• Wednesday 25th , January 2017 | बुधबार, माघ १२, २०७३

“स्ववियु वास्तविक विद्यार्थीका लागि हो, काकाहरु स्थानीय चुनावमा जानुपर्छ”- नरेन्द्र न्यौपाने

त्रिभुवन विश्वविद्यालयले केही दिनअघि २८ वर्षीय उमेर हद र मिश्रित प्रणालीका आधारमा स्ववियु चुनावको बाटो फुकाइदिएको छ । यो संगै क्याम्पसहरुमा विद्यार्थी राजनीतिमा आवद्ध केही नेताहरुले त्रि.वि. को यस निणयप्रति आपत्ति प्रकट समेत गरेका छन् । २८ बर्ष उमेर पार गरिसकेका नेताहरुले उठाइरहेको विषय स्ववियु निर्वाचन प्रणाली, अखिल क्रान्तिकारीको आन्तरिक जीवन, शिक्षा पद्धति र विद्यार्थी आन्दोलन लगायतका समसामयीक विषयमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेसंग एसियन समाचारका लागि नरेश न्यौपानेले गरेको संक्षिप्त कुराकानी –

त्रि.वि.ले स्ववियु निर्वाचनका लागि तय गर्ने कार्यतालिकाबारे केही छलफल भएको छ ?

निर्वाचन कार्यतालिकाबारे छलफल गर्न हिजो मात्रै हामी सवै विद्यार्थी संगठनहरु बस्यौं, सबैको प्रतिक्रिया सकरात्मक छ । लामो समयपछि स्ववियु निर्वाचनको बाटो खुलेको छ । ०६५ को स्ववियु निर्वाचन पछि विद्यार्थी संगठनहरुवीच स्ववियु चुनावको पद्धती कस्तो अपनाउने भन्नेबारे वहस र विमर्श भए । त्यतिवेला हामी क्रान्तीकारीहरु अबको स्ववियु पूर्ण समानुपातिक हुनुपर्छ र उमेरहद कायम गरिनुपर्छ भन्नेमा थियौं । अरु संगठनसंगको अन्तरक्रियामा हामी एकपटकका लागि उमेरहद कायम नगरेरै भएपनि स्ववियु निर्वाचन गर्ने भन्ने एक प्रकारको सहमतिमा पनि पुग्यौं । तर ढिलै भएपनि उमेरहद लगाएर मात्रै निर्वाचन गराउने तत्कालिन नेतृत्वहरुको सहमतिमा तयार पारिएको नियमावली बमोजिम कार्यतालिका आउँछ र अव चुनाव हुन्छ ।

बास्तवमा अब हुने भनिएको मिश्रित निर्वाचन प्रणालीबाट स्ववियु, विद्यार्थी र क्याम्पस कसरी लाभान्वित हुन्छ ?

हामीले उठाउँदै आएको पूर्ण समानुपातिक ढंगले स्ववियु निर्वाचन गर्ने कुरामा अरु संगठनहरु सहमत हुन नसकेपछि सवै संगठनको समझदारीमा मिश्रित निर्वाचन प्रणाली अपनाइयो । यसमा अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष तथा वाँकी पदाधिकारी निर्वाचितहरुको मतदानबाट निर्वाचित गरिने र सबै पदाधिकारीहरु २८ बर्ष मुनिकै हुने भएकाले पनि अब स्ववियु पारदर्शी हुन्छ भन्ने हाम्रो विश्वास छ । २८ बर्ष मुनिको क्याम्पसको विद्यार्थी नेतृत्व ब्यवशायीक साेंचमा पुगि नसकेको हुनाले वास्तविक विद्यार्थीको हितमा केन्द्रीत रहन्छ । किनकी सबै संगठनको प्रतिनिधित्व हुने, कुनै एक विद्यार्थी संगठनको एकल पकड नरहने र वास्तविक विद्यार्थीको नेतृत्व हुने भएकाले पनि अब स्ववियु ठेकेदारी शैलीबाट जाने छैन ।

ग्राउण्ड कमजोर भएका कारण ८ वर्ष देखि अखिल क्रान्तिकारीले नै स्ववियु निर्वाचन रोकेको आरोप तपाईहरुमाथि छ नि ?

ग्राउण्ड कमजोर या मजबुत निर्वाचनले देखाउँछ । हामी ०६९ सालमै स्ववियु निर्वाचनमा केन्द्रीत भएर लाग्यौं तर त्यतिवेला केन्द्रीय क्याम्पस किर्तिपुर र आर.आर क्याम्पसमा एमाले अखिलले तालावन्दी गर्यो । त्यसो गरिदा मुल दुई क्याम्पस वाहेक अन्त चुनाव हुने तर महत्वपूर्ण दुई क्याम्पसमा चुनाव नहुने भएपछि चुनावको अर्थ रहेन । त्यसको असर अन्य क्याम्पसमा पनि परिहाल्यो फलस्वरुप चुनाव हुन सकेन । पछिल्लो पटक फेरि कहिले फागुन १४, कहिले चैत्र १४ र कहिले वैसाख १४ मा चुनाव गराउने कुरा उठे तर छलफल गर्दै जाँदा २०७२ साल पनि निर्वाचनका लागि अनुकुल हुन सकेन ।

०७२ पछि उमेर लगाईने कुरा स्ववियु नियमावलीमै व्यवस्था गरियो अव यो अवस्थामा वनेको कानुन सवैका लागि मान्य हुनुपर्छ । यसकारण हिजो राजतन्त्रको छहारीमा प्रजातन्त्र हुर्किन्छ भन्ने पार्टीहरुले गणतन्त्रको पक्षमा अहिले वकालत गर्नुपरे जस्तै हामीले ल्याएको समावेशी स्ववियु एजेण्डामा अन्य संगठन पनि आइपुगेका छन् । हिजो २०४७ सालकै संविधानमा ‘कमा र फुलस्टप’ परिवर्तन गर्नुहुदैन भन्ने राजनीतिक पार्टीहरु आज कसरी समावेशीता, संघियता, गणतन्त्र र धर्म निरपेक्षता हामीले ल्याएको हो भन्छन् ? हो, त्यसैगरि अन्य विद्यार्थी संगठनहरुले पनि हामीले ल्याएको एजेण्डालाई हाम्रो भन्दा हामी विरोध गर्दैनौ बरु झन् गौरव गर्छौ । हाम्रो एजेण्डाको अरुले स्वामित्व लिने कुराको विरोध होइन क्रान्तिकारी स्वागत गर्छौ ।

अर्को कुरा विद्यार्थी जीवनबाट रिटायर भइसकेकाहरुले २८ बर्ष उमेर हदको विरोध नगरि अव स्थानिय निकायको चुनाव हुन्छ त्यतातिर लाग्न अनुरोध छ । ४० बर्ष पार गरेका बुढा र अंंकलहरुले त संसदको चुनाव पो लड्ने हो त स्ववियु निर्वाचनमा र्याल चुहाउने हो र ? अहिले पनि केही काकाहरु विद्यार्थी हौं भन्दै जवर्जस्ती भिसीलाई कालोमोसो दल्ने, आन्दोलन गर्ने र तालावन्दी गर्ने कुरा गर्दैछन भन्ने कुरा सुन्दैछु यो सर्वथा गलत हो । अखिल क्रान्तिकारीले देशभर २८ बर्ष मुनिको विद्यार्थी नेतृत्वलाई चुनाव लडाउँछ , हामी त्यतातिर केन्द्रीत भइसक्यौं । वास्तविक विद्यार्थीहरुलाई स्ववियु चुनाव लड्न काकाहरुले अवरोध नगरुन् ।

अखिल क्रान्तिकारीको आन्तरिक जीवनमा इलेक्सनमा नगइ सेलेक्सनको विधिमा जानु भो चुनावको सामना गर्न अप्ठ्यारो भएर हो ?

यो डराएर वा सामना गर्न नसकेर होइन वास्तवमा हामीले लेनिनवादी संगठनात्मक प्रणालीकै आधारमा जनवादी केन्द्रीयता अपनाउदै आइरहेका छौं । हाम्रो नेतत्व निर्माणको शैली इलेक्सनभन्दा झन उत्कृष्ट छ भन्छु म । किनभने अहिलेको नेतृत्व शतप्रतिशत सहमतिका आधारमा चयन भएको छ । अब शतप्रतिशत सहमतिमै निर्विरोध नेतृत्व चयन हुन्छ भने निर्वाचनमै जानुपर्छ भन्ने हुँदैन । यद्यपि सहमति हुनै नसक्ने अवस्था हो भने हामीले निर्वाचनलाई अस्विकार गरेका पनि छैनौ । हामीले भर्खरै आर.आर लगायतका क्याम्पसमा निर्वाचन गर्यौ । रुकुम, वाँके लगायतका जिल्लामा पनि निर्वाचनबाटै नेतृत्व चयन गरिएको छ ।

वास्तवमा निर्वाचन प्रणाली एक हिसावले आधा संख्याले मात्रै पनि नेतृत्व लिन सक्ने प्रणाली हो । त्यसैले हाम्रो जोड निर्वाचन अस्विकार नगर्ने तर सकभर सहमतिमै नेतृत्व चयन गर्ने कुरामा छ । यहि क्रममा यस पटक हामी पनि एक पटकलाई अन्तरसंगठनमा चुनाव गराउन लागेका छौं । चैत्र ३ गतेसम्म हुने हाम्रो संगठनको अवको राष्ट्रिय अधिवेशनमा चुनावबाट नेतृत्व चयन हुन्छ । यो विधि सहि देखिए पछि पनि अपनाउने र खराव देखिए फेरि पनि लेनिनवादी संगठनात्मक पद्धति अपनाउने हो ।

विद्यार्थी आन्दोलन सत्ताको एउटा अंश हो वा दबाव समुह के हो ?

वास्तवमा नेपालको सन्दर्भमा विद्यार्थी आन्दोलन वि.सं. १९९७ बाटै नियाल्ने हो भने ठुल्ठूला परिवर्तनको सुरुवात यसकै जगमा भएका छन् । आजको परिवेश निर्माणमा विद्यार्थी आन्दोलन र संगठनहरुकै महत्वपूर्ण भूमिका छ । त्यतिवेला विद्यार्थी संगठनहरुले पार्टीहरुले गर्ने काम गर्थे । तर आजको परिवेशमा पार्टीहरु नै त्रि.वि. का प्राध्यापक, सर्वोच्चका न्यायधिश, संवैधानिक अंगका प्रमुखहरु भागवण्डा गरिरहेका बेला विद्यार्थी आन्दोलन निष्क्रिय भइरहेको सत्य हो । त्यसकारण आज हाम्रो भूमिका केवल दबाव सृजना गर्ने भएको छ ।

मुलुकमा भएका ठुला ठूला आन्दोलनहरुले प्रजातन्त्र, वहुदल, गणतन्त्र ल्याए त्यसमा विद्यार्थीहरुको भूुमिका महत्वपूर्ण रह्यो । तर अब हामीले नेपालको शिक्षा प्रणालीलाई वैज्ञानिक, जनवादी र रोजगारमुलक वनाउने कुरामा राज्यसत्तालाई दबाव दिने र परिवर्तन गराउने हो । त्यसकारण राज्यसत्ताको आजको चरित्र जस्तो छ शिक्षा प्रणाली पनि त्यस्तै छ । हामीले भनेको जस्तो समाजवादी शिक्षा प्रणाली अवलम्वन गर्न सम्पूर्ण विद्यार्थी संगठनको साझा एजेण्डा वनाउन जरुरी छ ।

जनवादी शिक्षाको वकालत गर्ने अखिल क्रान्तिकारी स्वयं वुर्जुवा शिक्षामा विलय भयो भन्छन् नि ?

विलय होइन खास कुरा के हो भने राज्यसत्ता र शिक्षाको अन्योन्याश्रित सम्वन्धले फरक पारेको हो । राज्यसत्ता भनेको टाउको हो । हामी जबसम्म टाउको पूर्णरुपमा परिवर्तन गर्न सक्दैनौ तबसम्म शिक्षा पनि चाहेजस्तो वनाउन सक्दैनौ । त्यसकारण के माओवादी आन्दोलनले पनि विजय हाँसिल गरेको हो त ? होइन नि हाम्रो आन्दोलनले विजयी हाँसिल गरेको भए पो हामीले भनेजस्तो जनवादी शिक्षा आउँथ्यो । त्यसैले जसरी माअ‍ोवादी आन्दोलन सम्झौतामा आइपुग्यो त्यसैगरि जनवादी शिक्षा प्रणाली पनि अगाडि वढाउन सकिएन । तर अन्तिम केन्द्रविन्दु त्यही हो ।

नेपालको शिक्षा प्रणाली विदेशीहरुको हित अनुकुल छ भन्ने छ, यसमा तपाई स्वयंको भोगाई र अनुभुती शेयर गर्न मिल्छ ?

शिक्षा मात्रै हो र ? नेपालमा जे भइराखेको छ । त्यो सबै विदेशीकै इशारामा भइरहेको भनिन्छ । हुन पनि कहिं न कहिं विदेशीहरुको ट्रायल मिलिराखेको जस्तो देखिन्छ । जस्तो नेपालमा सञ्चालन हुने केहि शैक्षिक कार्यक्रमहरुमा विदेशीहरुको लगानी नै छ । जुन उनीहरुको इच्छा अनुरुप सञ्चालित हुन्छ । यद्यपि अहिलेको ग्लोबल इन्ट्रेष्टलाई पनि हामीले ध्यान दिनुपर्छ । जस्तो सेमेष्टर प्रणाली ग्लोबल पद्धतिका रुपमा आएको छ त्यसलाई स्वभाविक रुपमा लिनु पर्यो, कतिपय पाठ्यक्रम अन्यत्रका अनुकरण होलान् हाम्रोमा म्याच नखालान् तिनलाई त्यसैगरि वुझ्नुपर्यो ।

मानौं कतिपय मुलुकलाई विद्युत उत्पादनका लागि आणविक उर्जा जरुरी छ । त्यहाँ आणविक क्षेत्रकालागि दक्ष जनशक्ति उत्पादन गर्नुपर्ला हामीकहाँ पानी छ हाइड्रो पावरमा दक्ष जनशक्ति वढी उत्पादन गर्नुपर्ला । आ–आफ्नो नेशनल रिसोर्स अनुसार जनशक्ति चाहिन्छ र त्यसैमा वढी जोड दिनुपर्छ ।

अन्तमा संविधान संशोधनको विषयलाई लिएर सहकर्मी संगठनले थालेको आन्दोलनलाई कसरी लिनु भएको छ ?

मैले यसलाई साँच्चै भन्नुहुन्छ भने एउटा नाटकका रुपमा वुझेको छु । त्यसो भए के हामी आन्दोलन नगर्नेहरु राष्ट्रियता विरोधी हाैं र ? संविधान संशोधनको कुरा हाम्रो आन्तरिक मामिला हो । विदेशीको सरोकारको विषय होइन । तर मैले के वुझिरहेको छैन भने नेपालमा संघियता र धर्म निरपेक्षता भारतलाई भित्रदेखि मन नपर्नु, चीनले पनि कहिले काँही मन नपरेको जस्तो अभिव्यक्ति दिनु र एमाले काँग्रेसहरुलाई पनि भित्रभित्रै चित्त नबुझ्नु यो के भइराखेको हो ? त्यसकारण कुनै न कुनै मिलनविन्दुको खोजीमा उनीहरु छन् जस्तो मलाई लाग्छ । अस्ति भर्खरै मात्र वामदेव र काँग्रेसका केही नेताहरुले संघियता जरुरी छैन भन्ने वोलेको पनि सुनियो, त्यो परिवर्तन स्विकारमा समस्या हो । त्यसकारण यो आन्दोलनको कुनै तुक छैन ।