• Wednesday 22nd , February 2017 | बुधबार, फाल्गुन ११, २०७३

फिलिपिन्समा विद्रोहीले आक्रमण गरि १५८ कैदी भगाए

एजेन्सी- फिलिपिन्सको दक्षिणमा अवस्थित किडापवन शहरको जेलमा बुधबार आक्रमण गरी एक अज्ञात समूहले जेलका १५८ कैदीलाई भगाएको फिलिपिनी अधिकारीले बताएका छन् ।

सरकारी अधिकारीले घटनामा फिलिपिन्सको इस्लामिक स्टेट आइएस समूहसँग आवद्ध रहेको मुसलमान विद्रोहीको हात रहेको हुनसक्ने बताइएको छ ।

राति ०१ बजेको समयमा करिव १०० जना सशस्त्र लडाकूले जेलमा एक्कासी आक्रमण गरेपछि दुई घन्टासम्म गोली हानाहान चलेको र केही कैदी विद्रोहीसहित १५८ जना अन्य कैदीलाई उनीहरुले भगाएको जेल प्रशासनले जनाएको छ ।

विद्रोहीले आफ्ना लडाकूलाई रिहा गर्न आक्रमण गरेको हुनसक्ने भएपनि यसबारे अनुसन्धान जारी रहेकोे जेल प्रमुख पिटर जोन बोङ्गटलाई उद्धृत गर्दै एविस–सिविएन टेलिभिजनले जनाएको छ ।

जेलमा एक हजार ५११ जना कैदी रहेकोमा बाँकी कैदी भने भाग्न अस्वीकार गरेका थिए । घटनामा एकजना जेलका गार्ड र छ जना विद्रोहीको मृत्यु भएको बताइएको छ ।