• Wednesday 25th , January 2017 | बुधबार, माघ १२, २०७३

“देश नै बिखण्डन गर्ने प्रस्तावविरुद्ध सम्पूर्ण देशभक्त आन्दोलित हुनु जरुरी छ”

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संविधान संसोधन विधेयकको चर्को विरोध गर्दै सदन र सडक संघर्षमा छ । एमालेकै नेतृत्वमा अन्य प्रतिपक्षमा रहेका पार्टीहरु समेतको सहभागितामा पुस २२ गते खुल्लामंचमा विरोधसभा हुँदैछ । सरकारका विद्यमान काम कारवाही, नेकपा एमालेको निरन्तरको आन्दोलन र अनेरास्ववियुको आन्तरिक जीवनमा केन्द्रित रहेर अनेरास्ववियुकी अध्यक्ष नविना लामासंग एसियन समाचारका लागि नरेश न्यौपानेले गरेको संक्षिप्त कुराकानी-

 केही दिन अघिमात्रै तपाई भारत भ्रमण गरेर फर्किनुभयो, भ्रमणको खास उद्देश्य के थियो ?
हो,अखिलको तर्फबाट म लगायत नेविसंघ, क्रान्तिकारी, तराई मधेस विद्यार्थी फ्रन्ट र राप्रवि संघका नेता साथीहरु भारत गएर फर्किएका छौ । हामी त्यहाँ आयोजित अखिल भारत विद्यार्थी परिषदको राष्ट्रिय महाधिवेशमा सहभागी हुन गएका थियौं । अत्यन्तै सभ्य र भव्य ढंगबाट निकै मर्यादित रुपमा चलेको उक्त अधिवेशनमा भारतका रक्षामन्त्री प्रमुख अतिथि रहेका थिए । उक्त कायक्रममा हामीले नेपाल–भारत सम्बन्धका ऐतिहासिक आयामहरुमाथि विमर्श गयौँ ।

त्यो अधिवेशन बाहेक अन्य कुनै कार्यक्रममा सहभागिता जनाउनु भयो की ?
त्यो अधिवेशसंगै हामी नेपालबाट गएका विद्यार्थी नेताहरुले अखिल भारत विद्यार्थी परिषदका पदाधिकारीहरुसंग शिक्षाका विभिन्न सन्दर्भमा छलफल गयौं । त्यस्तै दिल्लीस्थित नेपाली राजदुतावासको आयोजनामा हामी र काग्रेस आई तथा विजेपीका विद्यार्थी नेताहरुसंग भएको छुट्टै अन्र्तक्रियामा मैले नेपालको मात्रै होइन भारतको स्वतन्त्रताको लागि पनि कैयौं नेपाली यूवाहरुले इतिहासमा अग्रेजसंगको लँडाइमा गोली समेत खानुपरेको उहाहरुलाई स्मरण गराएँ ।

भारत र नेपालबीचको बिगतदेखिको सम्बन्धलाई आजभोलि भारतले नेपाललाई गर्ने व्यवहारबाट आम नेपाली युवाहरु आक्रोशित बन्दै गइरहेकोप्रति भारत सजक हुनुपर्नेमा मैले उहाँहरुको ध्यान आकर्षण गराएँ । खासगरि हामीले सम्पूर्ण नेपाली युवाहरुको आवाज भारतीय युवा नेताहरुलाई सुनाएँ ।

एक जिम्मेवार विद्यार्थी संगठनको नेतृत्वको नजरमा देशको वर्तमान घटनाक्रमलाई कसरी नियाली रहनुभएको छ ?
नेपालको हालको राजनैतिक अवस्था निकै संवेदनशील देखिन्छ । लामो समयदेखि राजनैतिक सहमति हुन नसकी संविधान कार्यान्वयनको सवाल ओझेलमा परेको छ । माओवादी नेतृत्वको सरकार मधेसवादी दलहरुको आग्रहमा आएको देश विखण्डनको संशोधन विधेयक जसरी पनि संसदबाट पास गराउने राष्ट्रघातमा सामेल हुन खोज्दैछ ।

हाम्रो पार्टी नेकपा एमालेले उठाएका एजेन्डा यथार्थपरक हुँदाहुँदै सरकारवादी दलहरु माओवादी र काग्रेस लिंढेढिपी गर्दैछन् । यो राजनीतिका लागि शुभ संकेत पटक्कै होइन । एमालेको विरोध गर्न पाइन्छ तर सही एजेन्डाको विरोध गर्न पाइदैन । यसकारण देश नै विखण्डन गर्ने मनसायमा आएको यस्तो प्रस्तावका विरुद्ध सम्पूर्ण देशभक्तहरु आन्दोलित हुनुपर्ने अवस्था आएको छ ।

संसोधन विधेयकका विरुद्ध थालनी गरिएको संयूक्त विद्यार्थी संगठनको आन्दोलन ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भयो भनिन्छ नि ?
त्यस्तो होइन, हाम्रो संयूक्त विद्यार्थी संगठनको आन्दोलन अहिलेसम्म एकमना एकताकासाथ अगाडि बढिरहेको छ । राष्ट्रघाती संसोधन विधेयकका विरुद्ध हामीले कोणसभा ,सिटु्ठी जुलुस , विद्यार्थी वहस ,सडक कविता वाचन ,बालुवाटार घेराउलगायत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जस्ता रचनात्मक आन्दोलन गरेका छौं । यसरी गरिएको रचनात्मक विरोधलाई कमजोरीको रुपमा नलिन सरकारसंग अनुरोध छ । राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा संयूक्त विद्यार्थी संगठनको आन्दोलन जारी छ ।

अनेरास्ववियू’भित्र मातहतका कमिटिमा सर्कुलर पठाउने होडवाजी चलिरहनुलाई रोक्न सक्नुभएन भन्ने आरोप छ नि ?
तपाईले यो गम्भीर प्रश्न गर्नुभयो । हो, हाम्रो संगठनमा मनपरी ढंगबाट सर्कुलर ल्याइएका छन् । वास्तवमा संगठनको महासचिवले ल्याएको सर्कुलर नै आधिकारिक हो । तर, त्यसमा पनि केही त्रुटि देखिएका छन् । त्यसैलाई मिलाएर ,सच्चाएर सबैको चित्त बुझने गरि सबैको भावनाको प्रतिनिधित्व हुने गरी सर्कुलर फेरि ल्याउनुपर्ने देखिन्छ । आफुलाई चित्त बुझेन भन्दैमा सबैले सर्कुलर बाड्दै हिड्ने हो भने संगठन कसरी चल्छ ? यस्ता व्यक्तिकेन्द्रित प्रवृतिहरुलाई निस्तेज पारेर विवाद समाधान छिट्टै गरिने छ ।

स्ववियू निर्वाचनको अन्यौलता के हो, घोषणा गरिएको मितिमा निर्वाचन हुन्छ त ?
यसपाली स्ववियू निर्वाचन हुन्छ । सबै संगठन र त्रिभुवन विश्वविद्यालय लगायतका सबै सरोकार वालाहरुको जोड जसरी पनि स्ववियू निर्वाचन गराउने भन्ने नै छ । अनरास्ववियूको सन्दर्भमा सोध्नुहुन्छ भने हामी उमेर किटान गर्दा पनि र नगर्दा पनि निर्वाचनमा सहभागी हुने हो चुनाव हामी नै जित्ने भएकाले हामीलाई यसबारे कुनै मतलब पनि छैन । तर, विद्यार्थी संगठनहरुकोबीचमा खेलेर विश्वविद्यालयले पहिले जस्तो हल्का रुपमा स्ववियू चुनावलाई नलिदेओस् ।

अन्त्यमा , तपाई अखिलको अध्यक्ष निर्वाचित भइसकेपछि सम्पन्न भएका गतिविधिबारे के भन्न चाहानुहुन्छ ?
अवश्य, म अध्यक्ष बनिसकेपछि अखिलले ऐतिहासिक कामहरु गरेको छ । हामीले विद्यार्थीको प्रमाणपत्र धितो राखेर शैक्षिक ऋण दिने व्यवस्था सरकारको नीतिमा राख्न सफल भएका छौं । प्राकृतिक विपत्तीदेखि विभिन्न समस्यामा परेका तिलाठीदेखि प्युठानसम्मका विभिन्न बिपत्तिमा परेकाहरुलाई राहत वितरण गयौं ।

करिब २०० भन्दा बढि सरकारी स्कूलका जेहेन्दार विद्यार्थीलाई निशूल्क छात्रवृति दिलाउने काम गरियो । ९ जना एसएलसी उतिर्ण गरेका छात्राहरुलाई अखिलकै पहलमा होस्टेलमा राखेर निःशूल्क पढाउने व्यवस्था मिलाएका छौ । अन्तराष्ट्रिय विद्यार्थी संगठनसंगको सम्बन्ध वृद्धि भएको । त्यस्तै ७ जना श्रमिकका छोराछोरीलाई १ देखि १० सम्म निशुल्क पढ्ने व्यवस्था मिलाइएको छ । तर, विडम्वना भन्नु पर्छ की मैले निकै मेहनत गर्दा पनि आफनै संगठनको व्यक्तिकेन्द्रित र गुटगत प्रवृतिलाई अन्त्य गर्न सकिरहेको छैन ।

अबको मेरो पहिलो एजेन्डा भनेको संगठनभित्रको गुटबन्दी अन्त्य गर्नु हुनेछ । यो बाहेक आजसम्मका विद्यार्थी शहीदहरुको सम्झनामा शहीदपार्क निर्माण गर्ने, राजधानीको रत्नपार्कमा विद्यार्थी वेलफेयर सेन्टर निर्माण गर्ने र सार्वजनिक क्याम्पस तथा विद्यालयको शैक्षिकस्तर उन्नतीका लागि रिसर्च सेन्टर स्थापना गर्ने र अनुसन्धान अभियान चलाउने योजना छ ।