• Wednesday 18th , January 2017 | बुधबार, माघ ५, २०७३

भारतलाई चीनको झट्का-‘शक्तिशाली मिसाइल बनाउन पाकिस्तानलाई सघाउने’

नयाँ दिल्ली- भारतले हालै अन्तर महाद्वीपीय मिसाइल अग्नि-५ को सफल परीक्षण गरेपछि चीनले त्यस्तै शक्तिशाली मिसाइल बनाउन पाकिस्तानलाई सघाउने भएको छ।

भारतले मिसाइल परीक्षण गरेपछि भड्किएको चीनले अग्नि-५ जस्तै अन्तरमहादेशीय मिसाइल बनाउन पाकिस्तानलाई सघाउने जनाएको हो ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा यस मुद्दाबारे लामो सम्पादकीय लेखिएको छ। जसमा भारतलाई चेतावनी दिँदै यदि भारतले आफ्नो परमाणु महत्वाकाक्षा यसै किसिमले जारी राखेमा चीन यस्तै मिसाइल बनाउनका लागि पाकिस्तानको मद्धत गर्न बाध्य हुने जनाइएको छ ।

सम्पादकीयमा लेखिए अनुसार जुन किसिमले भारत संयुक्त राष्ट्रसंघबाट निर्धारित परमाणु क्षमता र लामो दुरीको मिसाइल निर्माणको दायरालाई तोड्ने काममा लागिरहेमा यसको फाइदा पाकिस्तानलाई पनि मिल्नुपर्ने जनाइएको छ ।

ग्लोबल टाइम्सले अब चीनले यस्तै मिसाइल तयार पार्नका लागि पाकिस्तानलाई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । जसले भारत र पाकिस्तानबीच शक्ति सन्तुलन पनि कायम भइरहने बताइएको छ ।

अमेरिकासँग पनि आक्रोशित

ग्लोबल टाइम्समा भारतलाई सहयोग गर्ने नाममा अमेरिका जस्ता विकसित देशले आफ्नो नियम कानुनमा लचकता अपनाइरहेको पनि चीनले बताएको छ।

‘भारत आफ्नो परमाणु क्षमताको वृद्धिबाट सन्तुष्ट छैन । भारतले पुरै विश्व आफ्नो पकडमा ल्याउने उद्धेश्यका साथ यस्तो अन्तर महादेशीय मिसाइल बनाउन खोजिरहेको छ’, सम्पादकीयमा भनिएको छ, ‘त्यसपछि भारत संयुक्त राष्ट्रको सुरक्षा परिषदको पाँच स्‍थायी सदस्यका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्न खोजिरहेको छ।’

ग्लोबल टाइम्सले भारतले विकास गरिरहेको लामो दुरीको ब्यालिस्टिक मिसाइल आफ्नो पकडमा नहुनेतर्फ चिनिया सरकारलाई सचेत गराएको छ । भारतले हालैमात्र ५ हजार किलोमिटरसम्म मारक क्षमता भएको अन्‍तर महादेशीय मिसाइल अग्नि ५ को परीक्षणपछि चीनले आक्रोश व्यक्त गरेको छ ।

चीनले यो मिसाइल परीक्षणपछि आफु राष्ट्रसंघमा जाने पनि चेतावनी दिइरहेको छ । चिनिया सरकारी सञ्चारमाध्यमहरुले यो मिसाइल परीक्षणपछि भारतविरुद्ध अन्तरराष्ट्रिय माहोल बनाउने प्रयास पनि गरिरहेका छन् ।

Loading...