समय व्यवस्थापन गर्नु सक्नुभएको छ ?

समय भन्ने कुरा चाहयो भने ‘जहाँ इच्छा त्यहाँ उपाय’ रहेछ । हामिले गर्ने समाजसेवा पनि सामुहिक नै हो । समुहमा काम गर्दाको आनन्द नै वेग्लै हुन्छ । जहाँसम्म तपाइले भन्नुभए जस्तो व्यवसायमा मैले कसरी समय दिन्छु भने, त्यहाँ पनि मेरो विश्वाशिलो एउटा टिम छ । विश्वासको आधारमा काम गर्ने हो । वेल म्यानेज भए पो वेल विजिनेश हुने हो । टिमलाई राम्रो प्रणालीमा व्यवस्थापन गराइदिन सके सफल भइन्छ ।

एक समाजसेवी तथा व्यवसायीका दृष्टिकोणमा नेपालको पछिल्लो परिवेशलाई कसरी नियालीरहनुभएको छ ?

नेपालमा समाजसेवा गर्न चाहनेको कमि छैन तर देशको अवस्थाले गर्दा यो काम प्रभावकारी बन्न सकेको छैन । समाजसेवा गर्न खोज्नेहरुलाई समेत सहज वातावरण छैन । ठाउँ ठाउँबाट छेकबार गर्ने गरिन्छ । त्यस्तै व्यवसायको हकमा पनि व्यवसायहरु सुरक्षित रुपमा गर्न सकिने अवस्था छैन । समाजसेवा गर्नेलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन भने व्यवसायीलाई चन्दा आतंकबाटै व्यवसायबाट विमुख गराउन खोजिन्छ ।

 त्यसो भए समाजसेवा र व्यवसाय दुवैलाई सम्मानित र प्रभावकारी बनाउन के गर्नु पर्ला ?
यो त राज्यको दायित्व हो । समाजसेवा गर्नेहरुलाई प्रोत्साहन र हौसला मात्रै होइन आवश्यक पर्दा सहयोग गर्नुपर्छ । त्यस्तै व्यवसायमा हुने अवरोध हटाई व्यवसायी हक हितको सुरक्षा हुनुपर्दछ । राज्यले यसमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।