• Saturday 25th , February 2017 | शनिबार, फाल्गुन १४, २०७३

मोर्चाको अवरोध छिचोल्दै मधेस पस्यो एमाले

काठमाडौँ- मधेसी मोर्चाका केहि कार्यकर्ताले आइतबार साँझ बाजा बजाउँदै एमाले निषेधित क्षेत्र घोषणा गरेको २४ घण्टा बित्न नपाउँदै मधेसी समुदाय बाहुल्य रहेको हरिनगरामा सोमबार दिउसो एमालेले ब्याण्ड बाजासहितको भव्य कार्यक्रम सम्पन्न गरेको छ ।

मधेस केन्द्रित दलहरुले तराईबाट एमालेलाई ‘ढोल पिटेर लखेट्ने’ चेतावनी दिइरहेका बेला एमालेले संविधानजारी भएपछि पहिलो पटक मधेसी जनताको बाहुल्य रहेको क्षेत्रमा पुगेर आफू मधेसको असली प्रतिनिधि भएको भन्दै एमालेलाई मधेसबाट लखेट्ने सपना नदेख्न चेतावनी दिएको छ ।

केही दिन अघि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसबाट एमालेलाई बाजा बजाएर विदाई गर्ने घोषणा समेत गरेका थिए । मोर्चाको त्यही कार्यक्रम अन्तर्गत आइतबार साँझ मोर्चाका आधा दर्जन कार्यकर्ताले हरिनगरामा बाजा पनि बजाए र सो क्षेत्र एमाले निषेधित क्षेत्र भएको घोषणा पनि गरेका हुन् ।

तर, भोलिपल्टै सोही ठाउँमा हजारौ मधेसी समुदायका बीच एमालेले विशाल सभा गर्यो र सभालाई सम्बोधन गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आइपुगे । भारतीय सीमावर्ती क्षेत्रको सो ठाउँमा गाउँ गाउँबाट मधेसी जनता एमालेको जुलुशमा सहभागि भएका थिए ।

कार्यक्रममा उपस्थित भएका वरिष्ठ नेता नेपालले मैथिली भाषामा सम्बोधन गरेका थिए । सभामा एमाले वरिष्ठ नेता नेपालले मधेसबाट एमालेलाई लखेट्छु भन्नेहरुलाई नै मधेसी जनताले लखेट्ने वताएका थिए ।

एमाले देशभर लोकप्रिय रहेकाे र मधेसी मोर्चाले मधेसमा समेत एमालेको जनलहर देखेर पराजित मानसिकताका कारण मधेस विरोधी पार्टी भन्ने गरेको नेपालले वताएका थिए । उनले एमाले तराई, पाहाड र हिमाल तीनै क्षेत्रमा समान हकअधिकार दिलाउन लागिपरेको वताएका थिए ।

सभामा सहभागि भएका मधेसी जनताको प्रतिक्रिया पनि माधव नेपालकै जस्तो थियो । उनीहरु भन्दै थिए– ‘मधेसलाई टुक्रा पारेर भारतमा विलाउन दियो भने हामी झन् दुःख पाउँछ । मधेसलाई भारतमा मिलाउन र हामीलाई दुःख दिन मात्रै मोर्चाले खेल खेलेको छ ।’