• Tuesday 28th , March 2017 | मङ्लबार, चैत्र १५, २०७३

अल्ट्राधाविका मिरा राईलाई २८ लाख रुपैयाँसहित सम्मान

दमक- अल्ट्रा म्याराथनको अन्तर्राष्ट्रिय धाविका मिरा राईलाई झापामा २८ लाख रुपैयाँ सहित सम्मान गरिएको छ। अल्ट्रा म्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै देशको नाम राख्न सफल भएकाले उनलाई सम्मान गरिएको हो।

सगरमाथा तेक्वान्दो डोजाङको सहकार्यमा बेलायतमा कार्यरत आधा दर्जन संघसंस्थाले संकलन गरेको २८ लाख रुपैयाँ बिहीबार दमकमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो। मिरालाई बेलायतमा रहेको किराँत राई यायोख्खा, जेन मार्शल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाइजेसनले एकैसाथ सम्मान गरेका हुन्।

कार्यक्रममा सगरमाथा तेक्वान्दो डोजाङ संस्थापक राष्ट्रकुमार राईले मिराले अल्ट्रा म्याराथनमा अन्तर्राष्ट्रिय स्तरमा नै नेपालीलाई चिनाउन गरेको महत्वपूर्ण योगदानलाई सम्मान गरिएको बताए।

बिहीबार नै मिरालाई अल्ट्राम्याराथन खेलमा लाग्नका लागि प्रोत्साहन दिने उनका गूरु ध्रुवविक्रम मल्ललाई समेत सम्मान गरिएको छ। उनलाई दुई लाख रुपैयाँ नगद सहित सम्मान गरिएको हो।  कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले देशलाई विश्वसामु चिनाउन खेलाडीको मुख्य भूमिका हुने बताए।