• Friday 26th , May 2017 | शुक्रबार, जेष्ठ १२, २०७४

पूर्वराजाको वक्तव्य वारे पत्रकार धु्रबहरी अधिकारी र देवप्रकाश त्रिपाठीको विश्लेषण


काठमाडौं ,  पूर्वराजा ज्ञानेन्द्रले कुनै समय सन्दर्भ विना अचानक जारी गरेको वक्तब्य नेपाली मिडियाका लागि हट केक वनेको छ । पूर्वराजाको सिंगापुर, थाइल्याण्ड र चीन भ्रमण पछि आएको यस वक्तव्यलाई गंभिर र अर्थपूर्ण रुपमा हेरिएको छ ।

पूर्वराजा शाह चीनबाट आईसकेपछि र उनले वुधवार वक्तव्य जारी गर्नु अघि नै बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले लेखक,स्तम्भकार र सम्पादकहरुसंग निर्मल निवासको सक्रियतावारे चिन्ता मिश्रित व्रिफिङ गरेका थिए ।

सिमांकन विवादमा रुपन्देहीमा एक जनाले ज्यान गुमाईसकेका छन् भने यस अघि कैलाली र सुर्खेतका त्रासदीपूर्ण घटनाहरु पनि अस्थिरताकै जगमा जन्मिएका थिए । संसदीय राजनीतिक दलहरुप्रति जनतामा वढ्दो वितिष्णा, अस्थिर शासन ब्यवस्था र साम्प्रदायिक मनोविज्ञानको वढ्दो विभाजनलाई हेरेर पूर्वराजाले जारी गरेको वक्तव्यलाई धेरैले उनको पुनरागमनसंग जोडेर हेरेका छन् ।

आखिर के हो त वक्तव्यको आशय ? दरबारको मामिलामा जानकार एकजना वरिष्ठ पत्रकार धु्रवहरी अधिकारीको विश्लेषणमा वक्तव्य गंभिर र अर्थपूर्ण छ र यसका पछाडि कसैको वलियो ब्याकिङ् छ । कसैको बलियो ब्याकिङ भन्ने शब्दमा उनले उत्तरी छिमेकी चीनलाई इंगित गरेका छन् ।

पत्रकार अधिकारीले भने उनको भेट्घाट भारतीय र चीनियाहरुसंग भइरहन्छ । तर सत्ताबाट वाहिरिएपछि पूर्वराजा आफै चीन गएको पहिलो पटक हो । चीनसंग सामान्य सत्ताबाहिर रहँदाको भलाकुसारी गर्न ज्ञानेन्द्र शाह गएनन् र सायद त्यत्तिका लागि चीनले पनि बोलाएन होला पत्रकार अधिकारीले भने ।

उनको विश्लेषणमा नेपालमा भारतीय प्रभाव अनपेक्षित बढेपछि चीनसंग दुईटा विकल्प वाँकी रहे या त ऊ तिब्वतको सुरक्षाका खाँतिर आफै आउनु पर्यो वा कसैलाई उभ्याउनु पर्यो ? आफु आउनुभन्दा उभ्याउनु नै उपयुक्त ठानेर होला पूर्वराजालाई केहि स्पेश दिन खोजेको संकेत ।

चीन इतिहासमा बलियो गरि नेपालको मामिलामा अडान लिएको रेकर्ड छैन भन्ने कुरामा पत्रकार अधिकारीले भने अब वेइजिंग निकै अगाडि छ र नेपालको हकमा उसका लागि आफै आउने वा अरुलाई उभ्याउने भन्ने विकल्पमा आक्रामक चरण आईपुग्यो ।

तर नेपालका कतिपए मिडियाले काँग्रेस नेता खुमबहादुर खड्का संगको भेटपछि पूर्वराजा हौसिएको औंल्याएका छन् । पूर्वराजाको वक्तव्य र खुमबहादुर खड्का वीच कुनै तादम्य छ ? घटना र विचार साप्ताहिकका सम्पादक एवं वरिष्ठ पत्रकार देबप्रकाश त्रिपाठी भन्छन् ।

यो सरासर षड्यन्त्र हो खुमबहादुर खड्का र पूर्वराजा बीच यस वीचमा कुनै भेटघाट भएकै छैन । पूर्वराजाले राष्ट्रियता बारे मत राखे त्यो उनको कुरा हो । खुमबहादुरसंग आफ्नै पार्टी छ । पूर्वराजासंग आफ्नै परम्परा छ ।

यस वक्तव्यमा उहाँहरु दुई जना वीच कुनै साइनो छैन । त्रिपाठी काँग्रेस नेता खड्कासंग लामो समय निकट सम्वन्धमा रहेका पात्र हुन् ।

नेपालमा भारत विरुद्ध वेला बखत चाइना कार्ड प्रयोग गर्ने अवस्था समेत नरहने गरि वर्तमान सरकार दक्षिण झुकावमा पुगेपछि चीनले विश्वसनिय पात्र खोज्ने क्रममा पूर्वराजालाई पनि एउटा विकल्प ठानेको हुनसक्ने विश्लेषण गरिएका छन् ।

यद्यपि सक्रिय जनाधार नहुनु, राज्यसंयन्त्र पकड वाहिर जानु र इतिहासको पुनरावृत्ति असंभव हुनुले पूर्वराजाको पुनरोदय भने त्यति सहज छैन ।