• Thursday 30th , March 2017 | बिहिबार, चैत्र १७, २०७३

नेपालमा पैसा कमाउन सार्‍है सजिलो छ

जोन जम्माजम्मी २६ वर्ष पुगे । उनको उमेरका युवाहरू अहिले पनि कलेजको अध्ययन एवं डेटिङमा समय बिताइरहेका छन् । जोनले भने अन्तर्राष्ट्रिय व्यवसायी भएर करोडौं रुपैयाँ कमाइसकेका छन् । माग्दीका सामान्य जागिरे बुवाका छोरा जोन २०६३ सालमा एसएलसी उत्तीर्ण गरेर काठमाडौं आएका हुन् । आफ्नो पढाइ खर्च उठाउन उनले सुरु गरेको हेल्थ क्लबबाट व्यवसायिक जीवन प्रारम्भ गरे ।

जोन खड्का, युवा व्यवसायी

बैंगलोर खुला अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट स्नातकोत्तर गरिरहेका जोन अहिले बेलायतको चर्चित प्रोसाइडन ग्रुपको एउटा लगानीकर्ता भैसकेका छन् । प्रोसाइटन गु्रपले विश्वका २७ देशमा दक्ष कामदार पठाउने काम गर्छ । उनीसँग ब्राइट स्टार करियर्स नामक तालिम केन्द्र छ, जसले विदेश जाने नेपालीहरूलाई तालिम दिन्छ ।

उनको डस्टियाक नामको अर्को कम्पनी छ, जसले नेपाली हस्तकला, कपडा एवं अग्र्यानिक वस्तुहरू युरोप निर्यात गर्छ । जोन आफूले कमाएको आम्दानीको १० प्रतिशत आफैंले स्थापना गरेको डस्टियाक फाउन्डेसनमा खर्च गर्छन्, जसले प्रत्येक वर्ष ११ जना बालिकालाई अध्ययन एवं करियर बनाइदिने काममा सहयोग गर्छ ।

एउटा २६ वर्षे ठिटोले वैधानिक काम गरेर करोडौं रुपैयाँ कमायो भन्दा विश्वास गरिँदैन, किन होला ?
एक हिसाबले म केटाकेटी नै हुँ, तर काम गर्दै जाँदा अवसर पनि आउँदै गयो र त्यसले पैसा पनि सिर्जना गर्‍यो । खासमा म पैसा कमाउँछु भनेर व्यापारमा लागेको होइन, काम नगरी बस्न सकिएन । कामले पैसा बनाएको हो ।

यसको अर्थ तपाईंलाई भाग्यमानी भन्नुपर्ला ?
म भाग्यमा विश्वास गर्दिनँ । मैले भाग्यका कारण कमाएको पनि होइन । मेहनत र इमान्दारिताले कमाएको हुँ । नेपालमा पैसा कमाउन सजिलो छ । अवसरहरू यति धेरै छन् कि मलाई कहिलेकाहीँ कुन काम गरौं, कुन छाडौं जस्तो हुन्छ ।

तपाईंले म्यानपावरबाट पैसा कमाउनुभयो भन्दा गलत हुन्छ ?
नेपालमा परम्परागत रूपमा जसरी म्यानपावर चलेका छन्, त्यसरी हेर्दा मेरो म्यानपावर कम्पनी होइन, तर मेरो कामको प्रकृति भने म्यानपावरजस्तै छ । म बेलायतको प्रोसाइटन समूहको एउटा लगानीकर्ता हुँ ।

प्रोसाइटन समूह बेलायती सेनाका उच्च स्तरका केही अधिकृतले खोलेको कम्पनी हो, जसले एसियाका उदीयमान देशहरूका ठूला कम्पनीलाई दक्ष कामदार उपलब्ध गराउँछ । विश्वभरका धेरै देशबाट उक्त कम्पनीले दक्ष कामदार लिन्छ र आवश्यक कम्पनीलाई दिन्छ । नेपालीहरू सेवा र सुरक्षाका लागि संसारभर प्रसिद्ध छन् ।

त्यसैले नेपाली नर्स तथा सुरक्षाकर्मीहरू हामीले आवश्यक परेका कम्पनीहरूलाई नि:शुल्क पठाउँछौं । अरू देशबाट पनि डाक्टर, इन्जिनियर तथा अन्य दक्ष कामदार हाम्रो कम्पनीले उपलब्ध गराउँछ । प्रोसाइटन कम्पनीको सेयर होल्डर भएका नाताले त्यसको निश्चित फाइदा नै मेरो मुख्य आम्दानी हो ।

तैपनि म त्यतिले सन्तुष्ट हुन सकिनँ । मैले विदेश जाने कामदारहरूलाई उच्चस्तरको तालिम दिने स्टार करियर्स केन्द्र खोलेको छु । त्यसबाहेक नेपालका हस्तकला, मूर्तिकला, गार्मेन्ट्स तथा अग्र्यानिक खानेकुराहरू विदेश पठाउन डस्टियाक कम्पनी खोलेका छौं । ती सामग्रीको निर्यातबाट पनि केही आम्दानी हुन्छ ।

२६ वर्षको उमेरमा झन्डै अर्ब कमाउनुभयो, अबको २६ वर्षमा खर्बपति हुने देखियो नि ?

कुनै पनि व्यवसायको एउटा लिमिटेसन हुन्छ । मेरो व्यवसाय विदेशमा दक्ष जनशक्ति पठाएबापत रोजगार कम्पनीबाट निश्चित प्रतिशत शुल्क लिनु हो । नेपालमा अदक्ष जनशक्ति धेरै छन्, दक्ष त्यति छैनन् । अर्को कुरा, हामी कसैलाई विदेश पठाएबापत एक रुपैयाँ पनि शुल्क लिँदैनौं । अहिले पनि हामीलाई हजारौं दक्ष जनशक्तिको माग आइरहेको छ, हामीले दिन सकेका छैनौं ।

त्यसैले यस्तो परिपेक्षमा खर्बपति हुन्छु भन्नु कोरा कल्पना मात्र हो । सामान्य जागिरेको छोरा भएका कारण मेरा आफ्नै लिमिटेसनहरू छन् । सबै जनालाई विनोद चौधरीलाई जस्तो भाग्यले साथ कहाँ दिन्छ र ? अर्को कुरा, नेपालको सानो बजारमा नयाँ खेलाडीका रूपमा प्रवेश गरेर अर्बपति–खर्बपति हुन्छु भन्नुचाहिँ अस्वभाविक नै हो ।

तपाईंले अघि भन्नुभयो, नेपालमा पैसा कमाउने अवसर धेरै छन् । साँच्चै हो कि कल्पना मात्र हो ?
यथार्थ हो । विदेशको तुलनामा यहाँ केही भएको छैन । जहाँ काम गर्न नै बाँकी हुन्छ त्यहीँ अवसरहरू आइरहेका हुन्छन् । नेपालको जनसंख्या ३ करोड छ, तर यो ३ करोड मानिसका लागि आवश्यक पर्ने बाटोघाटो, भवन, अस्पताल, विभिन्न खालका सुविधा केही पनि तयार भएको छैन । यी क्षेत्रमध्ये कुनै पनि काममा अवसर नै अवसर छ ।

तर धेरै युवा विदेश गैरहेका छन्, उनीहरू किन यो अवसर देख्दैनन् ?
ज्ञान नभएर । उदाहरणका लागि नेपालमा सयौं म्यानपावर कम्पनी छन् । म्यानपावर कम्पनी भन्नेबित्तिकै मानिसहरू नाक खुम्च्याउँछन् । मैले यही पेसाभित्र पनि राम्रो अवसर देखेँ । अरूले नेपालीसँग पैसा लिए, मैले विदेशी कम्पनीलाई सेवा बेचेँ । आज म आफ्नो काम बारेमा गौरवका साथ बोल्न सक्छु ।

अंग्रेजी भाषाको ज्ञान, आधुनिक प्रविधिसँग नजिकको सम्बन्ध तथा नेपाल बसेर म संसारलाई नै सेवा दिन सक्छु भन्ने भावनाले मलाई सफल बनायो । नेपालीहरूमा यो ज्ञानको कमी देख्छु । एउटाले जुन काम गर्‍यो, अर्कोले पनि त्यही काम गर्ने तर गुणस्तरीय सेवा नदिने बानी छ ।

यस्तो बानीले त्यो व्यवसायी आफू त डुब्छ, अरूलाई पनि बद्नाम गराउँछ । मेरो विचारमा नयाँ काम नयाँ शैलीमा गर्ने हो भने नेपालमा व्यवसाय गर्न धेरै सजिलो छ । एक प्रकारले नेपालमा नयाँ काम गर्न कुनै प्रतिस्पर्धा गर्नु पर्दैन ।

धेरै नेपाली नयाँ काम गर्दा पनि असफल हुन्छन्, यसको कारण के होला ?
नेपाली व्यवसायीहरूमा कर्पोरेट कल्चर छैन । कामदार व्यवसायिक छैनन् । राजनीतिक कारणले आफ्नो काम नगर्ने तर अधिकार बढी खोज्ने चलन छ । ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भनिन्छ, तर चीनजस्तो कम्युनिस्ट मुलुकमा पनि मानिसहरू १२ घण्टा खटिन्छन् । अर्को कुरा, व्यवसाय गर्नु पनि एउटा कला हो ।

नेतृत्व गर्ने क्षमता, काम गर्ने फरक तरिकाले मानिसलाई सफल बनाउँछ । रात दिन आफ्नो लक्ष्यमा नलाग्ने हो भने मानिस सफल हुँदैन । विशेष गरी युवा उमेरमा अर्काकोमा काम गर्ने र बुढेसकालमा व्यवसाय गर्न खोज्नेहरू सफल हुँदैनन् भन्ने मलाई लाग्छ । उमेरमै काम सुरु गर्ने, काम गर्दा राम्रो टिम बनाउने, आफ्नो रुचिको कुरालाई नै व्यवसाय बनाउने हो भने कोही पनि असफल हुँदैनन् ।

तपाईंको यो अन्तरवार्ता पढ्दा आमयुवालाई पनि तपाईंजस्तै सफल हुन मन लाग्ला, उहाँहरूलाई के सुझाव दिनुहुन्छ ?
सबैभन्दा पहिले म जुनसुकै मूल्यमा पनि संघर्ष गर्छु भन्ने कुरामा प्रतिबद्ध हुनुपर्छ । त्यसपछि लामो समय टिक्छु भन्ने धैर्य धारण गर्ने शक्ति चाहिन्छ । निरन्तर आफ्नो काममा लागिरहनुपर्छ । पैसा कमाउनु भनेको बाँस रोप्नुजस्तै हो ।

बाँसको चरित्र कस्तो हुन्छ भने पहिलो पाँच वर्षसम्म बाँसलाई राम्रो मलजल गर्नुपर्छ । वरपर झारपात उम्रनबाट जोगाउनुपर्छ । बाँस रोपेको पाँच वर्षपछि मात्र त्यसको मुना पलाउँछ, तर मुना पलाएको ६ महिनामा त्यो हलक्क बढ्छ । बाँसलाई स्याहार गरेजस्तै पाँच वर्ष धैर्य गर्न सक्नुपर्छ ।

व्यवसाय माथि जान थालेपछि आफ्नो वरपर राम्रो टिम खडा गर्नुपर्छ । आफूभन्दा अग्रजले गरेका गल्ती के–के हुन्, त्यसबाट सिक्दै जानुपर्छ । कहिलेकाहीँ अप्रिय निर्णय गर्न डराउनु हुँदैन । रिस्क पनि लिन सक्नुपर्छ । बोट उम्रिएपछिका पाँच वर्षपछिको अवसर देख्न सक्ने दूरदर्शी हुनुपर्छ । मुख्य कुरा, कुन व्यवसाय गर्ने हो, त्यसको जरो बुझ्नुपर्छ । यसको अर्थ के हो भने गुगललाई भन्दा नेपालीको मन बुझ्नुपर्छ ।

यो त सैद्धान्तिक कुरा भयो । नेपालीलाई व्यवसाय गर्न रोक्ने मुख्य कुरा के–के हुन् ?
नेपालीहरूलाई चाँडै विवाह गर्ने दबाब हुन्छ । पढ्दापढ्दै करियर बनाउनुअघि नै विवाह गर्ने, परिवार पाल्ने दायित्व थपिन्छ । यसले गर्दा जो कसैले ठूलो रिस्क लिन पनि सक्दैन, लामो समयपछि आम्दानी गर्ने खालको व्यवसाय पनि सुरु गर्न सक्दैन ।

मैले अघि बाँसको उदाहरण दिएँ, त्यो अवस्था नेपाली युवाको छैन । तुरुन्तै पैसा कमाउन कि त विदेश जानुपर्ने बाध्यता छ, कि त चाँडै आय हुने खालको जागिर अथवा व्यवसाय सुरु गर्नुपर्ने बाध्यता छ । सानो बिरुवा रोपेर धेरै फल लिन सकिँदैन ।

तपाईं सफल हुनुका पछाडि के–के कारण छन् ?
म जम्मा ४–५ घण्टा सुत्छु । म सपना देख्छु र देखेको सपना कार्यान्वयन गर्न रातदिन मेहनत गर्छु । मेरो सबैभन्दा खराब कुरा के छ भने मलाई असफलता मन पर्दैन । एकपल्ट असफल भएँ भने जबसम्म त्यो कुरामा सफलता हात लाग्दैन, म मरिमेटेर लाग्छु ।

मेरा लागि असफलता एउटा गेम हो, जसलाई म जित्न चाहन्छु । यसो गर्दा म दबाबमा हुन्न, बरु त्यो मेरा लागि प्रयोगशाला वा रमाइलो खेल हुन पुग्छ । जब तपाईं कुनै कुरा खेल्न थाल्नुहुन्छ, कति मज्जा आउँछ होला ?

नेपालीको सबैभन्दा कमजोर पक्ष के हो ?
हामी हीन भावनाले ग्रसित छौं । हामीलाई अरू मानिस ठूला लाग्छन्, हामी अरूलाई महान् देख्छौं । जबकि हामी विशेष मान्छे हौं । हामी यो संसारमा धेरै काम गर्न सक्छौं । यो कुरा बुझ्न नसक्नु हाम्रो कमजोरी हो ।

तिहार आयो, के भन्न चाहनुहुन्छ ?
लक्ष्मीको तस्बिरमा होइन, मान्छेको मनलाई पूजा गर्नुहोस्, त्यसैबाट धन प्राप्ति हुन्छ । तिहारको शुभकामना !