• Friday 24th , March 2017 | शुक्रबार, चैत्र ११, २०७३

सुरूङमार्गका लागि जापानले ऋण दिने

काठमाडौं, काठमाडौंको सीतापाइलाबाट धादिङको नौबिसेसम्मको सुरुङ मार्ग बनाउन जापानले १५ अर्ब २८ करोड रुपैयाँ ऋण दिने भएको छ ।यस सम्बन्धी सम्झौतामा अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासाकी ओगावाबिच बिहीबार हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार सुरुङ खन्न जापानले जाइका (जापानी सहयोग नियोग) मार्फत नेपाललाई १५ अर्ब २८ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भइकाे छ । यो सहुलियतपूर्ण ऋण प्राप्त भएसँगै नेपालमै पहिलो पटक सडकमा आधारित सुरुङ निर्माणको काम अघि बढ्ने सरकारले जनाएको छ ।

निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो सुरुङ मार्ग बनेपछि सीतापाइला–नौबिसेको दूरी २० मिनेटमा झर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।