• Monday 24th , April 2017 | सोमवार, बैशाख ११, २०७४

‘कम्युनिष्टले माओवाद र मार्क्र्सवादको बेईज्जत गरे’- भीम कडायत

केही दिनअघि मात्र डा. बाबुराम भट्टराईको नयाँ शक्तिमा प्रवेश गरेका भीम कडायतले सुदुरश्चिमको कम्युनिष्ट आन्दोलनका लागि जग निर्माण गर्ने कार्यमा महत्वपूर्ण भुमिका खेल्ने प्रभावशाली नेता हुन् ।

पञ्चायती निरंकुशताका विरुद्ध धावा बोलेको स्मृति

नेता कडायत झापा विद्रोहपछि नेकपा मालेका गतिविधि तीव्र बन्दै गएका बखत आफ्नो गृह जिल्ला अछाममा जिल्ला पार्टी सक्रिय दल २०३८ सालमा गठन गरि पञ्चायती निरंकुशताका विरुद्ध धावा बोलेको स्मृतिमा ताजै रहेको बताउँछन् । उनी आफू लगायत त्यतिबेलाका बामपन्थि विचार बोक्ने गोकुल खनाल र भवानी उपाध्यायले अछाममा कम्युनिष्ट पार्टी संगठन र निर्माणमा लागि विचार गरेको अहिले सम्झन्छन्  ।

संगठनमा लागेका कारण शिक्षककाे जागिर छाेड्नुपर्दाकाे स्मरण

२०२८ सालदेखि २०४२ सालसम्म जिल्लाका महेन्द्र मा.वि बयालपाटा, अन्नपूर्ण मा.वि कालागाँउ, शारदा मा.वि विनायक र सोडसा मा.वि मंगलसेनमा प्रधानाध्यापक रही शिक्षण पेशामा संलग्न रहेपनि नेता काडायतको पहिलो प्राथमिकतामा अछाम बामपथी आन्दोलनको विकाश र विस्तार नै रहेको देखिन्छ । २०४० पछि बनेको नेकपा मालेको जिल्ला संगठन कमिटीमा नेतृत्वदायी भुमिका निर्वाह गरेका कडायतले २०४३ सालमा पार्टिका तर्फबाट पञ्चायतका विरुद्ध जनपक्षीय उम्मेदवारी दिएका थिए । २०३६ को जनमत संग्रहपछि नेपाल राष्ट्रिय शिक्षक संगठनको अछाममा पहिलो पटक कमिटी गठन गरेका कडायत लगायतका १४ जना शिक्षकलाई ‘बहुदल पक्षमा लागेको’ कारण पञ्चायतले शिक्षकबाट बर्खास्त गरेको थियो । शिक्षक पेशाबाट बर्खास्तीपछि २०४७ /०४८ तिर भएको नेकपा एमालेको प्रथम जिल्ला अधिबेशनबाट कडायत निर्विरोध पार्टी प्रमुख भए ।

आफ्ना तत्कालिन समकक्षी नेताहरु गाेकुल खनाल, बल ब. सोडारी, भन्कर रावल, नवराज खनाल, नरराज खनाल लगायतको नेतासरहको पार्टि निर्माणमा महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै २०४४ सालमा पूर्व मन्त्री जगत बोगटीलाई आफूले पार्टीमा संगठित गरेको दावी उनको छ ।

  पार्टीकाे प्रथम जिल्ला अधिवेशनमा निर्विरोध पार्टी प्रमुख चुनिंदाकाे समय

अछाममा पार्टीकाे प्रथम जिल्ला अधिवेशन ०४७/०४८ तिर निर्विरोध पार्टी प्रमुख चुनिएका कडायत पार्टीको पाँचौ महाधिवेशनबाट केन्द्रिय सदस्य र सेती अञ्चल प्रमुखको जिम्मेवारी सम्हाल्न पुगे । तर, छैटौ महाधिवेशन पछि अछामको पार्टिी संगठनसंग बर्तमान एमाले उपाध्यक्ष भिम रावल जोडिनु र नेकपा एमाले फुट्नुको संयोगले आफूलाई नेकपा मालेको जिल्ला कित्तामा उभ्याईदिएकाे कडायत सम्झन्छन् । भन्छन् – “मालेले पार्टी फुटेपछि केन्द्रिय सदस्य र अञ्चल प्रमुख बनाएका बेला बर्तमान एमाले नेताहरु महेश्वर पाठक, हिक्मत शाह, मोहन बम, भानुभक्त जैशीहरु उनको कमिटिका सदस्य रहेका थिए । २०५६ को आम निर्वाचनमा पार्टी फुटेका कारण सेती अञ्चलमा दुवै पार्टी निल भएपछि एकिकरणको सवाल जोडले उठेको र एकीकरणपछि पार्टीले आफुसंग सल्लाह नै नगरी अञ्चल सदस्यको जिम्मेवारी दिएको भएतापनि आफूले अस्विकार गरेकाे कडायत बताउँछन् ।

आफ्नै नेतृत्वमा पार्टी स्थापना गर्नु पर्दाकाे बाध्यता

२०५६ पछि करिव ५ बर्ष पार्टीमा निष्कृय रहेका कडायतले यसैक्रममा २०६२/०६३ को जनआन्दोलनमा प्रजापरिषद्कै तर्फबाट सहभागी हुँदा राजधानीको बसन्तपुरबाट पक्राउ परेका कडायत स्थापित राजतन्त्रप्रति लचक देखिन थालेपछि आफ्नै नेतृत्वमा लोकतान्त्रिक गणतान्त्रिक मोर्चा नेपाल नामक पार्टी स्थापना गर्नुपर्ने बाध्यता परेको बताउँछन् । ४२ जनाको केन्द्रिय समिति रहेको आफ्नो नेतृत्वको पार्टी आवद्ध साथिहरुकै निष्कृयताका कारण लोकतान्त्रिक गणतन्त्रको मुद्धा ओझेलमा परेपछि २०६४ मा एमाओवादीसंग एकता गरिएको कडायतको तर्क छ ।

पार्टी र नेताहरु सिद्धान्तबाट च्युत हुँदै गएकोले आफू बाहिरिनु परेको गुनासाे

उतिवेला माओवादीले हजारौँ शहीदको सपना बमोजिम नेपालमा वास्तविक गणतन्त्र कार्यन्वयनमा देखिएर आफू त्यसप्रति आकर्षित भएपनि कालान्तरमा माओवादीहरु निम्न पुजिबादी चिन्तनले ग्रसित हुन पुगेपछि आफूलाई उकुसमुकस हुन थालेको कडायतले बताए । माओवादीले युद्धमा केन्द्रिय सल्लाहाकारको भूमिका दिए पनि पछि पोलिटब्युरो सदस्य बनाएको तर पार्टी र नेताहरु सिद्धान्तबाट च्युत हुँदै गएकोले आफू बाहिरिनु परेको उनको गुनासो छ । ‘पार्टी छोडि हाल्नु नहुने नि ? ‘भन्ने प्रश्नमा कडायतले -‘ आफूलाई पद दिएकै थियो नि । आफूले मात्रै पद पाएर के गर्ने सिंगो पार्टी विघटनतर्फ झर्नु र सिद्धान्तबाट पलायन भएर कांग्रेस, एमाले जस्तै बन्नाले आफूलाई विरक्त बनायो ।’

नयाँ शक्तिमा प्रवेश गर्ने निर्णय

‘ त्यत्रो जीवन बामपन्थी आन्दोलनमा साम्यवाद ल्याउन हिडेको मान्छे कम्युनिष्ट विचारधारा नै नबोकेको नयाँ शक्तिमा जोडिने निर्णय कसरी गर्नुभयाे ? भनेर प्रश्न गर्दा कडायतको सिधा उत्तर छ -‘माओवादीमात्रै होईन नेपालका कम्युनिष्टहरु नेपाली जनताको गरिबी बेचेर धनाड्य वर्गमा रुपान्तरण भए, सत्ता र सम्पत्तिमाथि चुर्लुम्म डुवेपछि विकल्पकाे रूपमा नयाँ शक्ति रोजेको हुँ ।’

नयाँ शक्तिको कुन कुराले आकर्षण गर्यो  ? भन्ने थप प्रश्नमा कडायत भन्छन्, मलाई बाबुराम भट्टराईको पुरा विश्वास छ, उनी केही काम गर्ने व्यक्ति हुन् । अरुले कुरा मात्रै गरे । नयाँ शक्तिका सम्बृद्धि, शुशासन र सदाचार जस्ता मुद्धाहरुले मलाई खास आकर्षण गरेको हुन् ।

(भर्खरै मात्र माअाेवादी केन्द्र छाेडी नयाँ शक्तिमा प्रवेश गरेका प्रभावशाली नेता भीम कडायतसंग एसियन समाचारका लागि नरेश न्यैपानेले गरेकाे कुराकानीमा अाधारित )