• Friday 24th , February 2017 | शुक्रबार, फाल्गुन १३, २०७३

काठमाडौँमा मेट्रो रेल: ओलीको सपना प्रचण्डले अघि बढाए

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष समेत रहेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा मेट्रो रेल चलाउने अभिव्यक्ति दिइरहँदा निकै ठूलो मजाकको विषय बनाइएको थियो ।

सामाजिक सञ्जालदेखि हास्य ब्यंग्य कार्यक्रमसम्म ओलीको रेल सपना हाँसोको सपना बनेको थियो । तर, ओलीको त्यो परिकल्पनालाई माओवादीका अध्यक्ष प्रचण्डले नेतृत्व गरिरहेको वर्तमान सरकारले अघि बढाएको छ ।

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको कार्य अघि बढाउन त्यससम्बन्धी विभिन्न नमुना वा ढाँचा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

लगानी बोर्डको बैठक

बैठकले उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि त्यससम्बन्धी ढाँचा तयार गर्न राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिलाई सो सम्बन्धमा यसअघि भएको अध्ययन गर्ने र सञ्चालन लागतमा कति छुट दिएर कसरी अघि बढाउन सकिन्छ भन्ने कार्यादेश दिएको प्रमुख कार्यकारी अघिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

तीन महिनाको समायावधि दिइएको उक्त समितिमा अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्ड र रेल विभागका प्रतिनिधि रहेका छन् । केपी ओली नेतृत्वको सरकारले रेल संचालनका लागि चालू आर्थिक बर्षमा बजेटको व्यवस्था नै गरेको थियो ।