• Thursday 25th , May 2017 | बिहिबार, जेष्ठ ११, २०७४

माओवादको झण्डामा विहारी गणतन्त्र

पुष्प न्यौपाने

मालेमाको आलोकमा लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था र अत्यासलाग्दो लुटतन्त्रको सामना गर्न अब सकिने छैन । गएको एक दशकमा यस गणतन्त्रले माइतीघर देखि तीनकुने सम्म टावर खडा गर्न केहि मानिसलाई सहयोग गर्यो ।

शान्ती प्रकृया नेपालका दलाल शासकहरुको आकर्षक प्रोजेक्ट बन्यो । नेपालको शान्ती प्रकृया निकै ठूलो प्रोजेक्ट हो । यसमा ३३ अर्ब रकम खर्च भएको तथ्यांक छ । माओवादी लडाकुका नाममा छुट्टै ९ अर्वको अर्को प्रोजेक्ट थियो ।

लडाइ लडेका शिविरका ३ हजार लडाकुलाई १९ हजार देखाइयो । त्यसमध्य कैयौं अयोग्य बनाइए । प्रमाणिकरण भएका र नभएका सबैको कन्त विजोग छ । नेपाली सेनामा गएको सानो अंश र कमाण्डर बाहेक वाँकी सदस्यहरुको हालत डरलाग्दो छ ।

२०६४ यताको तथ्यांक केलाउने हो भने सक्रिय राजनीति वा लडाइको मोर्चामा रहेका कार्यकर्ताहरु नै खाडी जानेमा माओवादी आवद्ध युवाहरु स्वभाविक वढी छन् । त्यस ९ अर्वको हिसाव किताब वारे अख्तियारले वार्गेनिङ गरिरहेको माओवादी नेताहरुको दावी छ । वाँकी ३३ अर्व कहिले, कहाँ र कसरी खर्च भयो ।

राष्ट्रसंघले यसको मुल्यांकन कसरी गर्यो ? यो पनि वाहिर आउन जरुरी छ । गाउँमा द्धन्द्ध पिडितहरुको हालत दिन प्रतिदिन नाजुक वन्दै गएको छ । वास्तविक द्धन्द्ध पिडितहरुले सहयोग रकमका लागि आवेदन समेत दिएका थिएनन् ।

कागजी तथ्यांकमा शान्ती मन्त्रालय र शान्ती समितिलाई देखाइएका अपांगहरुको ६० प्रतिशत सपाङ्ग मानिसहरु आज पनि वाँचेकै छन् । किर्ते हस्ताक्षरमा करोडौं रकम झिकिएको छ । त्यसकारण ३३ अर्बको शान्ती प्रकृयाको प्रोजेक्टमा नेपालको सबैभन्दा ठूलो अनियमितता छ । पैसा पछिको दोस्रो महत्वपूर्ण कुरा समय हो ।

संविधानसभा भाग १ र भाग २ मा झण्डै १० बर्ष खर्च भए । यस १० बर्षमा मुलुक शान्ती प्रकृयाको पूर्णताका नाममा अल्मलियो । संविधान वल्ल वल्ल जारी भयो तर द्धन्द्ध समाधान भएन । संविधान कार्यान्वयन भएन । द्धन्द्ध नयाँ र जटिल रुपमा देखा पर्यो ।

जुन द्धन्द्धको मसिनो रुपले राष्ट्रको अखण्डता र सार्वभौमिकतामाथि चुनौति थप्दै गएको छ । विहारी गणतन्त्रले हामीलाई एसिड झैं पोल्ने खतरानाक द्धन्द्ध निम्त्याईदियो । माओवादको झण्डामा मालेमाको आलोकमा आउनुपर्ने त जनवादी गणतन्त्र वा समाजवाद उन्मुख राज्यव्यवस्था हुनुपर्ने हो ।

तर यहाँ माओवाद ब्रान्डको मिस युज भयो । आज हामी यसको गंभिर परिणाम भुक्तान गर्दैछौं । राजतन्त्र हटाएको खुशिले हौसिदै गर्दा हामीलाइ रजौटाहरु वोक्न लगाइएको रहेछ थाहै भएन ।

राजतन्त्र हटाउने र रजौटाहरुको भारी वोक्ने कुरा असंभव छ । चाहे त्यसको नाम जे सुकै राखियोस । सामन्त, जमिन्दार र दलालहरुलाई मुख्यमन्त्रीका नाममा अमुक क्षेत्रका मुख्यमन्त्री घोषणा गर्ने अनि श्रीपेच विनाका उनीहरुको शासन र बुटको यातनामा गरिबहरु पिसिइरहनुपर्ने ब्यवस्था आजको समस्याको समाधान हुन सक्दैन ।

सवैभन्दा पहिले वर्गिय समस्याको हल विना दलाल पुजीवादी संरचनामा ल्याप्चे ठोक्न सकिदैन । विहारी गणतन्त्रले हामी माथि लादेको दोस्रो भारी यहि हो । तेस्रो नयाँ नेपाल सिमित मानिसहरुको पैतृक सम्पती होइन , न त कसैबाट उनीहरुले पाएको बक्सिस हो ।

यस राज्यमा बस्ने नागरिकले रोटेशनमा आउने रजौटाहरुलाई राजनीतिक, आर्थिक र सामाजिक कुत बुझाउनु पर्ने हो भने त्यस प्रकारको नयाँ नेपाल जरुरी छैन । दलाली र चाकडीको हद पार गरेका नैतिक हिन शासकहरुलाई यो पर्नु हुँदैन कि हामीलाई अदृष्य मालिकहरुको शक्ति प्राप्त छ, कृपा प्राप्त छ देशमाथि जे गर्दा पनि हुन्छ ।

अव यो स्विकार्य हुँदैन, अदृष्य मालिकहरुको कृपाले जनतामाथि थिचोमिचो र शासन गर्न पाइदैन । गएको २५ वर्षमा २५ ओटा सरकार फेरिएका छन् । ३० लाख वढी युवाहरु विदेशिएका छन् । ४० हजार साना उद्योगहरु वन्द भएका छन् । ३ हजार ठूला उद्योग वन्द भएका छन् ।

सरकारी उद्योग प्रतिष्ठानहरुलाई कौडिको भाउमा वेचेर निजी कम्पनीलाई वुझाइएको छ । कमिसनले छोराछोरीहरु अमेरिका,अष्टेलिया पुगेका छन् । सुन जस्तो अनुत्पादक सम्पती घरमा थुपारिएको छ वा पैसालाई विदेश पठाइएको छ । राजनीति र कर्मचारीतन्त्रका नीति निर्माताहरुको बैभव र विलासिता उद्योगी व्यवशायीलाई माथ गर्ने खालको छ ।

भ्रष्टाचारबाट गाउँको स्थानिय कार्यकर्ता र गाविस सचिवदेखि केन्द्रमा प्रधानमन्त्रीदेखि मुख्यसचिव कोहि अछुतो छैनन् । र्यामिटेन्सले धानेको वजेट घुम्दै फिर्दै घरजग्गा, महंगा गाडि र ठुला वडाका छोराछोरीको विदेश पढाइमा खर्च छ । विकासको वृद्धिदर ०.६ मा झरिसक्यो त्यसको नैतिक जिम्मेवारी लिन कोहि तयार छैन ।

मुलुक तन्नम र कंगाल भइसक्यो यहि हालतमा रहे अबका दुई चार बर्षमा गरिविको सुचिमा कंगो मुनि झर्ने दिनहरु नजिकिदै छन् । तर अघि पछि सुरक्षाकर्मिको हुल र साइरन बजाउँदै प्राडो गाडि लिएर पाँचतारे होटल छिर्नेहरु कत्ति पनि चिन्तित छैनन् ।

यो भयाननक विडम्वना हो । मुलुकका कल कारखाना ध्वस्त पार्ने, युवाशक्ति विदेश प्लायन गर्ने, पैसा विदेश पठाउने, आफु विदेशीको गुलाम वन्न तयार हुने, स्वाभिमान स्खलित शासकहरु आएपछि मुलुक कुन गतिमा पुग्छ भन्ने एक उदाहरण वन्दै छ नेपाल ।

यसकारण अव एक दृढ स्वाभिमानी वैकल्पिक शक्तिको खाँचो छ, जसले परिवर्तनलाई राष्ट्रको विकास र भविष्य निर्माणमा वदल्न सकोस । यस जटिल परिस्थितीमा नेपालको ठूलो युवा पंक्तिले अझ भनौं आजको पुस्ताले विप्लव तिर हेरेको छ ।

उनले समय खेर नफाली यस मुलुकलाई अगाडि वढाउने अठोट गरुन । अन्यथा या त मुलुक रहने छैन । या त पुरातन पन्थको उदय हुने छ । त्यस घडिमा स्वतन्त्रता वा राष्ट्र मध्य एक रोज्नुपर्ने हुन्छ ।

राष्ट्र विनाको स्वतन्त्रता, सुख र समृद्धि ग्लानी हो भने राष्ट्रको पक्षमा उभिदा फेरि बार वन्देज र पुरातन शासनको जाँतोमुनि पिल्सिनुपर्छ । यी दुवैबाट मुक्त गर्ने शक्ति आजका नेपाली जनताको माग र खोजी हो ।