• Tuesday 28th , February 2017 | मङ्लबार, फाल्गुन १७, २०७३

मधेसी जनता भन्छन्-‘पहाड–मधेस’ होइन, देशको कुरा गर ! नत्र पहाड पनि बाँकी रहन्न’

काठमाडौं- नेकपा एमालेसहित ९ दलले शुक्रबार राजधानीमा संविधान संशोधनविरूद्व शक्ति प्रदर्शन गरे । एमालेको अगुवाइमा ‘शक्ति प्रदर्शन’ सहितको आमसभाको आयोजना गरियो । ९ दलको साथ पाएको एमालेको दशक यताकै ठूलो जनप्रर्दनसमेत हो ।

प्रदर्शनमा झाँकीसहित विभिन्न समुदायका मानिस उपस्थित थिए । तर, सभाको ध्यान खिचेका थिए मधेसी समुदायले ।

गलामा सेतो गम्छा पहिरिएर आमसभामा सहभागी हुन राजधानीमा बसोबास गर्ने मधेसी समुदाय मात्र होइन गाडी ‘रिजर्भ’ गरेर दुई नम्बर प्रदेशबाटसमेत उल्लेख मधेसी समुदाय उपस्थित भएका थिए ।

आमसभास्थलको मध्यभागमा भेटिए जनकपुरका सरोजकुमार शर्मा । गलामा गम्छा ओढेका उनी धोती लगाएर प्रदर्शनमा सहभागी थिए ।

कुराकानीको सुरुमै आग्रह गरे, “अब हामीले पहाड–मधेसका कुरा गर्ने होइन, सिंगै देशका बारेमा सोच्नुपर्छ । मधेसी, पहाडी भनेर नहेरौँ ।”
उनी भन्दै थिए नेताहरूले आ–आफ्नो क्षेत्रको कुरा गर्दा भारतले खेल्ने मौका पायो । “हामी आफैँ झगडा गरेर बस्यौँ भने अरुले खेल्न थालिहाल्छन् नि !,” उनले थपे ।

मधेसीको सवालमा एमालेले लिएको नीति ठिक भए पनि मधेसीलाई बुझाउन नसकेको धारणा राखे । “एमालेले लिएको विचार सही भएर नै गाडी रिजर्भ गरेर यहाँ आएका हौँ तर नीति ठिक भए पनि नेताहरूले मधेसमा गएर आफ्ना कुरा राख्न सकिराखेका छैनन् । यस्तो आमसभा मधेसमा गर्नुपर्छ,” उनले जोड दिए ।

सिमांकन होइन विकास चाहियो
उनको छेवैमा थिए मुकेशसिंह यादव । उनले पनि त्यस्तै प्रतिक्रिया दिए । भन्दै थिए, “मधेसी समुदायले संविधान पढेका पनि छैनन्, नेताहरूले पढाएका पनि छैनन् । त्यसका के लेखिएको छ, थाहा पनि छैन । हामीलाई विकास चाहियो ।” उनले भूगोल पाउँदैमा देश विकास नहुने ठोकुवा पनि गरे ।

आमसभामा सहभागी हुन सर्लाहीबाट पनि ठूलै पंक्ति आएको थियो । त्यसमध्ये थिए आनन्द महतो । उनले चाहिँ तराई– पहाड जोडेरै प्रदेश बनाउनुपर्ने जिकिर गर्दै भने “दुई नम्बर प्रदेशमा आठवटा जिल्ला छ । न नदी छ, न वनजंगल नै छ ।’

हामीलाई गिटी वालुवा चाहियो भने लिन कहाँ जाने ? यस्ता कुरामा ध्यान पुर्याउनुपथ्र्यो !” सिन्धुली, उदयपुर लगायतका केही जिल्ला जोडेर प्रदेश बनाउनुपर्ने उनको धारणा थियो ।

धनुषा मिथिलेश्वर निकास गाविसका अध्यक्ष गंगाप्रसाद मुखिया पनि आमसभामा सहभागी हुन आएका थिए । उनले चाहिँ तराईं टुक्रने सपना नदेख्न चेतावनी दिए ।

“भारतबाट सवैभन्दा प्रताडित मधेसी छन् । हिमाल पहाडमा बसेर तराई टुक्रन्छ कि भन्नु मुर्खतापूर्ण कुरा हो,” उनको भनाइ थियो ।
उनले मधेसलाई अधिकार दिने, माथिल्लो सभामा मधेसी समुदायको प्रतिनिधित्व गराउने कुरा जायज भएकाले मधेसी मोर्चाले उठाएका सबै माग गलत छन् भन्नु नहुने धारणा पनि राखे ।

“यहाँ पनि देख्नुभयो, थारु आफ्नै भेषभुषामा आएका छन् । तामाङ, शेर्पाले आफ्नै जातित्व झल्काएका छन् । त्यसको अर्थ एमालेले पहिचान स्वीकारेको हो । यी कुरा मधेसी समुदायलाई बुझाउनुपर्छ,” उनको भनाई थियो ।

यसैगरी धनुषाकै भरत साहले मधेसमा सिमांकनको मुद्दा पेचिलो बनाउन नहुने धारणा राखे । “मधेसलाई चाहिएको विकास, अधिकार हो । सिमांकनले अधिकार दिँदैन । राजनीतिक दलले त्यसबारे विचार पुर्याउन्,” उनी भन्छन् ।

उनले सत्तापक्ष, प्रतिपक्ष र मधेसी मोर्चाको त्रिपक्षी द्वन्द्वमा मुलुक फसेको भन्दै यसले निष्कर्ष नदिने र बाह्य हस्तक्षेप झनै बढ्ने तर्क अघि सारे ।

“सबै एकठाउँमा आएर देशको बारेमा सोच्ने बेला आइसकेको छ । देश नरहे पहाड मधेसचाहिँ बाँकी रहन्छ र ?,” उनको प्रश्न थियो ।
उनले मधेसी मोर्चाले उठाएका जायज माग सम्वोधन गरेर निकास निकाल्न सुझाव पनि दिए ।

देश टुक्रन लाग्यो भनेर सभामा सहभागी
सभामा सहभागि अन्य समूदायका मानिसहरुले भने संविधान संशोधन विधेयकको अन्तवस्तुका बारेमा अनभिज्ञ भए पनि एउटै जवाफ दिए – देश टुक्रन लाग्यो भन्ने सुनेर आएका हौँ ।

लम्जुङबाट विश्वराज मिश्र र हरिमाया मिश्र सहभागी थिए । उनीहरू भन्दै थिए, “देश टुक्रन लाग्यो । संसद्मा के–के जाती लगेको छ रे, त्यो पास भए देश विखन्डन हुन्छ भन्ने सुनेर आन्दोलनमा आएका हामी !”

विधेयकबारे बुझ्नु भएको छ त ? भन्ने जिज्ञासामा भने उनीहरूले केही थाहा नभएको प्रतिक्रिया दिए ।

त्यस्तै लोकतान्त्रिक अपांग संघका वीरेन्द्र पोखरेलले पनि राष्ट्र विखण्डनतर्फ अघि बढेकाले रोक्न आएको प्रतिक्रिया दिए ।

“सबै जाति, समुदायका मानिसलाई संविधानले अधिकार दिएको । यो अधिकार उपयोग गरे देश विकास हुन्छ । संविधानको कार्यान्वयन गरौँ । पछि पुगेन भने संशोधन गरेर थपौँला । कार्यान्वयन नभई त्योबारे थाहा हुँदैन,” उनको राय थियो ।