• Saturday 21st , January 2017 | शनिबार, माघ ८, २०७३

प्रधानन्यायाधीशलाई विवादमा तान्दै प्रधानमन्त्री दाहाल

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीसँग लडाकु शिविरको मुद्दामा ‘कुरा मिलाइसकेको’ वताएर चर्चित भएका प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीलाई पनि विवादमा तान्ने प्रयास गरेका छन् ।

कसैसँग ब्यक्तिगत भेटवार्ता गरे भने त्यसबारे झूठा सूचना दिएर समेत चर्चामा आउने गरेका प्रधानमन्त्री दाहालले बिहीवार मधेसी मोर्चासँगको बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीलाई पनि विवादमा तान्नेगरी अभिब्यक्ति दिएको खुलेको छ ।

संविधान संशोधनका विषयमा सर्बाेच्च अदालतमा परेको रिटमा सर्बाेच्चले सुनुवाई गरी आदेश दिइसकेको छ । रिटको मागदाबी बाहेक अन्य विषयमा आदेश नदिने विधिशास्त्रीय सिद्धान्त अनुरुप अदालत वा न्यायाधीशले आफूकहाँ परेको रिटको मागदाबी भन्दा अघि बढेर सुनुवाई गर्दैन । तर, दाहालले बिहीवार मधेसी मोर्चासँगको बैठकमा प्रधानन्यायाधीश कार्कीले संविधान संशोधन विधेयक अघि बढाउन अनुमति दिएको भनेर मोर्चाका नेताहरुलाई ढाँटेका छन् ।

सर्बाेच्चको आदेशलाई आधार मानेर भन्दा पनि प्रधानमन्त्री दाहालले आफूले प्रधानन्यायाधीश कार्कीसँग संशोधन प्रस्ताव अघि बढाउने सल्लाह गरेको वताएर विवादमा तान्ने कोसिस गरेका हुन् । प्रधानमन्त्रीले कानुनी सल्लाह लिन संविधान अनुरुप नै महान्यायाधिवक्ताको ब्यवस्था गरेको छ । तर, प्रधानन्यायाधीशलाई आफैंले नियुक्त गरेको महान्यायाधिवक्ताको तहमा राखेर प्रधानमन्त्रीले प्रचार गरेका हुन् ।

गत असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरको भ्रष्टाचार छानविन अघि बढाएको भन्दै पत्रकार सम्मेलन गरेपछि भारत भ्रमणबाट फर्केका प्रधानमन्त्री दाहालले पार्टी बैठकमा लडाकु शिविरको अनियमितता अघि नबढाउन आफूले लोकमानसिंह कार्कीसँग ‘सेटिङ मिलाइसकेको’ वताएका थिए ।

Loading...