• Friday 24th , February 2017 | शुक्रबार, फाल्गुन १३, २०७३

राजतान्त्रिक सँस्कार पछ्याउदै दरबारको भग्नावशेष विरुद्ध जेहाद किन ?

अजय स्पात,  दलहरुले संसद पुनसर्थापना देखि अहिलेसम्म राजतान्त्रिक सँस्कार बचाउन कुनै कसर बाँकी राखेका छैनन् । गिरिजाप्रसाद कोइरालाको वेवि किङ देखि प्रचण्डको कल्चरल किङका विगत अभिव्यक्तिहरुलाई जनताले यति चाँडै विर्सेका छैनन् ।

जन आन्दोलन विरुद्ध राज्यको सम्पत्तिमाथि बह्मलुट गर्ने कमल थापाहरु, पञ्च्यायतको वकालत गर्ने पशुपति शमशेरहरु आजको सरकारका निर्णायक ब्यक्ति छन् र गणतन्त्रका रक्षक पनि ।

जनआन्दोलन विरुद्ध अजय पि नाथका नाममा अखवारहरुमा लेख रचना सार्वजनिक गर्ने रुक्माङ्गद कटवालहरु गणतन्त्रको प्रधानसेनापति वने बरु उनका अगाडि गणतन्त्रका अगुवा प्रचण्ड स्वयं पराजित वने ।

दरबारको हुकुम प्रमाङ्गी देखिका विवादास्पद पात्र रायमाझी आयोगका दोषि लोकमान सिंह कार्की अख्तियार प्रमुख बने, विवादित पात्र दुर्ज कुमार राइ शसस्त्र प्रहरीको प्रमुख बने ।

पञ्च्यायतमा कम्युनिष्ट विरुद्ध जमेर लागेका कैंयौ सुर्यबहादुर सेन ओलीहरुलाई माओवादीले सांसददेखि संवैधानिक नियुक्तिमा ल्यायो । ओहोदामा गइसकेपछि यसमध्यका अधिकाँश पात्रले राजतन्त्रकालिन प्रवृत्ति देखाए र त्यो सँस्कार गणतन्त्रमा पनि सर्यो ।

अहिलेको गणतन्त्र र यसका शासनकर्ताहरु यति भल्गर वनेकि यो भन्दा सायद राजतन्त्र केहि हदसम्म मर्यादित थियो मानिसहरुलाई यो महशुस छ । इतिहासमा नेपाल यति दलालीकरण र लम्पसारबादको शिकार सायद कहिल्यै बनेको थिएन ।

वर्तमानको क्रोनि क्यापिटालिज्म अर्थात भाइभतिजाबादी पुँजीवाद अझ भनौ नातावादको यति विध्न वोलवालाले राजतन्त्रका आसेपासेहरुको तडक भडक विर्साइदिएको छ ।

पैसा पाउने निश्चित भए राजतन्त्रकालिन सबै पात्रहरुलाई राजनीतिदेखि संवैधानिक नियुक्ति र कर्मचारीतन्त्रदेखि सुरक्षासंयन्त्रसम्म महत्वपूर्ण जिम्मेवारी दिन हुने केहि नपाएपछि समाप्त भएको राजतन्त्र र भग्नावशेषमा परिणत दरबार विरुद्ध गर्जिदै मरेको बाघको जुँगा उखेल्ने शैलीमा सर्वसाधारणलाई तर्साएर शासनको आयु लम्ब्याउने यो कस्तो परिवर्तन हो महोदय ?

पूर्वराजाको एक वक्तव्यको सामना गर्न नसक्ने यो बालुवाको पर्खालजस्तो गणतन्त्र कहिले र कसरी जोगाउने ? नया राजा र पुराना राजामा के फरक ? पुराना युवराज र नव युवराजमा के फरक ? नयाँ दरबार र पुराना दरबारमा के फरक ? अब गंभिर प्रश्न तेर्सिएको छ ।

हिजोको स्वेच्छाचारी र मनपरि गलत आज दलका नाममा गरिने सिमित ब्यक्तिहरुको स्वेच्छाचारी र मनपरि सहि भन्ने कुरासंग कसरी सहमत हुन सकिन्छ ? आफुले दिल्लीमा २५ वुदे गर्दा पनि ठिक, एजेन्सीहरुसंग डिनर गर्दै मुलुक भड्खालोमा जाक्दा पनि ठिक पूर्वराजाले चीनसंग किन भेट्यो ? भाजपासंग किन भेट्यो ? दरबार हत्याकाण्डको प्रतिवेदन खोजी गर्नुपर्छ ? पूर्वराजालाई जेल हाल्नुपर्छ । न्यायलयमा उसकी छोरीको दाईजो छिन्नुपर्छ आदि इत्यादि प्रतिशोध साँध्ने ?

इतिहासको पुनरावृत्ति असंभव छ । राजतन्त्र नेपालमा फर्किने छैन । तर दलाल शासकहरुको एकलौटी र मनमौजी पनि सहन सकिने छैन त्यो अझ बढी यथार्थ हो । विरोधिहरुको मुखमा विर्को लगाएर मालिकहरुको इशारामा छमछमी नाच्दै हुँदा हुँदा नेपाली सेनालाई भारतीय सेनाको मातहत राखि शान्ती सेनामा पठाउने निर्णय पास गर्न वेर लगाउदैनौ तिमिहरु।

दलाली र चाकडीको हद हुन्छ । राष्ट्रप्रति न्युनतम माया हुन्छ । अराजनीतिक र अकुटनीतिक चरित्रकाहरुको हातमा पुगेपछि मुलुक यहि हालतमा पुग्दोरहेछ जुन हरेक नागरिकले आज भोगिरहेको छ ।

सिंगापुर र स्वीटजरल्याण्डका नारामा जनता लोभ्याएर मुलुकलाई कंगो बनाउने लोभी पापीको शासनमाथि धावा वोल्नुको विकल्प नागरिकसंग छैन । आफ्नो असक्षमता ढाक छोप गर्न र शासनसत्ताको आयु लामो पार्न दरबारको भग्नावशेष विरुद्ध जेहाद छेड्न वन्द गर ।

कागजी बाघहरुसंग अब कोहि तर्सिने छैन । जनता दलालहरुको बलमिच्याइ विरुद्ध सडकमा आउनुपर्छ र विदेशीले म्यादी बनाउदै राखेका कुर्सिहरुबाट गल हत्याएर एक कुशल शासकलाई सत्ताको चावी सुम्पने दिशामा अघि वढ्नुपर्छ आजको विकल्प यत्ति हो ।