• Friday 26th , May 2017 | शुक्रबार, जेष्ठ १२, २०७४

अत्याधिक हिमपातका कारण बाजुराका ११ गाविस प्रभावित

बाजुरा, शनिबारदेखि भएकाे हिमपातका कारण जिल्लाको उत्तरी भेगका ११ गाविस बढी प्रभावित बनेका छन् । जिल्लामा बाक्लो हिमपात भएपछि उत्तरी भेगका ११ गाविसमा सवारी साधन र बाटो बन्द भएका छन् । शनिबार बिहानैदेखि बादलले आकाश पूर्ण रुपमा ढाक्दा बाजुरालगायत सुदूरपश्चिमका क्षेत्रमा निकै चिसो बढेको छ ।

बाजुरामा राति हिमपात सुरु भए पनि सुदूरपश्चिमका अन्य-अग्ला लेक सैपाल, बडिमालिका, खप्तड, अपी सैपाल, बूढीनन्दालगायत ठाउँमा शनिबारदेखि नै हिंउपर्न थालेको थियो ।

पोरखे लेकमा पाँचदेखि छ फिट हिउँ परेका कारणले मानिस र अन्य सवारीका साधन नचलेको प्रजिअ देवेन्द्र लामिछानेले बताए । उनले हिउँ पर्न थालेपछि उत्तरी भेगमा जाने सवारी साधन, खच्चर, भेंडासमेत चल्न–हिँड्न बन्द भएको जानकारी दिए । जिल्लामा बाक्लो हिमपात भएपछि प्रभावित सबै गाविसका विद्यालय चिसोका कारणले बन्द भएका छन् । विच्छ्या गाविसमा पूरै हिउँ परेर मानिसहरु घर बाहिर निस्कन पाएका छैनन् ।