• Wednesday 18th , January 2017 | बुधबार, माघ ५, २०७३

परमाणुलाई वढावा दिने ट्रम्पको संकेत


नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले विश्वमा परमाणु प्रतियोगितालाई वढावा दिने संकेत गरेपछि विश्व एक पटक भयानाक युद्धको त्रासदीबाट गुज्रने विश्लेषण गरिएको छ ।

ट्रम्पले पोष्ट गरेको १सय ४० शब्दको ट्विटमा अमेरिका परमाणु विस्तारमा लाग्नुपर्नेमा जोड दिइएको छ । उनको ट्विटले दशकौं देखि रिपव्लिकन र डेमोक्र्याट राष्ट्रपतिहरुले परमाणु हतियार कम गर्ने कोसिश गर्दै आएको ब्यवहारिक प्रतिवद्धतामाथि विराम लगाएको छ।

यस अघि रिपव्लिकन र डेमोक्र्याट जुनसुकै राष्ट्रपति अमेरिकी रक्षा र रणनीतिमा आणविक हतियारको भूमिका कम गर्ने पक्षमा थिए । तर ट्रम्पले आफ्नो परमाणु क्षमता तिव्र गतिमा वढाउनु पर्नेमा जोड दिए ।

शुक्रबार अपरान्ह उनले गरेको ट्वीट संभवतया रुसी राष्ट्रपति भ्लाद्मीर पुटीनको भाषणको जवाफमा आएको हुनसक्ने अनुमान गरिएको छ । पुटीनले मस्कोमा सैन्य नेतृत्वलाई आह्वान गर्दै रुसले परमाणु मिसाइल प्रणाली मजवुत वनाउनुपर्ने वताएका थिए ।

सो भाषणबारे विश्वका सैन्य जानकार र सरोकारवाला मुलुकहरुबाट कुनै प्रतिक्रिया नआउँदै ट्रम्पले ट्वीट मार्फत जवाफ दिए । यस ट्वीटलाई ओबामा प्रशासनको रक्षा रणनीति विरुद्धको ठूलो बदलावका रुपमा हेरिएको छ । ओवामा प्रशासन परमाणु हतियार कम गर्दै जाने र भविष्यमा त्यसलाई निस्तेज गर्ने लक्ष्यमा केन्द्रीत थियो ।

ट्रम्प ट्वीटमा भनिएको छ जबसम्म परमाणु हतियारबारे विश्वलाई सद्वुद्धि आउने छैन तबसम्म अमेरिकाले आफ्नो परमाणु क्षमतालाई मजवुत र विस्तार गर्न जरुरी छ । परमाणु हतियारको मुद्दामा ट्रम्पको ट्वीट आउनु एक दिन अघि पेन्टागनले शिर्ष जनरलहरुसंग संवाद गरेको थियो ।

उक्त संवादमा रणनीतिक प्रतिरोधक क्षमता एवं परमाणु एकिकरणका डेपुटी चिफ अफ स्टाफ र वायुसेनाका लेफ्टीनेन्ट जनरल ज्याक वीनस्टीन पनि सहभागी थिए । यद्यपि ट्रम्पको यो ट्वीट विवादित वनेको छ ।

अमेरिकी परमाणु हतियार प्रसारलाई लिएर यस ट्वीट माथि अमेरिकी सांसद जोन टियरले चिन्ता व्यक्त गरे । उनी अमेरिकाको हतियार नियन्त्रण तथा अप्रसार केन्द्रका कार्यकारी निर्देशक पनि हुन् ।

उनले भनेका छन् १ सय ४० अक्षरको ट्वीट मार्फत अमेरिकामा एक ठूलो वदलावको घोषणा गर्नु नव निर्वाचित राष्ट्रपतिका लागि खतरानाक छ । विद्यमान परमाणुको आधुनिकीकरण र त्यसको ब्यवस्थित स्टोरेजको बढ्दो खर्चको सामथ्र्यलाई लिएर पेन्टागनले पहिले नै चिन्ता व्यक्त गरिसकेको छ ।

यस ट्वीटको अर्को खतरानाक पक्ष के छ भने यसले अमेरिका–रुस हतियार सम्झौता तोडिनसक्छ । त्यो सम्झौता तोडिन वित्तिकै विश्वमा परमाणु प्रतियोगिताको अनियन्त्रित माहौल सुरु हुन सक्छ । विश्व हतियारको होडमा प्रवेश गर्दा करोडौं मानिसहरु फेरि युद्धभूमिको आगोमा लपेटिने छन् ।

अमेरिकी सांसद जोन टियरले ट्रम्पको वक्तव्यले रुससंग अमेरिकाको प्रमुख हतियार नियन्त्रण सन्धीलाई उल्लंघनको स्थितीमा ल्याउन सक्ने चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन् यदि त्यसो भयो भने दुबै देश रुस र अमेरिकामा परमाणु होड सुरु हुने छ । अहिले रुस र अमेरिकासंग सबैभन्दा वढी परमाणु हतियार छ ।

त्यसपछि व्रिटेन,फ्रान्स र चीन अग्रस्थानमा छन् । विशेषज्ञहरुका अनुसार रुस र अमेरिकावीच परमाणु होड सुरु भए विश्वका कुनैपनि देशलाई यस दौड र होडबाट रोक्न सकिने छैन । त्यस्तो होडमा उत्तरकोरिया, इरान, इजरायल, पाकिस्तान लगायतका देशहरु दौडिन सक्नेछन् ।

विश्वमा परमाणु वमहरुको स्थिती
को संग कति छ परमाणु हतियार
स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टीच्युटको रिपोर्ट अनुसार

यतिवेला विश्वका ९ ओटा मुलुकसंग मात्रै १६ हजार ३ सय परमाणु वम उपलब्ध छन् ।
रुससंग ८०००।
अमेरिकासंग ७३००। परिक्षण १९४५।
फ्रान्ससंग ३००। परिक्षण १९६०।
चीनसंग २५०। परिक्षण १९६४।
व्रिटेनसंग २२५। परिक्षण १९५२।
पाकिस्तानसंग १२०। परिक्षण १९७३।
भारतसंग ११०। परिक्षण १९७४।
इजरायलसंग ८०। अरब मुलुकमा तीन पटक युद्ध,
उत्तरकोरिया संग १०। परिक्षण २००६।
यो स्टकहोमलाई उपलब्ध भएको आणविक हतियार हो । यसका अतिरिक्त गोप्य रुपमा कसले कति विकास गर्यो भन्ने एकिन गर्न कठिन छ ।

Loading...