• Friday 24th , March 2017 | शुक्रबार, चैत्र ११, २०७३

प्रचण्ड–वाबुराम एकता ः कसको आवश्यकता कसको वाध्यता ?


अजय स्पात
काठमाडौं ,

एउटा चिठ्ठी लेख्न मन ला छ
जुन मायाले धरधरी रुवायो त्यही मायालाई देख्न मन ला छ ।

यो सृजनाले मानिसहरुलाई भावुक वनाउला तर जीवनको यथार्थसंग मेल खाँदैन । यद्यपि माओवादी आन्दोलनका नेता द्धोय वावुराम र प्रचण्डले यस सृजनालाई चुनुवाङ देखि आज पर्यन्त वास्तविक जीवनमै अभिनय गर्ने कोसिश गरेका छन् । यसको तारतम्य अरु कसैले मिलाइदिन्छ र उनीहरु पार्टी जीवनमा यसलाई अभिनय गर्छन । राजनीतिमा उनीहरुको जस्तो कलाकारिता प्रदर्शन संसारमा सायदै होला ।

पहरामा ठोक्किदै बग्दै गर्ने नदिका छालहरुको झैं उत्तार–चढावपूर्ण राजनीतिक सहयात्राको एउटा च्याप्टर सकिएपछि अलग भएका वावुराम–प्रचण्ड फेरि नजिकिदै छन् ।

जनयुद्धको सुरुवात देखि शान्ती प्रकृयामा माओवादीको अवतरण हुँदा दुवैले एक अर्का वीचका आरोप प्रत्यारोपको सामना गरे । वावुरामले प्रचण्डलाई दरवारको कित्तामा उभ्याउने र प्रचण्डले वावुरामलाई दिल्लीको कित्तामा उभ्याउने संगिन आरोपका वीच उनीहरुको स्वार्थपूर्ण मेल कायमै रह्यो ।

असहमतिकै वावजुद प्रचण्डपथ स्विकार गरेका वावुरामले सेना, पार्टी र सत्ताको संयुक्त वा सर्वोच्च कमाण्डर स्विकार गर्न नसक्दा उनी रोल्पामा तत्कालिन जनमुक्ति सेनाको घेरामा परे अर्थात प्रचण्डले उनीमाथि कारवाहीको घोषणा गरे ।

चुनुवाङ वैठकपछि लोकतान्त्रिक गणतन्त्रमा काठमाडौ आएपछि खरानी रङको पोशाकमा पार्टी र सत्ता सञ्चालन गरेका तत्कालिन नेता द्धोय प्रचण्ड र वावुरामले सत्ताका लागि पार्टी संगठन र जनमुक्ति सेना दुवै खरानी बनाए ।

उनीहरुको खरानि रङको पोशाकको सहयात्रामा जे भयो आज माओवादी आन्दोलनको दुर्दशा त्यसैमा निहित छ । कसले जुराई दियो खरानी रङ थाह भएन दशौं हजार मानिसहरुको रगतको सागर र लाशहरुको पहाडले वनेको माओवादी मुल्य मान्यता खरानि झैं उड्यो ।

दोस्रो संविधानसभाको निर्वाचन र संविधान जारी पछि सत्तालाई पनि खरानिमा वदलेका उनीहरु मुलुक खरानी वनाउने दिशामा केन्द्रीत रहेको उनका विपक्षिहरुको आरोप छ ।

बावुरामको विप्पा सम्झौतालाई काँग्रेसी सदावहार अर्थमन्त्री रामशरण महतले समेत भने वावुराम जी ले ठिक गर्नु भएन मिगा सम्झौता भएकै थियो विप्पा किन जरुरी ? वावुरामले भने नेपालमा विप्पा पछि भारतीय लगानिको ओइरो लाग्ने छ ।

एक बर्ष भित्रै यसको नतिजा सारा देशवासीले थाह पाउने छन् ? विप्पा पछि लगानी कति भित्रियो यसको जवाफ स्वयं वावुराम संग पनि छैन । वावुरामले गरेको उक्त सम्झौता विरुद्ध पार्टीले नै एअरपोर्टमा कालोझण्डा देखायो ।

त्यसपछि प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री वन्न दिल्लीमा २५ वुदे सम्झौता गरे जसको सर्वत्र विरोध भयो स्वयं वावुरामले समेत विभिन्न वुदाको व्याख्या सहित प्रचण्डले गरेको सम्झौता राष्ट्रघाती हो भने ।

संविधानको सर्वस्विकार्यता भन्ने प्रचण्डको दिल्लीको भनाईलाई संविधानमा वाह्य हस्तक्षेप निम्त्याएको विश्लेषण वावुरामले गरे । जहाँसम्म बावुराम–प्रचण्ड वीचको सम्वन्ध, महत्व, आवश्यकता र सञ्चालनको पक्ष छ यो बडो रहस्यमय छ ।

वावुराम र प्रचण्ड विपरित धु्रब हुन तर उनीहरुको चुम्वकिय शक्ति अजिवको छ । त्यो कृत्रिम चुम्वकिय शक्तिले उनीहरुवीच उतार चढावका वावजुद पनि वेला वखत एक ठाउँमा ल्याउछ ।

उनीहरुलाई घुलित वनाउने केमेष्ट्री पार्टी कार्यकर्ता, मुलुकको आवश्यकता, जिम्मेवारी वोध, परिवर्तनका एजेण्डा, विगतका वाचा प्रतिवद्धता, वलिदान, त्याग,निष्ठा र समर्पण हुन्थ्यो भने त्यस उतार चढावलाई एक जीवन्त राजनीतिक पार्टी जीवनको स्वभाविक दुईलाईन संघर्ष वा अन्तरसंघर्ष भन्न सकिन्थ्यो ।

तर केमेष्ट्री आवश्यकताको उपज होइन न त कुनै घर्षण वा स्वभाविकताको नियम भित्र छ । यो कतै वाहिरबाटै परिचालित रिमोर्टको एक अंश हो जसले उनीहरुका थुप्रै असहमति,असमझदारी,अविश्वास र अन्तस्करणका भिन्न रुपहरुलाई एक ठाउँमा ल्याईदिन्छ ।

वाहिरबाट हेर्दा प्रचण्डलाई वावुरामको वौद्धिकता र उचाइको आवश्यकता अनि वावुरामलाई प्रचण्डको संगठन र सन्तुलनकारी क्षमताको आवश्यकता भन्ने महशुस हुन्छ । यथार्थमा यी दुवै कुरामा वाहिरि सत्यता छ भित्रि पाटोमा शत प्रतिशत सत्यता छैन ।

भित्रि पाटोमा सत्यता यस कारणले छैन की राजनीतिमा प्राज्ञिक लेख रचना, इतिहासको जानकारी र वुद्धि विलासको एकेडेमीको कुनै स्थान छैन । आजका परिघटनाहरुको सटिक विश्लेषण र एक्सन वारेन्टेड पोलिटिक्सले मात्रै नयाँ कुराको जन्म दिन सक्छ ।

विगत केवल शिक्षा हो आजको आवश्यकता पुर्तिका लागि वौद्धिक ज्ञान प्रमुख वा अचुक साधन होइन । यसकारण वावुराम विनाको पार्टी पनि चल्न सक्छ । नेपालमा थुप्रै डाक्टरहरु छन् तर उनीहरुको कुनै मुल्य छैन ।

त्यसैले वावुरामको उचाई विद्या वारिधि होइन दशौं हजार मानिसहरुको रगतले रंगिएपछि त्यो विद्या वारिधि गाढा वनेको हो र अन्य सामान्य मानिसको विद्या वारिधिलाई त्यस विद्या वारिधिले झुकाएको मात्र हो ।

प्रचण्ड विनाको पार्टी संगठन पनि संभव छ । वुर्जुवा पार्टीहरु पनि वाक पटुता नभएको नेतृत्व विना, सन्तुलन र संगठनात्मक क्षमता नभएको निरस नेतृत्व विना चलेकै छन् । विचार र उद्देश्य छोडिसकेपछिको पार्टी संगठन देश र जनतालाई आवश्यकता हुँदैन ।

शक्तिको वरीपरी घुम्ने र पुजा गर्नेहरुलाई आकारको मात्रै कुरा हो एउटा सानो झुण्ड सिपी मैनालीको वरीपरि पनि छदैछ । अझ प्रचण्ड, वावुराम, किरण र वादल विना विप्लवले अब्वल दर्जाको पार्टी चलाएकै छन् ।

त्यसकारण उनीहरु दुवै जनालाई पनि एक अर्काको आवश्यकता र वाध्यता होइन । त्यो अरु कसैका लागि आवश्यकता र वाध्यता छ । जसलाई उनीहरु परिपुर्ति गर्दै आएका छन् ।

शान्तीपूर्ण राजनीतिको एक दशक लामो समयले के सिद्ध गर्यो भने अब उनीहरुमा विगतको पवित्रता र प्रतिवद्धता दुवै वाँकी छैन । उनीहरु नेपाली माटोको आवश्यकता वा यहाँको राजनीतिक वस्तुस्थितीको वाध्यताका उपज रहेनन् बरु अरु कसैको आवश्यकता पुर्तिका वस्तुमा परिणत भए ।

क्रान्तीकारी मुखौटो भित्रको उनीहरुको जहरिलो रौद्र रुप दिन प्रतिदिन देश, जनता र क्रान्तीका लागि थप हानिकारक वन्दै छ ।