• Thursday 30th , March 2017 | बिहिबार, चैत्र १७, २०७३

थाहा पा भाते ! बुझ् भाते ! ‘आफ्नो लागि आफै लड्नु पर्छ’-रुपचन्द्र विष्ट

काठमाडौं- अहिलेको नेपालीे राजनीतिको ‘सिनारियो’ हेरेर आम मानिसहरु दिक्क मान्ने गर्छन् । भावी सन्तती कोही पनि राजनीतिमा संलग्न नहोउन् भनि कामना गर्छन् । राजनीति गुन्डागर्दी गर्ने, पैसा भएका धनाढ्यले मात्रै गर्ने हो भन्ने धारणाहरु सर्वत्र सुन्न पाइन्छ । राजनीति खराव आचरण भएका व्यक्तिले मात्रै गर्ने होइन र नेपालमा त्यस्ता व्यक्तिको पनि जन्म भएको थियो, जसले साँच्चै जनताका लागि केही गर्न चाहन्थे । ति मध्ये रुपचन्द्र विष्ट एक हुन् ।

रूपचन्द्र विष्टको जन्म
रूपचन्द्र विष्ट मकवानपुरलाई आफ्नो कार्यक्षेत्र बनाएर चेतना फैलाउने शिक्षावादी, जनबादी नेता थिए । रुप्चन, रुदाने, स्वरूपे आदि नामबाट पनि चिनिने उनको जन्म बाबु पदमबहादुर विष्ट र आमा चित्रकुमारीबाट वि.स. १९९० पौष २६ मा भएको हो । उनी एक सम्भ्रान्त परिवारका थिए ।

शिक्षा-दिक्षा
विष्टले पारिवारिक विचार भन्दा फरक कम्युनिस्ट राजनीति स्कुले जीवनबाटै शुरु गरे । वि.स. २००७ देखि २०१० सम्म कम्युनिस्ट विद्यार्थी राजनीतिमा सक्रिय रहे । २०१० देखि २०१७ सालसम्म किसान र मजदुरहरूको पार्टीमा क्रियाशील रहे । त्यसैगरी २०१७ देखि २०२६ सालसम्म उनको सक्रियता बिद्यार्थी र किसान क्षेत्रमा रह्यो । १७ सालपछि २२ र २९ सालमा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च रहे र पछि २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायत सदस्य भए । उनले बीए र बीएल सम्म औपचारिक अध्ययन गरे र पछि सरकारको असहयोग रहेकोले भारतमा स्वनिर्वासित भएर पूर्वीय दर्शनको अध्ययन गरे ।

गिरफ्तारी र जेलजीवन
उनको बिचार जनवादी भएकाले राष्ट्रिय पञ्चायत सदस्य रहँदा समेत उनलाई गिरफ्तार गरियो । पटक पटक गिरफ्तार भए पनि जनमुखी राजनीतिमा पूर्ण प्रतिवद्ध रहे । साधारण जीवन रुचाउने उनले बिबाह गर्दा समेत पाहुनालाई चिया मात्र खुवाए । दुई सन्तान भएका उनको पछि सम्बन्ध बिच्छेद भयो ।

धेरै पटक राजद्रोह लगायत अन्य आरोपमा पक्राउ परेका बिष्टलाई तत्कालिन पञ्चायती सरकारले धेरै पटक जेल हालेको थियो । नेपालमा भने उनी बेपत्ता भएको समय उनी मारिएको शंका समेत गरिएको थियो । फर्केपछि मकवानपुरको दामनमा प्राकृतिक बिज्ञानको ८ वर्ष स्वअध्ययन गरे । उनी स्थानीय बिद्यालयमा प्रधानाध्यापक भए । बिहान बेलुका प्रौढ शिक्षा समेत चलाए ।

०३८ र ०४३ सालमा मकवानपुरबाट तत्कालीन राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका विष्ट फोटो होइन, विचार राखेर निर्वाचन लड्थे । विष्ट मुलुकमा रहेको मण्डलेतन्त्रको मात्र होइन, घर, टोल, गाउँ र दलभित्र रहेको मण्डलेतन्त्रको पनि प्रखर विरोधी थिए । केही समय विष्टसँग जेलमा बसेका वर्तमान प्रधानमन्त्री केपी ओली यसरी सम्झन्छन् विष्टलाई, “उनी महान् मान्छे थिए, जीवनको विशेषता जनशैली, राजनीतिको विशेषता जनमुखी । यी रूपचन्द्रका विशेषता हुन् ।”

थाहा आन्दोलनको सुरुवात

वि.सं. ०२९ र ३० सालतिर रूपचन्द्र विष्टले थाहा आन्दोलन सुरू गरे । रूपचन्द्र र उनका सहकर्मीका हातबाट चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्ममा ‘थाहा’ लेखिए । ‘थाहा’ नेपाली छाप्राहरूमा पुगेको पहिलो दार्शनिक आन्दोलन थियो । यस आन्दोलनको सबभन्दा महत्वपूर्ण विशेषता के थियो भने यसमा कुनै पनि प्रकारको सैद्धान्तिक क्लिष्टता या अस्पष्टता थिएन । यस आन्दोलनको सार नै यसका प्रवर्तकको रुखो बोली र ठाडो आग्रह थियो ।

उनी भन्थे, “थाहा पा भाते ! जान् भाते ! बुझ् भाते !” थाहा आन्दोलनको मूल लक्ष्य भनेको चेतनाहीन जनतालाई चेतना सम्पन्न नागरिकमा रूपान्तण गरी राजनीतिक र सामाजिक जागरण गर्नु हो ।’

रुपचन्द्रको गाउँमा छुट्टै सरकार
दामन र पालुङ गाउँ पञ्चायतलाई मिलाएर रूपचन्द्रले गाउँ विकास समिति बनाएका थिए । जसको कार्यालयलाई विकास घर भनिन्थ्यो । रूपचन्द्रले विकास करको नियम चलाएका थिए । दामन र पालुङवासीले एक धार्नी आलु बेच्दा ५ पैसा विकास कर तिर्नुपथ्र्यो । आफूले तिरेको कर कहाँ खर्च भइरहेको छ ? त्यसको प्रष्ट जानकारी पाउँथे उनीहरू । किनभने, दिनदिनै विकास घरको सुचनापाटीमा विकास कर कहाँ खर्च भइरहेको छ ? त्यसको हरहिसाब टाँसिएको हुन्थ्यो ।

थाहा एक दर्शन हो
रूपचन्द्र विष्ट त्यस्ता नेपाली थिए, जो राजनीति गरेर राजनीतिज्ञ कहलिएनन् । श्रम गरेर पनि श्रमिक भनिएनन्, साहित्य लेखेर साहित्यकारमा दरिएनन् । मौलिक दर्शन स्थापित गरेर पनि दार्शनिक भनिएनन् । उनलाई एक सनकी मान्छेका रुपमा तत्कालिन शासकले उनलाई चित्रण ग¥यो । थाहा अभियानका त्यतिवेलाका एक अभियन्ता मदन राई थाहा अभियानलाई नेपाली माटोमा जन्मिएको दर्शन भन्छन् ।

शिक्षामा योगदान
आफ्नै र जनताको जनश्रमदानद्वारा पालुङको जनकल्याण मावि बनाए । उनले बोल्ने यस्ता थिए–“केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी, अतियथार्थमुखी, कर्तव्यमुखीवाहेक, पछुवा, भगुवा सारा दोषी, जात ठूलो कि जनता ? नाता ठूलो कि न्याय ? स्वार्थ ठूलो कि निस्वार्थ ? उनको यो भनाई ०३९ सालको स्थानीय चुनावको पर्चामा समेत लेखिएको थियो ।

पञ्च्यातीलाई चितुवाको संज्ञा
उनी भन्ने गर्थे “पैसाबाट सत्यता, पदबाट इन्साफ, शोषकबाट विकास, विदेशीबाट राष्ट्रियता, रन्डीबाट इमान, गुण्डाबाट राजनीति, शासकबाट प्रजातन्त्र, पाइन्छ भन्नेले लगाउँछन् चितुवालाई बाख्राको गोठालो ।

उनले पञ्चायती व्यवस्थालाई त्यही वेला चितुवाको संज्ञा दिन्थे । उनले खराव मन भएकाहरूबाट असल काम होला भनी सोच्नु दिवास्वप्ना भएको कुरा उल्लेख गरेका छन् ।

आन्दोलनको मुख्य उद्देश्य
उनले तिन दशक थाहा आन्दोलन चलाए । यस आन्दोलनको मुख्य सार थियो , …निष्पक्ष सक्रियताको अभ्यास । अर्को शब्दमा, चेतनाहीन जनताको चेतनासम्पन्न नागरिकमा रूपान्तरणमार्फत राजनैतिक र सामाजिक जागरण ल्याउनु ।

चुनावको पर्चा बेचेर खर्च जुटाउँथे

रूपचन्द्र विष्टले ०३८ र ०४३ सालमा मकवानपुर जिल्लाबाट राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका थिए । उनी पर्चापम्पेलेटहरूमा तस्विर हैन विचार लेख्थे । तिनै पर्चाहरू बेचेर चुनाव खर्च जुटाउँथे । उनले कहिल्यै पनि रूपचन्द्र विष्ट हेरेर भोट देऊ भनेनन् । मात्र विचार बाँडे । उनका विचारसँग सहमत हुनसक्नेलाई पनि स्वविवेकले चल्न भन्थे । तर सबैले सबैका विचार, भावना, सिद्धान्त र क्रियाकलापहरूको साक्षी हुन सक्नुपर्छ भन्ने उनको भनाइ थियो । राष्ट्रिय पञ्चायतको सदस्य भएर पनि पञ्चायतकै विरोधमा विचार व्यक्त गरेर आफ्नो बौद्धिक बर्चस्व राख्न सक्ने महान् योद्धा थिए । उनले पञ्चायत कालमै संविधानसभाको आवश्यकता देखेर जोडदार आवाज उठाएका थिए ।

‘आफ्नो लागि आफै लड्नु पर्छ’
उनी हमेसा भन्ने गर्थे, “श्रमिकको राजनीति पूँजिपतिले गरेर हुँदैन, छाप्राको राजनीति महलले गरेर हुँदैन, महिलाको राजनीति पुरुषले गरेर हुँदैन, आफ्नो लागि आफैँ जागेर अघि बढ्नुपर्छ । दुःख पाउनेले नै दुःखको रंग चिनेको हुन्छ । श्रम गर्नेले नै श्रमिकको व्यथा जानेको हुन्छ । अतः जसको उत्थान हुनुपर्छ, ऊ स्वयम्ले अगुवाई गर्नुपर्छ । श्रम गर्नुपर्छ, ठाउँमा पग्लनुपर्छ, ठाउँठाउँमा कठोर बन्नुपर्छ । जानेर बुझेर अघि बढ्ने हिम्मत गर्नुपर्छ । होस सहितको जोसले काम गर्नुपर्छ ।”

उनको यो भनाई आज पनि गुञ्जीरहेको छ । “हामी कसैका होइनौँ, कोही हाम्रा होइनन् । मात्र हामी सत्य र न्यायका र सत्य र न्याय हाम्रा लागि हुन् ।”

विष्ट एक अराजक मान्छे
सामान्यरूपले हेर्दा रूपचन्द्रका केही क्रियाकलाप अराजकजस्ता लाग्दछन् । यसका केही नमुना हेरौँ…उनी पञ्चायती व्यवस्थाविरोधी एजेण्डा बोकेर चुनाव जित्थे । चुनावी पर्चा सित्तैमा नदिएर बिक्री गर्थे । जनतालाई तिमीहरू भाते कुकुर हौ भनेर भोट माग्थे । ‘भाते कुकुर’ शब्द सम्माननीय शब्दका रूपमा उनले प्रयोग गरेका हुन् ।

‘भाते कुकुर’ शब्दको अभिधा अर्थ खराब भए पनि यी शब्दले पुकारिने मानिस असल हुने गर्थे । कुकाम गर्नेहरूले कहिल्यै यस खाले सम्बोधन पाएनन् । भ्रष्टचारीलाई उनी खुलेरै भ्रष्टचारी भन्थे, गद्दारलाई गद्दार नै भन्थे । छोराछोरीलाई नपढाउनेलाई श्रमसजायको दायरामा ल्याउँथे । पञ्चायतलाई शोषक, फटाहाहरूको अराजक व्यवस्था भन्थे । नेतानेतृ सम्माननीय हुन जनता जाननीय हुनुपर्छ भन्ने उनको मत छ । उनले राष्ट्रिय पञ्चायतदेखि आमसभा र सर्वसाधरण एवं शासकहरूसँग एकै किसिमको भाषा बोले । चाहे सर्वसाधारण हुन् या शासक प्रशासकहरू नै किन नहून् सबैलाई तँ भन्थे, तिमी विरलैलाई भन्थे । तपाईँ भन्ने खालका मानिसहरू उनको नजरमा विल्कुलै कम थिए ।

उनको अन्त्य
रूपचन्द्र विष्टले जीवनको उत्तराद्र्धकालसम्म पनि अभियानलाई निरन्तरता दिइरहे । आफू झुप्रेझाम्रे भएकोले सोही बमोजिमको सामान्य ठाउँमा उपचार गर्न र मरेपछि विल्कुलै सामान्य वर्गकोझैँ अन्तेष्टी गर्न अह्राएका थिए । सहयोगीलाई आफ्नो मृत लासमा अविर, माला नलगाउन, काजक्रिया नगर्न र लासको राजनीति नगर्न समेत भनेका थिए । नेपाली माटोले चिन्न नसकेको तीनै महान व्यक्तिको मृत्यु २०५६ साल असार १७ गते ६६ वर्षको उमेरमा भयो ।