• Sunday 26th , February 2017 | आइतवार, फाल्गुन १५, २०७३

लोकमानलाई अख्तियारमा ल्याउनु गम्भीर गल्ती थियो : नेता नेपाल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई ल्याउन गल्ती भएको स्वीकारेका छन् ।

कार्की अख्तियारको प्रमुख आयुक्तमा नियुक्ती हुन अयोग्य रहेको सर्वाेच्च अदालतले फैसला गरेको भोलिपल्ट सोमबार नेता नेपालले कार्कीलाई अख्तियारमा ल्याउनु राजनीतिक दलहरुको गल्ती भएको स्वीकारेका हुन् ।

प्रेस चौतारी सुनसरी शाखाले सोमबार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले कार्कीलाई योग्य सम्झेर अख्तियारको प्रमुख आयुक्त नियुक्ती गर्नु वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, तत्कालीन कांग्रेसका सभापति सुशील कोइराला र एमालेका शीर्ष नेताहरुले गम्भीर गल्ती गरेको बताए ।

अयोग्य व्यक्तिलाई अख्तियारमा ल्याएर गरेको गल्तीको आत्मालोचना गर्नुपर्ने भन्दै उनले भने, ‘आत्मालोचना भन्दा ठूलो माफी अरु के हुन सक्छ । गल्ती भयो भन्नु नै सजाय हो ।’

संसद्मा निर्वाचन सम्बन्धि विधेयकहरु दर्ता हुनुलाई राजनीतिक गतिरोध अन्त्य भएको संकेत गरेका नेता नेपालले संविधान संशोधनको चौतर्फी विरोध भइरहेको बेला सभामुखले संशोधन विधेयक छलफलका लागि टेबुल गर्नु ‘रुलिङ’ विपरीत भएको टिप्पणी पनि गरे ।

‘सभामुखले मुठभेड निम्त्याइन’

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले टरी सकेको राजनीतिक मुठभेडलाई सभामुख ओनसरी घर्तीले निम्त्याएको आरोप लगाए । संसदको सभामुख ओनसरी घर्तीले रुलिङ भन्दा बाहिर गएर दोस्रो संशोधन विधेयक स्वीकृत गरेकाले अब यहीबाट राजीनित मुठभेड सुरु हुने नेपालले बताए ।

प्रतिपक्षी सांसदहरुको अबरोध हुदा बैठक स्थगित गर्ने संसदीय अभ्यास विपरीत सभामुख अघि बढुनु आश्चर्य भएको उनले बताए । सभामुख घर्तीले विधेयक पेस गर्न सरकारलाई अनुमति दिएर सभामुखको गरिमा समेत घटाएको टिप्प्णी गरे । उनले अब एमाले झन असफल बनाउने अभियानमा फरक ढंगले अघि बढ्ने पनि बताए ।