• Tuesday 28th , March 2017 | मङ्लबार, चैत्र १५, २०७३

संसोधन विधयेक भोटिङमा जाँदैन: कांग्रेस सांसद भण्डारी

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकमाथि आफ्नो सहमति नरहेको बताएका छन् ।

उनले देशलाई नै संकटतर्फ लैजाने विधयेकको विपक्षमा रहेको बताएका हुन् । नेता भण्डारीले भने, ‘एमालेसँग पनि सहमति भएर विधेयक संसदमा दर्ता भएको छ, नत्र चालिस दिनसम्म अवरुद्ध संसद खेल्ने थिएन ।’ एमालेसँग भएको सहमति अहिलेसम्म बाहिर नआएको बताउँदै उनले सहमतिको बारेमा बाहिर सार्वजनिक भएपछि मात्र थाहा हुने बताए ।

नेता भण्डारीले संविधान कार्यान्वयन र निर्वाचनको लागि पनि प्रमुख तीन दलबीच सहमतिको खाँचो रहेकोमा जोड दिदै उनले भने, ‘तीन दल मिल्नुको विकल्प छैन, संविधानको रक्षा र कार्यान्वयन गर्न पनि हिजो मिलेका दलहरु मिल्नु पर्छ ।’

कांग्रेस, एमाले, माओवादी र मधेसी मोर्चाबीच सहमति कायम गरेरै संविधान संशोधन विधयेको बारेमा निकास खोज्नु पर्ने बताउदै नेता भण्डारीले भोटिङमा जानुअघि नै दलहरुबीच सहमति हुने दावी गरे ।

भोटिङ भयो भने तपाई के गर्नुहुन्छ भन्ने जिज्ञासामा उनले थपे,‘अहिले संसदमा पेश भएको विधेयकमाथि मेरो असहमति छ,देशलाई अपठ्यारो नपर्ने गरी निकास खोज्नु पर्छ ।’