• Tuesday 28th , March 2017 | मङ्लबार, चैत्र १५, २०७३

अदालतबाट हटाइएका लोकमानले कडा श्वेतपत्र जारी गर्ने

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की सो पदमा रहन अयोग्य ठहर भएका छन् । सर्वाेच्च अदालतले आज यस सम्बन्धी फैसला गरेको हो ।

कार्कीले योग्यता ढाटेर सो पदमा नियुक्ति लिएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रीटमा सर्वाेच्चले फैसला दिएको हो । फैसला अनुसार कार्की पदमुक्त भएका छन् ।

कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएको थियो र आजको वैठकले सो प्रस्ताव महाभियोग समितिमा पठाउने निर्णय गरेको थियो । सर्वोच्चको निर्णयसँगै महाभियोग प्रस्ताव पनि निस्तेज भएको छ । महाभियोग समितिले यस सम्बन्धमा थप निर्णय लिने बताइएको छ ।

सर्वाेच्चका न्यायधीशहरु इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलाशले लोकमानको योग्यता नपुगेको ठहर गरेको हो । यो ठहरसँगै उनी स्वत पदमुक्त भएको जानकारी अधिवक्ताहरुले दिएका छन् । लोकमानको नियुक्ति वदरभागी हुने ठहर सर्वाेच्चको फैसलामा रहेको छ ।

संसदका महाभियोग समितिका एक सांसदले बताए अनुसार लोकमानलाई अदालतले अयोग्य ठहर गरेर हटाए पनि उनका बारेमा समितिले छानविन गर्न सक्छ । छानविन गरेर उनका अपराधमा सम्बन्धित निकायलाई कारबाहीका लागि सिफारिस गर्न सक्छ ।

अब लोकमानले कडा श्वेतपत्र जारी गर्ने लोकमान निकटहरुले बताएका छन् । लोकमानका निकटस्थहरुले जानकारी दिए अनुसार के कारणले षडयन्त्रपूर्ण ढंगले आफूलाई हटाइयो भन्ने बारेमा धेरैको पोल खोलेर विज्ञप्ति दिइनेछ र त्यसमा अदालतको आदेश स्वीकार पनि गरिनेछ ।

सर्वोच्चले म्याद तामेलीमा अवरोध गर्ने लाेकमानका ज्वाई प्रवल थापा, वडा सचिव सरिता राई, नकुल गौतम नेपाल प्रहरीका सई र सर्वोच्च तामेलदार शम्भु खत्रीलाई अवहेलाना ठहर हुने फैसला पनि गरेकाे छ ।