• Tuesday 28th , February 2017 | मङ्लबार, फाल्गुन १७, २०७३

शाखा अधिकृतमा ३० गुणा बढीकाे आवेदन

काठमाडाैं,  लोकसेवा आयोगले विज्ञापन गरेको निजामती सेवातर्फको राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) मा मागेको सङ्ख्याभन्दा अहिलेसम्म ३० गुणा बढीले आवेदन फाराम भरेका छन् । यसबाट नेपालमा शैक्षिक बेराेजगारकाे स्थिति र निजामती सेवामा युवायुवतीकाे अाकर्षणबारे सहजै अनुमान लगाउन सकिन्छ ।

आयोगले ५०३ शाखा अधिकृत पदका लागि आवेदन मागेकामा अहिलेसम्म १५ हजारले फाराम भरेको आयोगका दरखास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायणप्रसाद गौतमले जानकारी दिए ।

गौतमका अनुसार आज राति १२ बजेसम्म आयोगले तोकेको सामान्य दस्तुर र पुस २५ गते राति १२ बजेसम्म दोब्बर दस्तुरमा अनलाइनमार्फत फाराम भर्न पाइने छ ।

आयोगले २९ मंसीरमा शाखा अधिकृत तहमा विभिन्न सेवातर्फका ५०३ जनाका लागि दरखास्त आवेदन माग गरेको थियो । आयोगले गत वर्षदेखि अनलाइन आवेदन स्वीकार्न थालेपछि फर्म भर्नका लागि दिंउसभर लाइनमा बस्नुपर्ने बाध्यताबाट छुट्कारा मिलेकाे छ ।