• Saturday 25th , February 2017 | शनिबार, फाल्गुन १४, २०७३

महिला साफ च्याम्पियन: नेपालद्धारा भुटान ८ गोलले पराजित

काठमाडौं- चौथो महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले भुटानमाथि शानदार जित दर्ता गरेको छ ।

भारतमा जारी चौथो महिला फुटबल साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई ८ गोल अन्तरले पराजित गरेको हो। खेलको पाँचौ मिनेटबाट गोल गर्न शुरु गरेको नेपालले ७६औं मिनेटसम्म गोल गरिरह्यो ।

नेपालका लागि सावित्रा भण्डारीको दोहोरो ह्याट्रिकसँगै गोलको बर्षा नै भयो। खेलको ५ औँ मिनेटमा नेपाली महिला टोलीलाई अग्रता दिलाएकी सावित्रा भण्डारीले ९, २२, ३५, ६८ र ७६ औँ मिनेटमा गोल गर्दै आफ्नो डबल ह्याट्रिक पूरा गरिन् । यसका साथै उनी अन्तराष्ट्रिय खेलमा दोहोरो ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेकी छिन् ।

जवाफमा भुटानले एक गोल पनि फर्काउन सकेन। नेपालका लागि सर्मिला थापा र कृष्णा खत्रीले एकरएक गोल गरे ।

नेपालले समूह चरणका अन्य खेलमा आगामी बुधबार माल्दिभ्स र शुक्रबार श्रीलंकासँग प्रतिष्पर्धा गर्नेछ ।