• Tuesday 23rd , May 2017 | मङ्लबार, जेष्ठ ९, २०७४

नेपालको हिमालमा पाइने रहस्यमय जीवलाई मानिसले किन देख्न सक्दैनन् ?

काठमाडौं- हिमालमा बस्ने फरक मानव जाति अर्थात ‘यती’ पनि भनिने हिममानवको अस्तित्वबारे लामो समय देखि विवाद र बहस हुँदै आएको छ ।

नेपाल र तिब्बतको हिमाली क्षेत्रमा पाइने ठानिएको यतीको आकार र प्रकारबारे अनेक किम्बदन्ती छन् । कतिपयले यसलाई बाँदर जस्तो त कतिले भालू जस्तो जीवकोरुपमा चर्चा गर्छन् । हिमालमा यतीको घर हुने किम्बदन्तीहरु पनि प्रचलनमा छन् । रहस्यमय यतीको विषयमा कैयौं अनुसन्धान र शोध पनि गरिएको छ ।

यतीको बारेमा स्थानीय मानिसहरू, विभिन्न पर्वतारोहीहरू र अनुसन्धानकर्ताहरूले यतीको अस्तित्वको बारेमा उल्लेख गर्ने गरे तापनि यसको बारेमा कुनै वैज्ञानिक प्रमाणले यसलाई आजसम्म पुष्टि गर्न सकेको छैन ।

यद्यपि यती पाइने भनिएको क्षेत्र वरपरका स्थानीय मानिस, विभिन्न समयमा पर्वतारोहण गर्ने पर्वतारोहीहरू र अनुसन्धानकर्ताका उपर्युक्त बमोजिमका भनाइहरूबाट कुनै अनौठो जीव हिमालय क्षेत्रमा रहन सक्ने र भौगोलिक विकटता लगायतका विविध कारणहरूले त्यसको वैज्ञानिक अनुसन्धान हुन नसकेको हो की भन्ने अनुमान गर्न गाह्रो पर्दैन ।

यतीबारेका रोचक रहस्य

नेपाली शेर्पा र तिव्वतीहरूका अनुसार यती विभिन्न प्रकारका हुन्छन् । ठूलो जातको यती मानिस र लामो पुच्छर भएको बाँदरको वर्णसंका जस्तो हुन्छ । यो राम्रोसँग उभिन सक्दछ । यो दुइ मिटरभन्दा अग्लो हुन्छ र यसको गाढा-खैरो, कालो रौँ हुन्छ । त्यस्तै अर्को प्रकारको यती औसत मानिसभन्दा सानो हुन्छ र रातो-खैरो छाला हुन्छ । यी यतीहरूमा दुई कुरामा समानता पाइन्छ । त्यो के भने यिनीहरू राम्रो सँग दुई खुट्टामा उभिन सक्छन् र यिनीहरू सबै रहस्यमय छन् ।

सन् १८३२मा बेलायती नागरिक बी.एज. हडसनले नेपालमा शरीरभरि रौं नै रौं भएको जीवले आफ्नो नोकरमाथि आक्रमण गरेको भनी उल्लेख गरेका थिए । स्थानीय मानिसहरूले यसलाई राक्षस भन्थे । यो नै पश्चिमीहरूले सम्भावित यतीको बारेमा तयार पारेको पहिलो प्रतिवेदन थियो । सन् १८८९मा ब्रिटिश आर्मीका मेजर एल.ए. वाडेलले सिक्किमको उच्च चुचुरोमा ठूला पैतालाको छाप भेटेको भनी उल्लेख गरेको पाइन्छ ।

त्यस्तै सन् १९१३मा केही चिनिया शिकारीहरूले शरीरभरि रौँ नै रौँ भएको मानव जस्तो जीवलाई घाइते बनाई पक्रेर पटाङ्ग सिङ्गीयाङ क्षेत्रमा थुनेर राखे । तत् पश्चात पाँच महिनापछि यसको मृत्यु भयो ।यो कालो बाँदरको जस्तो अनुहार, ठूलो शरीर, चम्किलो पहेंलो केही इञ्च लामा रौँ शरीरभरि भएको, हात खुट्टा मानिसको जस्तो भएको र अत्यधिक बलियो थियो भन्ने उल्लेख भएको पाइन्छ ।

सन् १९२१मा कर्णेल होवार्ड बुरीद्वारा नेतृत्व गरिएको ब्रिटिश एक्पीडिसन टिमले सगरमाथामा करिव १७,५०० फिटको उचाईमा हिउँमा कालो आकृति घुमिरहेको दृश्य देखेका र उक्त स्थानमा गई हेर्दा कुनै जीव नभेटिएको तर मानवका जस्तो ठूलो पाइताला छाप भेटिएको भन्ने उल्लेख भएको पाइन्छ । सन् १९२३मा सगरमाथा आरोहण दलका मेजर एलन क्यामेरोनले कालो र ठूलो आकृतिको अवलोकन गरे । उक्त ठाउँ उनी रहेको ठाउँवाट २ दिनमा पुग्न सकिन्थ्यो भन्ने उल्लेख भएके पाइन्छ ।

सन् १९२५मा ग्रीक फोटोग्राफर तथा र्‍वायल जियोग्राफिकल सोसाइटीका सदस्य एल.ए. तोम्बाजीले झल्याक्क एउटा आकृति देखेको र उनका अनुसार त्यो जीव मानव जस्तो थियो। माथितर्फ हिँडिरहेको थियो , रोकिँदै लालीगुँरासको फुलको कोपीलाहरू चुँड्दै गर्दथ्यो । तोम्बाजी त्यतिखेर हिमालमा १५,००० फिटको उचाइमा थिए । उनी सो दृश्यहरू देखेको ठाउँमा पुग्दा अचम्मका पाइलाहरू थिए भनी उल्लेख गरेको पाइन्छ ।

सन् १९४२मा स्ल्याभोमिर र्‍याविकजको द लङ्ग वाक नामक पुस्तकमा उनले उल्लेख गरे अनुसार उनी र उनका अन्य ६ जना साथिहरू साइवेरिया युद्धवाट भाग्ने क्रममा भुटान र सिक्कीमको बीचमा हिमालय पार गर्दा उनी र उनका साथीहरूले दुई घण्टासम्म १०० कदम परबाट झण्डै आठ मिटर अग्ला, ठूला जीवहरू देखेको उल्लेख गरेका छन् ।

सन् १९४८मा नर्वेका जान पसटिसलाई सिक्किममा दुई यतीहरूले आक्रमण गरेका र उनको पाखुरामा ठूलो घाउ लागेको र उपचारपछि निको भएको भनि दाबी गरिएको पाइन्छ ।  त्यसैगरी सन् १९४९मा तेन्जिङ्ग नोर्गे शेर्पाले गुम्बाको नजीकै हिउँमा यतीहरू खेलिरहेको देखेको दाबी गरेका भनी उल्लेख गरेको पाइन्छ ।

सन् १९९८मा अमेरिकी आरोही क्रेग क्यालोनिकाले सगरमाथा आरोहणको क्रममा चिनिया साइडवाट तल झर्दै गर्दा एक जोडी यती देखेको र तिनीहरू मोटा, चम्किला -काला रौहरू भएका र तिनीहरू माथितिर हिडिरहेका थिए भन्ने उल्लेख भएको पाइन्छ ।

सन् २००७को डिसेम्बरको प्रारम्भतिर अमेरिकी टेलिभिजन प्रस्तोता जोसुआ गेट्स र उनको समूह डेस्टिनेशन टु्रथले आफुहरूले नेपालको हिमाली क्षेत्रमा अनौठा पैतालाछाप देखेको रिपोर्ट गरेको उल्लेख छ ।

यतीको बारे अनुसन्धान

जापानी पर्वतारोही पाइताला पाइताला छाप ताकाहासी र उनको समूहले नेपालको धवलागिरी हिमालमा यतीको बारेमा अनुसन्धान गरेका थिए । सन् १९७१मा धवलागिरी क्षेत्रको यात्राको क्रममा उनले रहस्यमय जीव देखे जसले गर्दा उनले यतीको विषयमा बढी रुचि राख्न थाले । तत्पश्चात् उनका साथीले एउटा रहस्यमय जीव देखे । त्यो करिव १५० सेन्टिमिटर -५ फिट) अग्लो थियो र दुई खट्टाले उभिएरै हिँडिरहेको थियो ।

ताकाहासी सन् १९९४मा यती पहिल्याउन भनि धवलागिरी क्षेत्रमा पुनः फर्के । त्यसबेला उनले पहाडका गुफामा मानिसको जस्तो पैतालाको छाप देखे जहाँ जनावरको जस्तो कडा गन्ध आएको थियो । सन् २००३ माता ताकाहासी र उनको टोलीले रहस्यमय धेरै पाइताला छाप फेला पारे र उनीहरूले त्यस ठाउँको वरपर अवलोकन गरे ।

द यति प्रोजेक्ट जापान २००८ वेवसाइटको लेखमा ताकाहासीले लेखेका छन् कीसन् २००३ सेप्टेम्बर २७को १२ः२५ बजेमा गुर्जा हिमालमा तीनवटा काला आकारका आकृति देखिएका र तिनीहरू मानव जस्तै थिए । तिनीहरू दुई खुट्टाले उभिएर हिँडिरहेका थिए । उक्त समूहले यतीलाई राम्रोसँग हेर्न चाहन्थे तर केही क्षणमै ती आकृति नजरबाट टाढा हुँदै ओझेल परे । उनका अनुसार यो भालु पनि होइन र बाँदर पनि होइन तर यो पक्कै पनि दुई खुट्टाले हिँड्ने रहस्यमय जीव हो ।

दुर्भाग्यवश नै भन्नु पर्दछ उक्त टिम वैज्ञानिक प्रमाणका लागि यतीको दृश्य लिने आफनो लक्ष्यमा सफल हुन भने सकेन ।

मानिसले किन देख्न सक्दैनन् ? यती

बिबिसी म्यागेजिनमा छापिएको एक रिपोट अनुसार, घना तथा सुन्दर वनले ढाकिएको भुटानको हिमाली क्षेत्रमा पर्ने दुर्गम गाउँ छेन्देब्जी । यो गाउँमा कहिलेकाहीँ बाघ, हिमचितुवा र जंगली बँदेल घुमिरहेका भेटिन्छन् । सात वर्षअघिसम्म पनि यो गाउँ निर्जर थियो ।

घाँस–दाउराका लागि पहाडको भिरालो भागमा कहिलेकाही पञ्जाको अनौठा छाप देख्दा गाउँका मानिसको मुटु चिसो हुन्थ्यो । उनीहरूको होसहवास नै उड्थ्यो । ‘म नौ वर्षकी हुुँदा स्याउला लिनका लागि लेकतिर जाँदा अनौठो दृश्य देखेँ,’ ८० वर्ष पुग्न लागेकी पेमा दोर्जी चाउरिएको अनुहारमा मुस्कान छर्दै भन्छिन् । नौ रात अनवरत हिउँ परेर सामान्य रूपमा आकाश खुल्नासाथ पेमा त्यस क्षेत्रमा गएकी थिइन् ।

‘हिउँबाट बच्नका लागि यती उच्च हिमाली क्षेत्रबाट तल झरेको हुनुपर्छ, मैले त्यहाँ यतीले छाडेको पञ्जाको अनौठो छाप देखेँ,’ उनी भन्छिन् । यो घटनाको ६० वर्ष बितिसक्दा पनि उनी अनौठो दृश्यले मनमा उब्जिएको त्रास अझै सम्झिन्छन् । ‘त्यस्तो अनौठो छाप देखेपछि म त्यहाँ केही क्षण पनि बस्न सकिनँ । हतपत्त दौडिएर घरतिर भागेँ,’ उनी सम्झिन्छन् ।

सूर्यास्तपछि यो बस्तीमा विस्तारै अँध्यारो छाइरहेको छ । गाउँका बूढापाकाले यो समयमा यती, जसलाई स्थानीय भाषामा ‘मिगोई’ भनिन्छ, को कथा सुनाउने परम्परा छ । ‘जब म स्याउला नल्याइकन खाली हात घर फर्किएँ, मेरा बुबाआमा निरास भए । मैले उनीहरूलाई यतीको पञ्जाको छाप देखेको कुरा बताए । छाप ताजै भएकाले यती केही समयअघि हिँडेको हुनुपर्छ भन्ने मेरो आँकलन थियो । यो देखेर म ज्यादै डराएको कुरा पनि सुनाएँ,’ उनी भन्छिन् ।

पेमाको पछाडिपट्टि बसेको केटो उनका प्रत्येक शब्द सुनेर चकित परिरहेको थियो । उसले विस्फारित आँखा घुमाउँदै उत्तेजित हुँदै सोध्यो, ‘त्यो छाप अरू जंगली जनावरको पनि हुनसक्छ नि !’ त्यसपछि पेमाले मुन्टो हल्लाएर यो घटनालाई अझै विस्तृत रूपमा बताउन थालिन् । ‘मैले आफूले देखेको पञ्जाको छापबारे बुवालाई सुनाएँ, उहाँले यतीको खुट्टा मान्छेको भन्दा ठिक उल्टो हुने बताउनुभयो । मैले देखेको पञ्जाको छाप बुवाले भनेअनुसारकै थियो । यसबाट म त्यो छाप यतीकै हो भन्नेमा ढुक्क भएँ,’ उनी भन्छिन् ।

भुटानभरि के विश्वास गरिन्छ भने यती पदयात्रीभन्दा ठ्याक्कै उल्टो हिँड्छ । तर, पेमाले बताएको कथाचाहिँ अलि फरक देखिन्छ । उनका अनुसार यतीको खुट्टाको अग्लो भाग अगाडिपट्टि हुन्छ । अर्को सामान्य विश्वास चाहिँ के छ भने यतीले आफ्नो शरीर निहुराउन सक्दैन । यतीसँग जोडिएका यस्ता थुप्रै प्रसंग सुन्न पाइन्छ ।

लेखक कुन्जाङ छोदेनका अनुसार अधिकांश भुटानीका परम्परागत घरको ढोका ज्यादै सानो हुन्छ, सुरक्षाका लागि नै उनीहरूले यसो गरेको हुनुपर्छ । छोदेनले आफ्नो ‘यतीको भुटानी कथा’ भन्ने किताबमा परम्परागत घरको दैलोको बारेमा व्याख्या गरेकी छन् । टाउको निहुराएर र हातखुट्टा मज्जाले नबंग्याइकन त्यस्ता दैलोबाट घरभित्र पस्न मुस्किल हुन्छ । शायद, यती घरभित्र सजिलै नपसोस् भन्ने उद्देश्यले भुटानका दुर्गम गाउँमा यस्तो दैलो र झ्याल बनाउने गरिएको हुनुपर्छ ।

७३ वर्षीय कर्मा छिरिङ आफ्नो खेतीपातीको छेउमा रहेको सयौं वर्ष पुरानो घरमा बस्छन् । घरको खम्बामा विभिन्न खालका काल्पनिक जन्तुको चित्र कुँदिएको छ, यसो गर्नाले घरभित्र नराम्रो आत्मा पस्दैन भन्ने विश्वास छ । उनी यतीको बारेमा आफूले जानेको कुरा बताउन राजी भए ।

‘मैले बुवाआमा तथा हजुरबुवा–हजुरआमाबाट सुनेको कथाको आधारमा यतीको शरीरको रौ बाँदरको जस्तै हुन्छ तर यसको खुट्टा–हातचाहिँ हाम्रो जस्तै र आकारचाहिँ अझै ठूलो हुन्छ । यतीको टाउकोमा लामो तथा बाक्लो कपाल हुन्छ र यो छातीसम्म आइपुग्छ,’ उनी भन्छन् ।

यतीसँग जम्काभेट भयो भने ओरालो भएको ठाउँतिर भाग्नुपर्छ, ओरोलोतिर यती दौड्दा कपालले आँखा तथा अगाडिको भाग पूरै छोपिने भएकाले सामुन्नेको वस्तु देख्न सक्दैन । अग्लो स्थानतिर हिँड्दा भने यतीको कपाल पछाडिपट्टि जाने भएकाले अगाडिको वस्तु हेर्न सजिलो हुन्छ । त्यसले गर्दा सामुन्नेमा मान्छे भेटियो भने यतीले सजिलैसँग आक्रमण गर्छ । अहिलेसम्म गाउँका कसैलाई पनि यतीले आक्रमण नगरेको कर्माले सुनाए । भुटानको सुदूरपूर्वी क्षेत्रमा भने यतीले आक्रमण गरेको घटना आफूले सुनेको उनले जानकारी दिए ।

कर्माका अनुसार मानिसहरूको एउटा समूह हिमालमा विशेषखालको रुख हेर्न गएको थियो, त्यो रुखको काठबाट उनीहरू मुकुन्डो बनाउन चाहन्थे । त्यही बेलामा यती देखा परेर तिनीहरूलाई लखेट्यो । त्यहाँ गएकोमध्ये एउटा मानिस हरायो । ऊ एउटा सानो घरमा लुकेर त्यही ध्यान गर्न थाल्यो । तर, त्यहाँ यती आएर घर भत्कायो, पर्खाल सबै उप्कायो । यतीले त्यो मान्छेलाई खाएन तर निर्दयीपूर्वक मार्यो । उसको शरीरको सबै भाग क्षतविक्षत पारेर मिल्काइदियो ।

त्यसपछि कर्माले मलाई वनको किनारा हुँदै भिरालो बाटोतर्फ लगे । टाढाको रुखबाट एउटा कोइलीले गीत गाइरहेको थियो । वनमा फुलेको पहेलो फूलबाट मीठो बासना आइरहेको थियो । कर्माले सानो चट्टानमा उभिएर हिमालतर्फको भञ्ज्याङ देखाए । ‘तिमीले हिमालको उच्चभागमा बादलको गुच्छा देखिरहेका छौ ? त्यहाँ चौपाया चर्नका लागि खुलाचौर छ । त्यो भागबाट हिँडेर अझै टाढा गएपछि मात्र यतीको खुट्टाको डोब देख्न सकिन्छ ।

‘तिमी फेरि त्यहाँ कहिले जान्छौं ?’ मैले सोधे ।
कर्मा हाँस्छन् । ‘म बूढो भइसकेँ । मलाई लाग्दैन कि अब म साना चुचुरा पनि उक्लिन सक्छु । मेरालागि अग्ला पहाड चढ्ने कुनै उपाय छैन, अहिले त्यो स्थानमा केही मानिस मात्र जान सक्छन्,’ उनले सुनाउँछन् । छेन्देब्जीका युवा किसान नोर्बुले यतीको प्रमाण देखेका छन्, उनी नै यतीको खुट्टाको छाप देख्ने पछिल्ला व्यक्ति हुन् । अहिले नोर्बु ३८ वर्षका भए । १८ वर्षको हुँदा उनी गाईवस्तु लिएर हिमालतिर गएका थिए । त्यसबेला उनले हिउँमा यतीको खुट्टाको ठूलो छाप र शरीरको चिनो देखेका थिए । कपालले अगाडिको भाग ढाकिएकाले गर्दा यतीले आसपासको केही चिज देख्न सकेन । यसको पाँच वर्षपछि नोर्बुले अस्वाभाविक स्थान पत्ता लगाए, जहाँ एउटा यस्तो अचम्मको गुफा र बाँसको लाठी थिए ।

‘यतीले बाँस भाँचेर त्यसलाई अर्धवृत्ताकार आकारमा ढाली त्यसको दुई छेउ जमिनमा गाडेको थियो । त्यसलाई गुफाजस्तो बनाएर ऊ भित्रपट्टि सुत्थ्यो । मैले त्यो ओडारभित्र यतीले छाडेका चिनो देखेको थिएँ,’ नोर्बु भन्छन् । नोर्बु गाउँभन्दा माथि रहेको गुफामा पुगेको खबर सबैतिर फैलियो । यसको दुई महिनापछि नोर्बु घर बनाउन काठ काटिरहेको थियो, त्यही बेला दुईजना मानिस आइपुगे । उनीहरूले नोर्बुलाई ओडार देखाइदिन आग्रह गरे । नोर्बु आफ्नो काम रोकेर उनीहरूलाई गुफा देखाइदिन सहमत भए । उनीहरू तीनैजना गुफा भएको स्थानतिर हिँडे । उक्त स्थान टाढा भएकाले तीनैजनाले यतीको गुफामा रात बिताउनुपर्ने भयो । यो यात्रा शान्तिपूर्ण तरिकाले सम्पन्न भयो । यो अन्तिमचोटि थियो, त्यसयता छेन्देब्जीका कोही पनि बासिन्दाले यतीको चिह्न देखेका छैनन् । नोर्बुका अनुसार अहिले मानिसहरू दाउरा खोज्न वा गाईवस्तु चराउनका लागि लेकतिर जानुपर्दैन । उनीहरूले खानेकुरा ग्यासले पकाउन थालेका छन् । खेती गर्ने तरिका पनि पहिले भन्दा परिवर्तन भएको छ ।

गाउँलेले आलु, तैलीयबाली जस्ता छिटो नगद कमाउन सकिने नगदेबालीमा आफ्नो समय लगाउन थालेका छन् । पहिले घाम डुब्नुबित्तिकै दिन सकिन्थ्यो । अहिले बिजुलीबत्ती भएकाले राति अबेरसम्म मानिसले घरमै बसेर कम्बल, सलजस्ता सामग्री बनाएर राजधानी थिम्पुमा रहेको बजारमा बेचबिखन गर्न सक्छन् । ‘धेरै तरिकाले मानिसको जीवनमा सुधार आएको छ तर नयाँ पिँढीलाई सुनाउने खालका कथा भने हराउँदै गएको छ,’ नोर्बु भन्छन्, ‘हामी दुई दशकभन्दा बढी समयदेखि हिमाल गएका छैनौं र अझै पनि हाम्रो हिमाली क्षेत्रमा यती छ भन्ने कुरामा हामी साँच्चिकै विश्वस्त छैनौं तर यसले केही फरक पार्दैन किनभने कतै न कतै त पक्कै यती छ नि !’

कसैले यतीलाई फेरि फेला पार्लान् भन्ने नोर्बुलाई लाग्दैन किनभने यो चलाख जनावर हो । यो एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरिरहन्छ । ‘मैले यती भेटेको ठाउँमा केही मानिस मात्र जानसक्छन् तर उनीहरूले त्यहाँ यतीलाई भेट्छन् भन्ने कुनै निश्चित छैन । एउटा कुरामा भने म विश्वस्त छु – यसको अस्तित्वचाहिँ छ,’ नोर्बु निर्धक्कसाथ बताउँछन् ।