• Thursday 30th , March 2017 | बिहिबार, चैत्र १७, २०७३

बुढेसकालमा सेक्स झनै मिठो

उमेर बढ्दै जाँदा यौनसम्वन्धप्रति उत्सुकता घट्दै जाने र अनिच्छा बढ्दै जाने आम धारणा छ । तर, एउटा अध्ययनले बुढेसकालमा यौनसम्वन्ध झनै मिठो हुने निस्कर्ष निकालेको छ । बेलायतमा गरिएको अध्ययनका अनुसार बढ्दो उमेरसँगै मानिसहरु संख्यात्मकभन्दा गुणात्मक सेक्समा जोड दिन थाल्छन् । उनीहरुमा यौनजन्य ज्ञान वृद्धि हुँदै जाने भएकाले पनि सेक्स मिठो हुने अध्ययनको ठहर छ ।

‘६० वर्ष कटेका बुढाबुढीहरुले संख्यात्मकरुपमा कम यौनसम्वन्ध राख्छन् । तर त्यसको गुणात्मकता धेरै हुन्छ । उनीहरुले बेडरुममा आफ्नो सम्पुर्ण ज्ञान तथा अनुभव खन्याउँछन् र पार्टनरलाई खुशी पार्छन्,’ अध्ययन प्रतिवेदनमा भनिएको छ । उमेरसँग प्राप्त हुने ज्ञान र अनुभवले अरु काममा हामी जसरी निखारिदै जान्छौं, सेक्सको हकमा पनि त्यही लागू हुने तर्क प्रतिवेदनमा गरिएको छ ।

बेलायतको युनिभर्सिटी अफ मिन्नेसोटाका अनुसन्धानकर्ताहरुले २० देखि ९३ वर्षका ६ हजार व्यक्तिहरुको तथ्यांक विश्लेषण गरेका थिए । सहभागीहरुलाई इमेलमार्फत प्रश्नावली पठाइएको थियो । सोधिएका प्रश्नहरुमध्ये एउटा प्रश्न थियो, ‘हालका दिनहरुमा तपाईंको सेक्स लाइफलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?’ बुढेसकाल लागेका उत्तरदाताहरुले सेक्स गर्ने दरमा कमि आए पनि मजा बेसी लिने गरेको जवाफ पठाएका थिए ।

प्रमुख अनुसन्धानकर्ता मिरी फोब्र्सको भनाईमा बढ्दो उमेरसँगै सेक्सको दर कम महत्वपूर्ण हुँदै जान्छ र सेक्स गर्दाका वखतको सोच र प्रयास बढि महत्वपूर्ण हुँदै जान्छ । उनले लेखेकी छन्, ‘फेरिएका प्राथमिकताले बुढेसकालको यौनजीवनलाई सुखद बनाउँछ ।’‘जब हामी जवान र पाका व्यक्तिहरुको सामाजिक-जनसांख्यिक चरित्र तथा मानसिक र शारीरिक स्वास्थ्यका साथमा उनीहरुको यौनजीवन तुलना गर्छौंं, के पाउँछौं भने पाका व्यक्तिहरुले यौनजीवन गुणात्मकरुपमा राम्रो हुन्छ,’ उनी लेख्छिन् ।

अध्ययनका अनुसार कुनै ४० वषिर्य र ५० वषिर्य व्यक्तिले सेक्स गर्दा उत्तिकै अनुपातमा सोच तथा प्रयत्न लगानी गरेको छ र उनीहरु दुवैको सेक्स पार्टनर पनि उत्तिकै संख्यामा छन् भने ५० वर्षको व्यक्तिको यौनजीवन बढि सुखद हुन्छ ।फोब्र्स लेख्छिन्, ‘जुनसुकै उमेरमा पनि मानसिक र शारीरिक स्वस्थताका लागि सन्तुष्ट यौनजीवनको महत्वपूर्ण हात हुन्छ । बुढाबुढीको हकमा यौनसम्वन्धमा सक्रियताले उनीहरुको लामो र स्वस्थ जीवन सुनिश्चित गर्छ ।’