• Wednesday 18th , January 2017 | बुधबार, माघ ५, २०७३

एक चीन नीति नमाने अमेरिकासँग बदला लिने चीनको चेतावानी

एजेन्सी- अमेरिकाले एक चीन नीति खत्म गरेमा त्यसको बदला लिने चीनले चेतावनी दिएको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा यस्तो चेतावनी दिएको हो ।

ताइवानकी राष्ट्रपति अमेरिका भ्रमणमा रहेको र ह्युस्टनमा भएका बेला चीनले यस्तो चेतावनी दिएको हो । अमेरिकाले ताइवानकी राष्ट्रपति सेइ इङ वनलाई अमेरिका प्रवेश गर्न नदिनुपर्ने र एक चीन नीतिका बारेमा कुनै छलफल गर्न नहुने चीनको स्पष्टोक्ति छ ।

ताइवानकी राष्ट्रपतिले आइतबार अमेरिकाका वरिष्ठ रिपब्लिकन नेतासँग भेटघाट गरेकी थिइन् । उनी मध्य अमेरिकाको यात्राका क्रममा एक्कासि ह्युस्टनमा रोकिएकी थिइन् । उनले त्यहाँ अमेरिकाका उच्चस्तरीय नेताहरूसँग भेटघाट गरेरपछि चीन आक्रोशित भएको हो ।

उनलाई टेक्सस राज्यका गभर्नर ग्रेग अबटले पनि भेटेका थिए । गभर्नर अबटले ताइवानी राष्ट्रपतिसँग एकै साथ खिचाएको फोटो ट्विट पनि गरेका छन् । उनीहरूका वरिपरि टेक्सस राज्य, संयुक्त राज्य अमेरिका र ताइवानका झण्डा राखिएका छन् । सेइले टेक्ससका सिनेटर टेड क्रुजसँग पनि भेटघाट गरेकी छन् ।

ताइवानी राष्ट्रपति साइ इङ वन(बायाँ) टेक्ससका गभर्नर ग्रेग अबट र सिनेटर क्रुज लगायतका अधिकारीसँग अमेरिकाका हयुस्टनमा आइतबार भेटघाट गर्दै । एजेन्सी

ग्लोबल टाइम्सले सेइका यस्ता भेटघाट उचित नभएको बताएको छ । उसले सम्पादकीयमा लेखेको छ, ‘अमेरिकाले एक चीन नीतिको पालना गरोस् भनेर अमेरिकी राष्ट्रपतिसँग चीनले निवेदन गर्दैन । अमेरिकी राष्ट्रपतिको कर्तव्य उनले आफैं सम्झनु पर्छ । चीन र अमेरिकाबीच सुमधुर सम्बन्ध बनाएर एशिया प्रशान्त क्षेत्रमा शान्ति कायम गर्न उहाँले एक चीन नीतिको सम्मान गर्नुपर्छ ।’

यदि अमेरिकी राष्ट्रपतिको पद सम्हालेपछि डोनाल्ड ट्रम्पले एक चीन नीति पालना गर्दैनन् भने चिनियाँ सरकारले यसको बदला लिने उल्लेख गरिएको छ । एक चीन नीतिमा कुनै सौदावाजी हुन नसक्ने चीनको भनाइ छ ।

डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको पद नसम्हाल्दै कुनै पनि विदेशी नेतालाई नभेट्ने बताएका थिए । हालै उनले ताइवानी राष्ट्रपति सेइसँग भेट्न सकिने धारणा व्यक्त गरेका छन् । सिनेटर क्रुजले सिनेटका कैयौं सदस्यलाई अमेरिकास्थित चिनियाँ राजदूतावासले पत्र पठाएको खुलासा गरेका छन् । पत्रमा अमेरिकी सिनेटरहरूलाई ताइवानी राष्ट्रपतिसँग नभेट्न आग्रह गरिएको छ ।

अमेरिकी राष्ट्रपतिमा ट्रम्प विजयी भएपछि ताइवानी राष्ट्रपतिलाई फोन गरेका थिए । यसप्रति चीनले विरोध आपत्ति प्रकट गरेको थियो । यसबाट एक चीन नीतिको उल्लंघन भएको उसको भनाइ थियो ।

Loading...