• Wednesday 18th , January 2017 | बुधबार, माघ ५, २०७३

मिर्गौलाको पत्थरी – कारण, लक्षण र उपचार

डा. कुशल कार्की, मिर्गौलाको पत्थरी ५-१० प्रतिशत मानिसलाई लाग्न सक्छ। सामान्यतः महिलाभन्दा पुरुषलाई बढी हुने गरे पनि सबै उमेर समूहका मानिसलाई मिर्गौलाको पत्थरी हुन सक्छ।

किन हुन्छ पत्थरी?
१. वातावरणरः विशेषगरी गर्मी ठाउँमा मिर्गौला पत्थरीका बिमारी हुनेगर्छन्, दक्षिण एसिया तथा खाड़ी मुलुकमा यसका बिरामी धेरै हुन्छन्। पश्चिमा मुलुकमा पनि जीवनशैली, खानपान, मोटोपना, मधुमेह, कोलेस्टेरोल आदिले गर्दा यो रोगका बिरामीको संख्या बढ्दो छ।

२. पिसाबको संक्रमण: महिलामा ज्यादा

३. कम पानी पिउनु र धेरै पसिना आउनु

४. वंशाणुगत

५. मिर्गौलाको अप्राकृतिक बनोट: पिसाब मिर्गौलामा जमेर बस्नु।

लक्षणहरु
१. कोखा तथा तल्लो पेट दुख्ने

२. काम ज्वरो आउने

३. पिसाब कम आउने या बन्द हुने

पत्थरी पत्ता लगाउने विधि
१. चिकित्सक (मुत्र विज्ञान विशेषज्ञ) लाई देखाएर।

२. बिरामीको लक्षण अनि शरीर जाँचको आधारमा अन्य जाँच गराएर। जस्तैः पिसाबको जाँच, मृगौला, पिसाबथैलीको एक्सरे, अल्ट्रासाउन्ड (भिडियो-एक्सरे)।

३. आइभिपी (नशाबाट दबाइ दिएर गरिने एक्सरे)।

४. सिटी स्क्यान (पत्थरी भए/नभएको सिटी स्क्यानले लगभग सतप्रतिशत बताउन सक्छ।)

पत्थरीको उपचार
सबै पत्थरीको उपचार गर्नै पर्छ भन्ने छैन। पत्थरीको किसिम, आकार, मिर्गौलाको अवस्थाका आधारमा चिकित्सकले निर्णय लिन्छन्। ढुङ्गा रहेको भाग (मिर्गौला, नली, पिसाबथैली), ढुङ्गाको कडापना आदिमा यसको उपचार निर्भर हुन्छ। औषधि सेवनले नभए शल्यक्रिया गरेर पनि पत्थरी हटाउनुपर्छ।

खास गरी युरिक एसिड सिस्टेइन स्टोन मात्र औषधीले पगाल्न सक्छ, त्यों पनि सानो आकारको। सधैँ यो तरिका सफल हुन सक्छ भन्ने छैन। ठुला पत्थर या अरु जातको पत्थर औषधी खाएर जान्छ भन्नुमा वैज्ञानिक आधार छैन। स्वास्थ्य खबरपत्रिकाबाट

(युरोलोजिस्ट डा. कार्की किस्ट मेडिकल कलेजका अध्यापक हुन्।)

Loading...