• Tuesday 28th , March 2017 | मङ्लबार, चैत्र १५, २०७३

‘दाहालले नेपाललाई फेरि भारतीय प्रभावक्षेत्रकै राष्ट्रका रुपमा स्थापित गरे’-भारत

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई फेरि भारतीय प्रभावक्षेत्रकै राष्ट्रका रुपमा स्थापित गरेको भारतीय अखवार इण्डियन एक्सप्रेसले जनाएको छ ।

दाहालले संविधान संशोधन प्रस्ताव निर्णय गराएर संसदमा दर्ता गर्न लगाएलगत्तै पुलकित भएको भारतीय संस्थापनपक्षले आइतबार औपचारिक रुपमा त्यसको स्वागत गरे पनि भारतीय अखवारले भने त्यस दिन देखि नै सकारात्मक भन्दै प्रशंसा गरेका थिए ।

‘केपी ओलीको नेतृत्वमा भारतप्रतिको निर्भरतामा सन्तुलनको प्रयास अनुरुप नेपाललाई चीन नजिक पुर्याएका थिए । दाहालले प्रधानमन्त्रीका रुपमा फेरि नेपाललाई नयाँदिल्ली नजिक ल्याएका छन्’ द इण्डियन एक्सप्रेसको ३ डिसेम्बरको सम्पादकीयमा भनिएको छ, ‘दाहाल आफूले भारतको भ्रमण र भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमण गराएर बेइजिङलाई अपमान गर्दै नेपालमा नयाँदिल्लीको पहिलेकै अवस्था ल्याए ।’

दाहालले भारतीय चाहना बमोजिम भारतीय मुलका मधेशी पार्टीका मागलाई सम्बोधन गर्न ल्याएको संशोधन प्रस्तावको पहाडी जनताले बिरोध गरेकाले नेपालमा थप द्वन्द्व हुनसक्ने समेत उक्त अखवारको बिश्लेषण छ ।

केही मधेशी नेताले निहित स्वार्थका निम्ति देशलाई महिनौं नाकाबन्दी लगाउँदा नेपालको अर्थतन्त्रप्रति कुनै चिन्ता नजानाएका भारतीय सरकार र मिडियाले अहिले पहाडका नागरिकले थालेको बिरोधले भने नेपालको अर्थतन्त्रलाई नकारात्मक असर पारेको जनाएका छन् ।

उक्त अखवारका अनुसार, भारतीय मुलका नेपालीले तराई क्षेत्रको २० प्रतिशत क्षेत्रफल ओगट्छन् भने नेपालको करिव ५० जनसंख्या ओगट्छन् । संविधानले आफूहरुलाई पहाडी नागरिकको जस्तै समान राजनीतिक प्रतिनिधित्व गराउने आशा राखेकोमा त्यस्तो नभएकोले निराश भएको समेत सम्पादकीयमा उल्लेख छ ।

उक्त अखवारका अनुसार, नेपालको मुख्य समस्या भनेको संघीयताप्रतिको ‘टप डाउन एप्रोच’ हो, जसले संविधानमा भएका प्राबधानप्रति विवाद उत्पन्न गरायो । नेपालका अल्पसंख्यक र बिभिन्न जातीय समुदायका आंकाक्षालाई सन्तुलित गरी संविधानमा समेट्नु अप्ठ्यारो काम भए पनि नेपालका सरकारहरुले त्यसलाई समाधान गर्न नचाहेकाले समस्या उत्पन्न भएको ठहर अखवारको छ ।