• Sunday 23rd , April 2017 | आइतवार, बैशाख १०, २०७४

भ्रष्टाचारको अभियोगमा प्रधानमन्त्रीलाई प्रहरीले लियो नियन्त्रणमा

एजेन्सी- भ्रष्टाचारको अभियोगमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रहरीले तीन घण्टा नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । स्थानीय व्यापारीसँग अवैध रुपमा उपहार लिएर भ्रष्टाचार गरेको उनीमाथि आरोप लागेको छ ।

एक साताअघिमात्रै राष्ट्र संघ सुरक्षा परिषदले अवैध रुपमा इजरायलले बसाएको पश्चिम किनारा र पूर्वी जेरुसेलममा वस्ती विस्तार रोक्न र हटाउन गरेको निर्णयविरुद्ध उत्रिएका नेतान्याहुमाथि नै भ्रष्टाचारको अभियोग लागेपछि राजनीतिक माहौल तातिएको छ ।

उनलाई अनुसन्धानकर्ताले जेरुसेलमस्थित उनकै घरमा सोमबार तीन घण्टा नियन्त्रणमा लिएर सोधपुछ गरेका थिए । प्रहरी प्रवक्ताले व्यापारीबाट व्यक्तिगत लाभजन्य वस्तु उपहरस्वरूप लिएको अभियोगमा सोधपुछ भएको बताएपनि थप बताउँन चाहेनन् ।

प्रधानमन्त्रीले सोधपुछका क्रममा आफूले त्यस्तो कुनै गलत कार्य नगरेको भन्दै आफ्ना विरोधीले बदला लिने मनसायले आरोप लगाएको उल्लेख गरेका बताइएको छ । त्यहाँका न्याय मन्त्रीका अनुसार प्रहरीको भ्रष्टाचारविरोधी युनिटले प्रधानमन्त्री नेतन्याहुसँग सोधपुछ गरेको विज्ञप्तिमा जनाएका छन् ।

यसक्रममा नेतन्याहुमाथि धनाढ्य इजरायली तथा विदेशी व्यापारीहरूले उनलाई १० औं हजार डलरबराबरको रकम र अर्को गोप्य अभियोगमा प्रहरीले उनीसँग सोधपुछ गरेको जनाइएको छ ।

महान्यायाधिवक्ता एभीचाई मण्डेलब्लिटले सो अभियोगका बारेमा थप अुनसन्धानलाई बढाउने बताउँदै प्रधानमन्त्रीले भ्रष्टाचार गरे नगरेको अझै पुष्टि नभएको जानकारी दिए ।

प्रहरीले आफूलाई तीन घण्टा नियन्त्रणमा लिएर सोधपुछ गरेपछि प्रधानमन्त्री नेतान्याहूले आफूलाई लगाइएको अभियोगको बारेमा टेलिभिजन हेरेर थाहा पाएको प्रतिक्रिया दिएका छन् ।

उनको फेसवुक पेजमा पोष्ट गरिएको भिडियोमा उनले भनेका छन्, ‘म मेरा विरोधीहरुलाई उत्वस मनाउन हतार नगर्न आग्रह गर्छु, मैले केही पनि गरेको छैन्, त्यसैले केही पनि हुँदैन् । तिमीहरु बेलुन उडाउँदै गर हामी इजरायललाई अगाडि बढाउँदै गर्छौ ।’

प्रहरीले आठ महिनाको अनुसन्धानपछि प्रधानमन्त्री नेतान्यूसँग सोधपुछ गरेको जनाइएको छ । यसअवधिमा ५० जना साक्षीको बयान दिइएको बताइएको छ ।

महान्यायाधिवक्ता मण्डेलव्लिटले प्रधानमन्त्री नेतान्याहू संलग्न भएको भनिएको भ्रष्टाचारको अभियोगमा प्रारम्भिक रुपमा अनुसन्धान थाल्न निर्देशन दिएको बताएका छन् ।

प्रहरीले घटनाको बारेमा अमेरिकी अर्बपति वल्र्ड ज्यूज कंग्रेसका अध्यक्ष रोनाल्ड लउडेरसँग समेत सोधपुछ गरिएको थियो । उनले नेतान्यूलाई महंगो उपहार दिएको आरोप लागेको छ ।