• Saturday 21st , January 2017 | शनिबार, माघ ८, २०७३

कारिन्दा लोकमान हुन, उनको गालामा चड्कन दिने बहादुर


काठमाडौं,  सर्वोच्च अदालत भित्र रन्थनिने गरि गालामा झापड र अनुहारमा कालोमोसो दलिएको झण्डै २४ घण्टा पछि अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्की होसमा आएछन् ।

विहिवार अदालत परिसर भित्र आफ्नो वोक्रा उत्रिएपछि उनले लगत्तै राज्यको निकायका विभिन्न पक्षलाई बस्त्र उतार्ने अमुर्त धम्की सहितको वक्तव्य दिएका थिए । राज्यका कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिका सबैलाई आफ्नो नियन्त्रणमा राख्छु भन्ने उन्माद र घमण्डले बेलगाम भएका उनीमाथि अनपेक्षित प्रहार भयो ।

यस स्तरको असुरक्षा र झापड देखि कालोमोसोको उनले सायदै कल्पना गरेका थिए । उनले सुरुमा माओवादी शिविरको फाइल बाहिर ल्याउने वताएपछि माओवादी केन्द्रका नेता बर्षमान पुनले अख्तियारले बार्गेर्निङ गरेको टिप्पणी गरे ।

त्यस लगत्तै दिल्लीबाट फर्केका प्रधानमन्त्री पुष्प कमल दाहालले एमालेले अख्तियारलाई उकासेको तर कुरा मिलिसकेको वताएपछि पुनले भने झैं वार्गेनिङमा उच्च मोलमोलाई भएको आसंका आम मानिसहरुले गरे । त्यसपछि लोकमानले एमाले नेताहरुलाई निशाना बनाउदै छन् भन्ने हल्ला ब्यापक वन्यो ।

लोकमानको विषय अदालत पुगेपछि उनी लामो विदा लिएर मुलुकबाट वाहिरिए । उनको घरमा म्याद टाँसको बिषय पनि नेपाली न्यायलयका लागि इतिहासकै अविष्मरणिय जोक बन्यो । यसरी लोकमान प्रकरणका आरोह अवरोहहरु चल्दै थिए । मुलधारका केहि मिडियाहरु सुरुदेखि नै लोकमान विरुद्ध थिए ।

मिडिया मालिकहरुलाई पनि प्रतक्ष परोक्ष निशाना बनाउने धमिलो धम्की दिइरहे उनले । त्यसैमा गोविन्द के सी र अख्तियारको पनि शितयुद्ध चर्कियो । लोकमानले डा गोविन्द केसी लाई मानसिक रोगिको संज्ञा दिए । यसरी उनी एक पछि अर्को गरि सबैलाई थर्काउदै तह लाउन सकिने उच्च मनोवलमै थिए एक्कासी एमाले र माओवादी केन्द्रका केही सांसदहरुले उनीमाथि महाअभियोग प्रस्ताव दर्ता गराई दिए ।

सदन पक्ष विपक्षमा उभिनुपर्ने भयो । काँग्रेस अनिर्णयको वन्दी बन्यो र माओवादी केन्द्र पनि झण्डै दुई खेमा जस्तो देखियो । यहि वीच यसलाई अदालत मार्फत टुंग्याउने मनशायले सबै चुप लागेर विषय अदालतको मामिला वन्यो । अख्तियारमा उनको पकड कम हुँदै गए पनि नियुक्तिमा चासो देखाउने वाहिरी शक्तिको आडमा उनी तामझामपूर्ण रवाफमै रातो घरमा रहे ।

विस्तारै राज्यका सबै अंग र निकायहरु लोकमान अगाडि निरिह वन्दै गएको भान भयो । सुरु देखि नै लोकमान विरुद्ध उभिएको विप्लव माओवादीका कार्यकर्ताहरुले यहि समयमा उनीमाथि सर्वोच्च परिसर भित्रै झापड र कालोमोसो एकहोरो सेलिब्रेट गरे । सर्बोच्च भित्र यस किसिमको कम्प्लीमेन्ट्री तोहफा स्वरुप आउने छ भन्ने कसैले अनुमान गरेका थिएनन् ।

त्यो एक आकस्मिक र अनपेक्षित घटना भयो उनका अंगरक्षक र सर्वोच्च सेक्युरिटीका लागि पनि । कालोमोसो राम्ररी धोइ पखाली फ्रेस भइसकेपछि उनले आफु माथिको दाग पखाल्न आक्रामक योद्धाहरुलाई कारिन्दा भन्दै उनीहरुको रिहाइ गरिदिन सुरक्षाकर्मीलाई आग्रह गरे । लोकमानको दरबार प्रवेश देखि शाही शासनको मुख्य सचिव हुँदै अख्तियार प्रमुखसम्मका घटनाक्रममा उनले गरेका चाकडी र उनलाई प्राप्त हुकुम प्रमाङ्गीले नै प्रष्ट पार्छ उनी सवै ओहोदामा पुग्दा कारिन्दाकै रुपमा पुगे ।

स्वदेशीदेखि विदेशीको कारिन्दा वनेका उनलाई सायद कारिन्दा शब्दको ज्ञान थियो वक्तव्यमा त्यहि लेखे । क्रान्तीमा, विद्रोहमा र अत्याचार विरुद्धको मोर्चामा लड्ने सिपाहि कहिल्यै कारिन्दा वनेको इतिहास छैन । मैदानको सिपाहिलाई मालिकको सीता खाने र सोहि वमोजिमको गिता गाउने हतारो कहिल्यै हुँदैन जसरी लोकमानलाई थियो ।

भ्रष्टाचार विरुद्ध आफु उभिएको दावी गर्ने लोकमानमाथि तमाम अनियमितताका आरोपहरु छन् । उनले हात हालेका क्षेत्र, मेडिकल कलेज देखि कर्मचारीतन्त्र हुँदै ब्यापारिक घरानियाहरु पनि प्रतक्ष परोक्ष आफ्नो कुरा सतहमा ल्याउन तयार भए उनीबाट कसैको बस्त्र निकाल्ने भन्दा पनि उनकै वोक्रा अझ उत्रने छ ।

Loading...