• Wednesday 25th , January 2017 | बुधबार, माघ १२, २०७३

कार्कीको योग्यता सम्बन्धी मुद्दामा म्याद तामेल गर्न अवरोध गरेको भन्दै ५ जनालाई जरिवाना

काठमाडौं, सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यता सम्बन्धी मुद्दामा म्याद तामेल गर्न अवरोध गरेको भन्दै कार्कीका ज्वाईंसहित ५ जनालाई जरिवाना गरेको छ ।

अदालतका तामेलदार शम्भुबहादुर खत्री, काठमाडौं महानगरपालिका वडा नम्बर १० की वडा सचिव सरिता राई, वडा कार्यालयका कर्मचारी भेषराज अर्याल र प्रहरी नायव निरीक्षक नकुलराज गौतम र कार्कीका ज्वाई प्रवल थापाले म्याद तामेल गर्न अवरोध गरेको सर्वोच्चले ठहर गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले उनीहरुलाई जनही १ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

सर्वोच्चले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुन योग्यता नै नपुगेको भन्दै नियुक्ती बदर गर्ने फैसलासँगै उनीहरुलाई जरिवाना गरेको हो ।

सर्वोच्च अदालतले लोकनमासिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बन्न अयोग्य रहेको ठहर गर्दै पदमुक्त गर्न आदेश दिएको छ।सर्वोच्चले कार्कीको नियुक्ति बदर गरेपछि अब नयाँ नियुक्तिका लागि बाटो खुलेको छ।