• Saturday 21st , January 2017 | शनिबार, माघ ८, २०७३

सिरियाकाे लताकियामा कारबम बिस्फाेटमा ९ जनाकाे ज्यान गयाे, १५ घाइते

एजेन्सी,  सिरियाको उत्तरपश्चिमी तटीय सरह लताकियामा बिहीबार भएको एक कारबम विस्फोटमा परी नौ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् । लताकिया प्रान्तको ग्रामीण इलाकामा अवस्थित जेबलेह सरहको एक स्टेडियमनजिकै सो कारबम विस्फोट गराइएको हाे।

यद्यपि जेबलेह सरहमा भएको यो पहिलो बम विस्फोट भने होइन, यसअघि गत मे महिनामा एक अस्पताल र बस स्टेसनमा गरिएको पाँच वटा बम विस्फोटमा परी कम्तीमा १०६ व्यक्तिको मृत्यु भएको थियो ।

अलेप्पोलगायत सिरियाका अन्य युद्धग्रस्त इलाकाबाट सर्वसाधारणलाई सुरक्षित उद्धार गर्नका लागि गत महिनाको सुरुमा नै टर्की र रुसको मध्यस्थतामा युद्धबिराम गरिएको थियो ।यस युद्धबिराम योजना मुख्यतया सिरियाको अलेप्पो नगरमा जारी युद्धबिरामलाई निरन्तरता दिने प्रयोजनवस ल्याइएको थियो ।

यस सम्झौतामा आतङ्ककारी समूह इस्लामिक स्टेटको भने सहभागीता नरहेको र युद्धबिराम सम्झौता सिरियाली सरकार र विद्रोहीबीच भएको रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले जानकारी दिएका थिए । तर, रुस र अमेरिकाको मध्यस्थतामा भएका, यस अघिका युद्धबिराममा अवलम्बन गरिए जस्तै, अहिले पनि आतङ्ककारीविरुद्ध प्रतिकार गर्नेकार्य भने रोकिने छैन ।

सिरियामा सन् २०११ को मार्च महिनामा सिरियाली राष्ट्रपति बसार अल असदको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछाडि गृहयुद्धमा परिणत भयो । यस गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट पनि दबदबा बढ्दै गयो । जारी यस द्वन्द्वमा परी सन् २०११ देखि हालसम्म तीन लाख १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखाैं व्यक्ति घाइते भएका छन् भने, कैयाैं व्यक्ति आफ्नै देशभित्र तथा छिमेकी देशमा शरणार्थी जीवन बिताइरहेका छन् ।

 

Loading...