• Thursday 30th , March 2017 | बिहिबार, चैत्र १७, २०७३

बार्यन म्युनिखको बुन्डेसलिगामा आरबी लाइपजीगमाथि महत्वपूर्ण जित

काठमाडौं,   बार्यन म्युनिखले बुन्डेसलिगामा आरबी लाइपजीगमाथि महत्वपूर्ण जित हात पारेको छ । र, विन्टर ब्रेक अगाडि ३ अंकको प्रष्ट अग्रता लिएको छ ।

बुधबार राति भएको खेलमा बार्यन म्युनिखले १० खेलाडीमा सिमित लाइपजीगलाई ३–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्यनले १७ औं मिनेटमा थिएगोको गोलबाट अग्रता लिएको थियो ।

२५ औं मिनेटमा जाभी एलोन्सोले गोल गर्दै बार्यनको अग्रता दोब्बर पारे । खेलको ३० औं मिनेटमा नै फोसबर्गले रातो कार्ड पाए र १० खेलाडीमा सिमित हुन पुग्यो ।

४५ औं मिनेटमा पाएको पेनाल्टीमा रोबर्ट लेभान्डोस्कीले गोल गर्दै बार्यन म्युनिखले ३–० को अग्रता लियो । दोस्रो हाफमा लेभान्डोस्कीको दुई गोल गर्ने प्रयासलाई असफल पारेको लाइपजीगले थप गोल हुन दिएन ।

बुन्डेसलिगामा यसै सिजन डेब्यू गरेको लाइपजीगले अहिलेसम्म दुई खेल मात्र गुमाएको छ । सन २००९ मा रेडबुलले एसएसभी मार्करान्सटार्डको लाइसेन्स लिएपछि नाम परिर्वतन ग¥यो र लाइपजीगले ७ वर्षमा ठूलो फड्को मार्दै शीर्ष क्लबलाई चुनौती दिएको छ ।

राल्फ हजनहटलको प्रशिक्षणमा रहेको लाइपजीगले गत सिजनको उपविजेता बोरुसिया डर्टमुन्डमाथि सहित ११ माथि जित हात पारेको छ । र, १६ खेलबाट ३६ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको बार्यनको ३९ अंक भएको छ ।