• Sunday 23rd , April 2017 | आइतवार, बैशाख १०, २०७४

नेपालमा रहेकाे प्रतिबन्धित भा.रू साट्ने विषयमा भारतीय पक्ष सकारात्मक

काठमाडौं, नेपालमा रहेकाे प्रतिबन्धित भाररतीय ५ सय र १ हजारको नोट साट्ने विषयमा छलफल गर्न भारतीय पक्ष सकारात्मक देखिएको छ । नेपालमा रहेको भारतीय दुतावासले हालै अर्थमन्त्रालयलाई यस्तो जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी बिनिमय बिभागका प्रमुख भिष्मराज ढुंगानाले भने-‘भारतीय पक्षले छलफल गर्न चाहेको भन्ने जानकारी हामीले पाएका छौं, समय भने तय भएको छैन्।’

छलफलको लागि भारत जान यसअघि नै डुपुटी गभर्नर चिन्तामणी शिवाकोटीको संयोजकत्वमा कमिटि गठन भएको थियो । यसअघि पटक-पटक छलफलमा जान नेपाली टोलीले प्रयास गरेपनि भारतबाट निम्तो आएको थिएन । भारतले पनि नेपाल र भुटानसँग यस विषयमा छलफल गर्न समिति बनाइसकेको खबरहरु सञ्चारमाध्यमहरूमा अाएका थिए । अहिले भारतीय पक्षले चासो व्यक्त गरेपनि समय भने निश्चित भैसकेकाे छैन।

यसअघि भारतले सन् २००० मा भारुका ५ सय र १ हजार प्रतिबन्ध लगाएको भएपनि २०७१ माघबाट पुनः खुला गरेको थियो । गत मंसिरबाट भारतले कालोधन नियन्त्रणको लागि भन्दै भारु ५ सय र १ हजारमा नोटबन्दी लगाएको हो। तर, यो नोटबन्दी कालोधन नियन्त्रणमा असफल भएको र सर्वसाधारणलाई हैरानी मात्र भएको भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना शुरु भएको छ । भारतमै पुस १५ गतेसम्ममा यी नोट जम्मा गरिसक्नु पर्ने निर्देशन दिइएको थियो । बजारमा १४ लाख करोड भारु ५ सय र १ हजारको नोट सर्कुलेशनमा रहेकोमा अन्तिम दिनसम्ममा करीब ८० प्रतिशत अर्थात् ११ लाख करोड बराबरका नोट जम्मा भएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।